Home » » जनयुद्ध घोषणा गर्ने बेला बाबुरामका कारण कैयौं रात सुत्न सकिन- प्रचण्ड

जनयुद्ध घोषणा गर्ने बेला बाबुरामका कारण कैयौं रात सुत्न सकिन- प्रचण्ड

काठमाडौं ।

पछिल्लो समयमा ३० वर्ष सम्म सहकार्य गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अहिले नयाँ शक्तिको अभियान चलाइरहेका डा. बाबुराम भट्टराईबीच पोल खोला खोल चलिरहेको छ । प्रचण्ड र बाबुराम एक अर्काका कमजोरी तथा गोप्य कुरा सार्वजनिकरुपमा उजागर गर्न प्रतिस्पर्धा गरिरहेका छन् ।

यसै क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध घोषणको पूर्वसन्ध्यामा डा बाबुराम भट्टराईले दिल्ली जाने प्रस्ताव गरेपछि आफूलाई कैयौं दिन निद्रा नलागेको खुलासा गरेका छन् । त्यसैगरी उनले बाबुरामलाई भौतिकरुपमा सिद्ध्याउने प्रयासलाई पनि आफूले रोकेको दावी प्रचण्डले गरेका छन् ।

एक मासिक (मूलप्रवाह मासिक) लाई दिएको अन्तर्वार्तामा प्रचण्डले यस्तो खुलासा गरेका हुन् । प्रचण्डले भनेका छन्, ‘जनयुद्धको तयारीको सम्पूर्ण प्रक्रियामा सहभागी र समर्थन गरेको प्रमुख पात्र बाबुरामजीले जनयुद्ध घोषणाको पूर्व सन्ध्यामा अचानक पार्टीबाट बिदा लिएर दिल्ली जाने प्रस्ताव राख्नुभयो। पिएचडीको थेसिस विकसित गर्ने सामान्य कुराको लागि महान जनयुद्धको ऐतिहासिक घोषणालाई छाड्ने कुरालाई मैले स्वभाविक मान्न सकिनँ। उहाँको बिदा लिने प्रस्तावलाई स्वीकृत गरेर जनयुद्धमा जाने वा उहाँको अचानक बिदा लिने निर्णयको कारण खोजेर उहाँलाई मनाउने दुईवटा विकल्पमात्र हाम्रो सामु थियो । म त्यतिबेला कयौँ रात सुत्न सकिनँ। पोलिटब्युरोका अन्य कमरेडहरुसँग मैले गम्भीर छलफल चलाएँ ।’

उनले बाबुरामले दिल्ली जाने प्रस्ताव गरेपछि मोहन बैद्य र बादलसँग के गर्ने भनेर छलफल चलाएको समेत खुलासा अन्तर्वार्तामा गरेका छन् ।

उनले भनेका छन्, ‘किरणजी, बादलजीहरुसँग पनि छलफल चलाएँ अब के गर्ने? हामीले गम्भीर ढंगले उहाँको मनोविज्ञान बुझ्यौँ। कारण खोज्दै जाँदा जनमोर्चाको अध्यक्षबाट हटाएर भूमिगत जाने केन्द्रीय कमिटीको निर्देशन उहाँलाई चित्त बुझेको रहेनछ। जहाँ भए पनि आफू एक नम्बरको ठाउँमा रहिरहनुपर्ने उहाँको महत्वकांक्षाको कारण हठात उहाँले यस्तो निर्णय गर्नुभएको रहेछ। सुरु गर्न लागेको ऐतिहासिक जनयुद्धको प्रमुख पात्रको रुपमा पार्टीले स्थापित गर्न खोजेको महत्ववोध उहाँले गर्न सक्नुभएन।’

बाबुरामको कदम भयाबह

प्रचण्डले बाबुरामको पछिल्लो निर्णयलाई भयावह घटनाको सज्ञा दिएका छन् । ‘‘हिँड्दैछ, पाइला मेट्दैछ’ भन्ने नेपाली उखानलाई बाबुरामजीले अन्तरसंघर्षको क्रममा पटकपटक चरितार्थ गर्नुभएको छ। पार्टीले गरेको निर्णयप्रति सहमति जनाउने तर कार्यान्वयन गराउने बेलामा त्यसको विपक्षमा उभिने बाबुरामजीको पद्धतिजस्तो बन्न पुगेको छ। फुन्टिवाङमा पार्टीपद्धति अनुरुप चल्न गरेको आफ्नो प्रतिबद्धता उहाँले धेरैदिन टिकाउन सक्नुभएन। ६१ को मंसिर महिनामा असहमतिका १३ र ४ बुँदे फरकमत सार्वजनिक गर्नुभयो । यो फरकमत उहाँले पार्टी कमिटीमा नै प्रस्तुत गरेको भए यसले एउटा बहसको सिर्जना गर्न सक्दथ्यो। हाम्रो आन्दोलनका लागि यो एउटा योगदान नै हुन पनि सक्थ्यो। तर उहाँले पार्टीलाई विश्वास गर्नुभएन। जनयुद्ध उत्कर्षमा भएका बेला उहाँले फरकमत पार्टी कमिटीमा नलगेर बाहिर प्रचारमा लगिदिएपछि सबैतिर एउटा ठूलो भ्रम सिर्जना भयो। युद्धको बेला पैदा गरिएको यस्तो भ्रमले एउटा ठूलो क्षति हुनसक्ने स्थिति आउन सक्थ्यो। यो सामान्य कमजोरी थिएन। जीवनमरणको लडाइँ लडिरहेको हाम्रो पार्टीभित्र बाबुरामजीको यो कदमले भयाबह अवस्था पैदा भयो।’

बाबुरामलाई गाली नगर्नुस्, पार्टीलाई संस्थागत म बनाउँछु – प्रचण्ड

जनयुद्धका क्रममा बाबुरालाई गरेको कारवाही कुनै ठूलो कुरा नभएको भन्दै प्रचण्डले उनलाई गद्धार भनेर भौतिकरुपमा सिद्धयाउन खोज्नेहरुलाई आफूले रोकेको खुलासा समेत गरेका छन्, ‘उहाँले गरेको गम्भीर प्रकारको कमजोरीलाई लिएर पार्टीले उहाँसहित कमरेड हिसिला र दिनानाथजीलाई ६ महिना साविकको जिम्मेवारीबाट हटाउने निर्णय गर्‍यो। तर लावाङ बैठकमा उहाँलाई यति सहज कारबाहीमा सीमित गरिनु हुँदैन भन्ने मत पनि थियो। कतिपय साथीहरुले बाबुरामको यो कदमलाई युद्धको बेला गरिएको गद्धारी र गम्भीर अपराधको रुपमा व्याख्या गर्दै उहाँलाई भौतिक रुपमा नै सिध्याइदिनुपर्छ भन्ने थिए। कतिपयले उहाँलाई पार्टीबाट निष्काशन गर्नुपर्छ भन्ने मान्यता राख्दथे। तर कुनै पनि हालतमा उहाँको भौतिक क्षतिको कल्पना गर्न त सकिँदैन थियो नै पार्टीबाट निष्काशन गर्ने कुरा मैले पनि सोच्न सक्ने विषय थिएन। उहाँलाई सँगै लिएर जानुपर्छ भन्ने कुरा मलाई भित्रदेखि लागेको थियो। त्यसैले उहाँले गरेको त्यस प्रकारको गम्भीर गल्तीको लागि ६ महिनाको लागि केन्द्रीय कमिटीबाट हटाइदिँदा उहाँलाई आफ्नो कमजोरी महसुस हुन्छ भन्ने निष्कर्षमा म पुगेँ। सबै अतिवादलाई क्रस गरेर मेरै प्रस्तावमा उहाँलाई ६ महिनाको लागि जिम्मेवारीबाट हटाइएको थियो।’

संकटबाट राष्ट्रलाई बचाउन बाबुराम पार्टीमै फर्किनुपर्छ

प्रचण्डले बाबुराम पार्टीमा फर्किनु पर्ने बताएका छन् । उनले भनेका छन्, ‘नेपालको रुपान्तरणकारी राजनीतिक आन्दोलनमा बाबुरामजीको योगदान महत्वपूर्ण छ। उहाँले खेलेको यसप्रकारको भूमिकालाई कहिल्यै न्युनीकरण गरिनु हुँदैन। मानिससँग भावनाहरु हुन्छन्, कहिलेकाहीँ भावनामा बग्नु मानिसको प्राकृतिक स्वभाव हो। बाबुरामजीको हकमा अझ बढी यो कुरा लागू हुन्छ। उहाँको स्वभाव बढी नै भावनामा बग्ने र भावावेशमा आउने खालको छ। कतै पार्टी परित्यागको अप्रिय निर्णय पनि भावावेशमा आएर गर्नुभएको त होइन? उहाँले गम्भीर आत्मसमीक्षा गर्नु जरुरी छ।’

मूलप्रवाह मासिकमा प्रचण्डको अन्तर्वार्ताबाट साभार अंशका आधारमा बनाइएको- सम्पादक

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}