Home » » अन्ततः यसै हप्ताभित्र नाकाबन्दी खुल्ने निश्चित

अन्ततः यसै हप्ताभित्र नाकाबन्दी खुल्ने निश्चित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार फोन वार्तापछि सरकारले ‘साताभित्रै आपूर्ति व्यवस्था सहज हुने’ आशा व्यक्त गरेको छ। गृहजिल्ला झापा दौडाहामा रहेका प्रधानमन्त्री ओली र मोदीबीच बिहान साढे दस बजे करिब २० मिनेट फोन वार्ता भएको थियो।
मोदीसँगको फोन वार्तापछि बिहीबारै आधा दर्जन कार्यक्रममा सहभागी प्रधानमन्त्री ओली उत्साहित मुद्रामा देखिएका थिए। सम्बोधनका क्रममा उनले ‘मुलुकमा देखिएका जटिलता छिट्टै अन्त्य हुने’ दोहोर्यादइरहे।
‘आजको कुराकानीपछि उहाँको बडी ल्याङ्ग्वेजमै परिवर्तन आएको छ,’ प्रधानमन्त्रीका एक निकट सहयोगीले नागरिकसँग भने, ‘त्यसैले समस्या छिट्टै समाधान हुने आस छ।’
प्रधानमन्त्रीसँगै रहेका कानुनमन्त्री अग्नि खरेलले पनि नाका खोल्नेबारे भारतीय प्रधानमन्त्रीले सकारात्मक सन्देश दिएको पुष्टि गरे।

‘उहाँहरुबीचको फोन संवादपछि समस्या छिट्टै समाधान हुने आशा बढेको छ,’ फोन वार्ता हुँदा ओलीसँगै रहेका मन्त्री खरेलले सञ्चारकर्मीसँग भने, ‘आपूर्ति व्यवस्था सहज हुने, नाकाको समस्या सहज हुने संकेत मिलेको छ।’
भारतीय प्रधानमन्त्री मोदीसँगको कुराकानीबारे दमकमा सञ्चारकर्मीलाई जानकारी दिँदै मन्त्री खरेलले थपे, ‘कुराकानी मूलतः आपूर्ति समस्यामै केन्द्रित हो।’
आपूर्ति कहिलेसम्म सहज होला भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खरेलले भने, ‘ठ्याक्कै मिति त तोक्न सकिन्न तर अब एक हप्ता पनि यो असहज अवस्था जाँदैन होला।’
व्यस्त कार्यतालिकाबीच गृहजिल्ला दौडधुपमै रहेका बेला ओली र मोदीबीच दुई दिनदेखिको प्रयासमा वार्ता सम्भव भएको हो।
‘कुराकानी गर्न र असहज अवस्था टुंग्याउने चाहना दुवैतर्फको थियो,’ उनले भने, ‘त्यसैले कुराकानी भयो।’ उनका अनुसार यसपटकको कुराकानी नेपाली पक्षकै पहलमा भएको हो।
सोमबार एमाले, एमाओवादी र नेपाली कांग्रेस बैठकमा सहभागी नेताले प्रधानमन्त्री ओलीलाई मोदीसँग सिधै कुराकानी गर्न दबाब दिएका थिए।
कूटनीतिक अधिकारीमार्फत कुरा गर्दा असमझदारी बढेको निष्कर्षसहित दलका नेताले सिधै कुराकानी गर्न सुझाएका थिए। लगत्तै नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत भारतीय समकक्षीसँग प्रधानमन्त्री ओलीले कुरा गर्न चाहेको सन्देश पुर्यायइएको थियो।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बुधबार भारतीय विदेश सचिव एस जयशंकरलाई भेटी दुई समकक्षीबीच फोन वार्ता गराउने प्रस्ताव राखेका थिए। विदेश सचिवको सूचनामा मोदी सकारात्मक भएपछि विदेश मन्त्रालयले काठमाडौंस्थित दूतावासलाई फोन वार्ताको तारतम्य मिलाउन अह्राएको थियो।
त्यतिबेला ओली आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत धरमपुरस्थित कमलखोलाको पुल उद्घाटन गर्न जाँदै थिए। बाटैमा मोदी सम्पर्कमा आउन चाहेको खबर पाएपछि ओली नजिकै रहेको सहयोगी रमेश आचार्यको घरमा बसेर कुराकानी गरेका थिए।
फोन वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपाली संसदमा संविधान सशोधन प्रक्रिया चलिरहेकोमा सन्तोष प्रकट गरेका थिए। ओलीले जवाफमा मोदीलाई धन्यवाद दिए। नयाँ वर्षको शुभकामना साटासाट गर्दै सुरु भएको कुराकानीका क्रममा ओलीले आपूर्ति व्यवस्था सहज बनाइदिन आग्रह गरेका थिए। त्यसक्रममा मोदीले ‘स्थिति सोही दिशाउन्मुख भएको’ उल्लेख गरेको उनका सहयोगीले बताए।
‘अहिलेसम्म देखिएका असमझदारीलाई ड्रप गरेर नयाँ ढंगले नेपाल–भारत सम्बन्धलाई अघि बढाउन प्रधानमन्त्रीज्यूले आग्रह गर्नुभएको थियो,’ प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘मोदीज्यू पनि यसमा सकारात्मक हुनुहुन्छ।’
‘कुराकानीमा प्रधानमन्त्रीज्यूले आफू भारतविरोधी नभएको स्पष्ट पार्नुभयो। केही पक्षले आफूलाई भारतविरोधी भन्ने देखाउन खोजेका छन् तर आफू नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन लागिपरेको उहाँले बताउनुभयो,’ प्रधानमन्त्री ओलीका वरिष्ठ वैदेशिक सम्बन्ध विज्ञ गोपाल खनालले जानकारी दिए।
कुराकानीको अन्त्यमा भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए। ओलीले आपूर्ति व्यवस्था सहज बनाएर भ्रमणको वातावरण तयार पारिदिन मोदीलाई आग्रह गरेका थिए। नागरिक दैनिकमा समाचार छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}