
|
|
काठमाडौं, २८ पुस । पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रूपमा मनाउनेबारे मन्त्रिपरिषद्मा मतमतान्तर भए पनि नौ वर्षको अन्तरपछि अघोषित औपचारिक राष्ट्रिय उत्सवका रूपमा २९४ औं पृथ्वीजयन्ती तथा एकता दिवस मनाइएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाद्वारा सोमबार आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, संवैधानिक अंग, निजामती, नेपाली सेना र सुरक्षा निकायका वरिष्ठ अधिकृत उपस्थित भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
यसअघि सिंहदरबारअगाडि रहेको पृथ्वीनारायण शाहको सालिकस्थलमा नेपाल प्रज्ञाप्रतिष्ठानले औपचारिक कार्यक्रम गरेको थियो । शाहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्यालीले नगरका विभिन्न भाग परिक्रमा गरेको थियो ।
र्यालीमा नेपाली सेना, नेपाल प्रहरी, उपत्यकाका नेवार समुदायको धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी, साहित्यकारलगायत सहभागी थिए ।
परराष्ट्रमन्त्री थापाले आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको इतिहासमै राष्ट्र र जातका लागि योगदान पुर्याएका कारण नै पृथ्वीनारायण राजा भएको बताए ।
ओलीले भने, ‘शाहलाई राष्ट्रले सम्मान दिनुपर्छ र दिनेछ । देशलाई उहाँले पुर्याएको योगदान सर्वविदितै छ । यस विषयमा छलफल चलिरहेको छ । अहिले नभए पनि पछि बिदा हुनसक्छ।’
शाहले नेपालको एकीकरणमा पुर्याएको योगदानलाई बंग्याउन नहुने ओलीले बताए ।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको सन्देशका सन्दर्भमा सञ्चारकर्मीले राखेको जिज्ञासामा भने, ‘दरबार छाड्नेले घरबार गरेकै छन् । घरबार गरेर बस्न पाउँछन् ।’
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीजयन्तीका अवसरमा आइतबार दिएको सन्देशमा भनेका थिए, ‘मैले घरबार छाडेको छैन। दरबारमात्र त्यागेको हुँ।’
पृथ्वीनारायण शाहको सान्दर्भिकता सधैं रहने दाबी गर्दै प्रधानमन्त्रीले भने, ‘गणतन्त्रमा हिजो गरेका कामको सान्दर्भिकता हुँदैन भन्ने होइन। अहिले ल्यापटप र कम्प्युटर छ भन्दैमा कलमले कापीमा लेखेको महाभारतको सान्दर्भिकता सकिँदैन।’
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले नेपाल राष्ट्र कलिलो रहेको भन्दै दिएको प्रतिक्रियाप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँ केहीले राष्ट्र कलिलो छ भनेका छन् । के हिमाल कलिला छन् ? सिमानावरपर कलिलो भएका होलान्, राष्ट्र कलिलो होइन, छैन।’
मुलुकमा विद्यमान समस्याको समाधान छिट्टै हुने उल्लेख गर्दै ओलीले भने, ‘भारतसँग छिट्टै कुरा मिल्ने र नाका खुल्नेछ ।’
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले शाहप्रति आफ्नो सम्मान रहेको उल्लेख गर्दै भने, ‘पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्छ। राष्ट्रिय एकीकरणमा शाहको योगदान महत्वपूर्ण रहेकाले उनको योगदानको कदर गरिनुपर्छ भन्ने पक्षमा म छु ।’
पृथ्वीजयन्ती तथा एकता दिवसलाई सम्मान दिनका लागि उपप्रधानमन्त्री कमल थापाले मन्त्रिपरिषद् बैठकमा गरेको आग्रहलाई एमाओवादीका तर्फबाट सरकारमा नेतृत्व गरेका टोपबहादुर रायमाझी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले अहिल्यै नगरौं भन्दै अस्वीकार गरेका थिए । पृथ्वीनारायण शाहलाई अस्वीकार गर्ने ती दुवै शक्ति उपप्रधानमन्त्री थापाले आयोजना गरेको कार्यक्रममा सहभागी भएनन् ।
अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पृथ्वीजयन्तीलाई औपचारिक समारोहका बीच मनाउने प्रस्ताव लगे पनि तत्कालीन सञ्चारमन्त्री मीनेन्द्र रिजालको विरोधका कारण सम्भव हुनसकेको थिएन ।
लोकतान्त्रिक आन्दोलनको सफलतापछि तत्कालीन गृहमन्त्री एवं कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले शाहलाई अस्वीकार गर्दै उनको जन्मदिनलाई एकता दिवसका रूपमा मान्यता दिन नहुने भूमिका निर्वाह गरेका थिए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

