
|
|
– ध्रुवप्रसाद शर्मा
(बेनी) म्याग्दी, २९ पुस । गरिबी, अभाव र आवश्यक घरायसी वातावरणको अभावमा म्याग्दीकोे ग्रामीण क्षेत्रका थुप्रै बालबालिका आफ्ना बाबुआमाबाट अलग्गिएर निकृष्ट प्रकारको श्रम गर्न बाध्य छन् ।
घरमा बस्ने उचित वातावरण नभएपछि आफ्नो पढाइलाई अगाडि बढाउन बालश्रम गर्न बाध्य हुनुपरेको उनीहरूको भनाइ छ । सम्बन्धितले बालबालिकालाई काम गराउने, पढाइदिन्छु भनेर काममा लगाउँछन् तर व्यवहारमा सो कार्यान्वयन नगर्दा उनीहरूको पढ्ने सपना भने पूरा हुन सकेको पाइँदैन ।
गरिबीका कारण आफ्ना छोराछोरीलाई राम्रोसँग खान, लाउन र उचित शिक्षादीक्षा दिन नसक्दा सन्तानको भविष्यलाई ध्यानमा राखेर आमाबाबुले नै आफ्ना नातेदार वा चिनेजानेका व्यक्तिका साथ लगाई पोखरा, चितवन, काठमाडौँलगायत सहर बजारमा पठाउने गर्छन् ।
म्याग्दी बावियाचौरकी विक थरकी बालिकालाई पढ्ने रहर सानैदेखि थियो । गरिबीकै कारण उनले कक्षा एकभन्दा माथि पढ्न सकिनन् । दैनिक जीवन गुजाराका लागि उनका बाबुआमाका सामु मजदुरी गर्नुबाहेक अर्काे विकल्प थिएन ।
पोखराका एक चिनेका साथीले ‘छोरीलाई म पढाइदिन्छु’ भनेपछि बाबुआमाले उनैका साथमा बालिकालाई १० वर्षकै उमेरमा पोखरा पठाए । केही समय त उनलाई लगिएको घरमा राम्रै व्यवहार गरियो । स्कुलमा भर्ना पनि गरिदिने आश्वासन दिइयो । समय बित्दै जाँदा भने ती किशोरीका ठूला सपना दिन प्रतिदिन ‘कुदिन’मा परिणत हुँदै जान थाले । पढाउनु त कहाँ हो कहाँ घरको सारा काम गर्दा पनि कहिले के भएन, कहिले के भएन भन्दै गाली गर्न थाले घर मालिकले ।
एक दिन घरको सरसफाइको काम गर्दागर्दै घरमालिकले मोबाइल र क्यामरा चोरेको आरोपमा आफूलार्ई कुटेको र कुटाइ सहन नसकेर त्यहाँबाट भागेको उनी बताउँछिन् । “पोखरा गएर धेरै पढ्ने र बाबुआमाको सपना साकार पार्ने उद्देश्यले गएँ, तर सपनामात्र भयो”–१३ वर्षीया उनले बनिन् ।
ज्यामरुककोट फापरखेतकी १४ वर्षीया निर्मला परियारको कथा पनि उस्तै छ । सानैमा आमाको मृत्यु भएपछि सौतेनी आमाको गाली सहन नसकी गाउँकै एकजना नाताले फुपू पर्नेसँग उनी काठमाडौँ पुगिन् । केही दिनपछि तिनै फुपूले उनलाई एउटा घरमा सामान्य काम गरे स्कुल भर्ना गरिदिन्छु भन्ने सर्त राखेपछि उनी काम गर्न राजी भइन् ।
घर मालिकका तीन छोराछोरीको स्याहारसुसार गर्दै दुई वर्ष बित्दा पनि सपनाको स्कुल पढ्ने धोको अहिलेसम्म पूरा हुनसकेको छैन । ६ र ४ वर्षका दुई छोरालाई बिहान स्कुल पु¥याइदिनु, सात महिनाको छोरीको कपडा धुनु, भाँडा माझ्नु, सरसफाइ गर्नु र कहिलेकाहीँ घरमा केही काम गर्दा बिग्रिए कुटाइ खानु उनको दिनचर्या थियो ।
“पढाइ दिन्छु भनेर सुरुमा सपना देखाए तर न स्कुल भर्ना गरिदिए, न त मेरो पढ्ने रहर नै पूरा गरिदिए । सारा दिन घरकै काममा बित्यो”–उनले विगतका कुरा सुनाइन् । गरिबीकै कारण पढ्ने उद्देश्यले अर्काको घरमा काम गर्न बसेको तर अहिले आप्mना सपना सबै खरानी भएको गुनासो सपनाले व्यक्त गरिन् ।
त्यस्तै, बागलुङको बोबाङ गाविसकी १५ वर्षिया सोनी विकको कथा पनि कम मार्मिक छैन । १२ वर्षकी हुँदा आमाकोे मृत्यु भएपछि पढ्नकै लागि बेनीको एक होटलमा आई काम गर्न थालिन् । होटल मालिकले सुरुमा त उनलाई राम्रै व्यवहार गरे, तर समय बित्दै जाँदा सामान्य कुरामा पनि गालीगलौज गर्ने र बेलाबेलामा पिट्न थाले ।
दैनिकरूपमा बिहानदेखि राति अबेरसम्म काम गर्नुपर्ने र कहिलेकाहीँ बिरामी हुँदा हेरचाह गर्नु त कहाँ हो कहाँ, ‘काम गरेन’ भनेर खानासमेत नदिने गरेको उनी बताउँछिन् ।
“करिब तीन वर्षसम्म होटलमा काम गर्दा साहुले न त बाहिर निस्कन नै दिए, न त पारिश्रमिक नै दिए”–१५ वर्षीया सोनीले पीडा सुनाइन् । सुरुमा काम गर्न राख्दा पढ्नका लागि समयसमेत दिन्छु भनेपछि आपूm कामका लागि तयार भएको बताउँदै उनले भनिन्, “तर त्यो कुरा आफ्नो जीवनमा कहिल्यै सत्य भएन ।” हाल उनी बेनी बजारको एउटा निजी विद्यालयको भान्साको काम गरेर जीविका चलाइरहेकी छिन् ।
महिला तथा वालबालिका कार्यालय म्याग्दीको तथ्याङ्कअनुसार सन् २०१० यता जिल्लामा घरेलु हिंसा, बालश्रम शोषण, बालबालिकाविरुद्ध शारीरिक यातना र आर्थिक अभावका कारण बालबालिका बिचल्लीमा परेकालगायत करिब २०० वटा घटना भएका छन् ।
महिला अधिकारकर्मी विमला गौचनले बालबालिकालाई पिटाइको सजाय दिँदा उनीहरूको शारीरिक, मानसिक एवम् सामाजिक विकासमा समेत अवरोध पुग्न जाने बताउनुभयो । उहाँले सरकारी निकायबाट पनि बालहिंसा रोक्नका लागि जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै बालहिंसा सामाजिक अपराध भएकाले त्यस्तामाथि कडा कारबाही भएमा त्यो कम हुने दाबी गर्नुभयो । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

