
|
|
- करुणा कुँवर, मनोविद
म उमेरले ६५ वर्ष भैसकें । मेरी श्रीमती ५८ वर्षकी छिन् । छोराछोरी सबै आ–आफ्नो बाटो लागिसके । लगभग पाँच वर्षअघि घरायसी तनाव थियो । त्यही बेला बिस्तारै यौनइच्छा घट्दै गयो । अहिले उक्त तनाव पूर्ण रूपमा समाधान भैसकेको छ, तर यौनइच्छा अझै बढेको छैन । यद्यपि मनमा भने चाहना हुन्छ र हरेक दिन तयार हुने प्रयास गर्छु तर एकाएक अल्छी महसुस हुन्छ । अब उमेर ढल्किसक्यो, म किन यस्तो सोच्छु भनेर आफैंलाई धिक्कार्छु । यो पीडा बढ्दै गएको छ, तर कसैलाई भन्न सकिन । श्रीमतीको भने यौनइच्छा घटेको छैन र कुनै प्रश्न पनि गरेकी छैनन् । तैपनि उनको यौनइच्छा पूरा गरिदिन नपाउँदा पीडा हुन्छ । यो पीडा हटाउने कुनै उपाय छ कि ?
दैनिक तनावका कारण मानसिक अवस्थामा असर परेको हुन्छ । मनस्थितिमा असन्तुलन आउनासाथ शरीरले असजिलो महसुस गरिहाल्छ । यतिबेला नकारात्मक ग्रन्थिहरू पनि सक्रिय हुन्छन् । शरीरले त्यही किसिमको केमिकल्स उत्पादन गर्न थाल्छ । तनाव कम हुनेबित्तिकै शरीरले दिने प्रतिक्रिया फरक भैहाल्छ । जहाँसम्म यसले दम्पतीको यौन गतिविधिमा पार्ने नकारात्मक प्रभावको कुरा छ, मानसिक स्वास्थ्यमा असर पर्नासाथ यसको समग्र शरीरमा नकारात्मक असर परिहाल्छ । दम्पतीको मुडमा नकारात्मक असर हुन थाल्छ । यौनसम्पर्कका लागि बन्नुपर्ने वातावरण–परिवेश बन्नै सक्दैन । एकअर्काबीच मायामोहको स्थिति रहँदैन । आपसी माया सञ्चारको वातावरण तयार हुँदैन । यसले गर्दा जोडीको यौनिक सम्बन्ध त्यति राम्रो रहँदैन । शारीरिक बनावट एवं मनोवैज्ञानिक असरका कारणले दम्पतीको सम्बन्धमा प्रतिकूल असर परेको हुन्छ ।
दम्पतीबीचको यौनसम्बन्धले तनाव कम गर्छ भन्ने भनाइ विभिन्न संस्कृतिमा विद्यमान छ । यौनसम्बन्धले दम्पतीको जीवनमा भएको तनाव कम गर्छ कि गर्दैन भनेर अनुसन्धानहरू पनि भएका छन् । यौन क्रियाकलापले श्वासप्रश्वास, रक्तसञ्चार तथा नशा प्रणालीलाई आनन्द महसुस गराउँछ भन्ने विषयमा युनिभर्सिटी अफ सिफिल्डका रोय जे लेभिनले अनुसन्धान गरेका छन् ।
अब तपार्इंको प्रश्नतर्फ लागौं, पुरुषहरूको उमेर ढल्कँदै जाने क्रममा क्रमिक रूपमा यौनइच्छा घट्दै जान्छ । विभिन्न अध्ययनबाट यो कुरा पुष्टि भैसकेको छ, तर यसो भन्दैमा यो सबै पुरुषमा लागू हुँदैन । कतिपय पुरुषले उमेर ढल्कने क्रमसँगै आफ्नो यौनईच्छालाई पनि कायमै राखेका हुन्छन् । यौनइच्छा नहुनुका विभिन्न कारण हुन सक्छन् । विशेषगरी उदासीपन र चिन्ता छ भने यौन चाहना घट्दै जान्छ । अर्को अवस्था भनेको इन्डोक्राइन हार्माेनको गडबडी र यदि कुनै औषधि लगातार रूपमा लामो समयदेखि खाइरहेको अवस्था छ भने पनि यौन चाहनामा कमी आउँछ । केही अध्ययनले पुरुषहरूमा ५० वर्षको उमेरपछि शून्य दशमलव ४ देखि शून्य दशमलव ८ प्रतिशतले टेस्टोस्टेरोन हार्माेन घट्दै जान्छ, जसका कारण यौनचाहनामा कमी आउने देखाएको छ । अर्को एक अध्ययनअनुसार जसले ६० नाघिसकेपछि यौनचाहना बढी हुनु भनेको राम्रो होइन, असमान्य व्यवहार हो भन्ने विश्वास गर्छन्, उनीहरूको यौन इच्छामा पनि र्हास आउन सक्छ ।
उमेर ढल्कँदै गएपछि पनि यौनजन्य आनन्द लिन सकिन्छ । यद्यपि उमेरमा र उमेर ढल्किएपछिको यौनचाहना, गतिविधि र मजबुतीमा फरक हुन्छ । २० वा ३० वर्षको उमेरमा र ६५ वर्षको उमेरमा हुने सेक्समा केही भिन्नता हुन्छ । २० वा ३० वर्षको उमेरमा बालबच्चा वा करियर महत्त्वपूर्ण पाटोका रूपमा विद्यमान हुन्छन्, तर ६५ वर्षको उमेरमा यी कुरा महत्त्वपूर्ण नहुन सक्छन् । यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्वपूर्ण कुरा बन्न पुग्छ । प्रश्नमा उल्लेख भएअनुसार तपाईंकी श्रीमतीले तपाईंलाई बुझ्ने प्रयास गर्नुभएको छ जुन तपाईंका लागि राम्रो पक्ष हो । यस्तो सम्बन्धमा सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने तथा चिन्ता कम गर्ने क्रियाकलाप गर्दा मानसिक स्फूर्ति बढ्दै जान्छ र यौन आनन्दको उचाइ बढ्दै जान्छ, अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिरहेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै जान्छ । त्यसैले यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै छ, तर मानिसहरूले यसलाई कसरी लिइरहेका छन् भन्ने कुरा महत्वपूर्ण हो । यौनसम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढ्यौलीमा पनि सम्भव छ । फरक यति हो कि मानिसहरूले बुढ्यौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन् कि छैनन् ? उमेर बढ्दै जानु सामान्य कुरा हो । यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ । तपाईंको तनाव हाल समाधान भए पनि पुरानै तनावको असर बाँकी हुन सक्छ । तपाईंले आफ्नो समस्या पहिचान गर्नु राम्रो हो, त्यसैले बढी ढुक्क हुन मनोविद्सँग परामर्श गर्नु उचित हुन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

