Home » » त्यो मेरो पहिलो प्रेम

त्यो मेरो पहिलो प्रेम

सानो छदाँ मैले काँचो अण्डा खुब खाएँ। घरमा पालिएका कुखुराले चल्ला काढ्ने अवसर कहिल्यै पाएनन् भन्दा हुन्छ। घाँटीबाट उकालो आउँदासम्म खाएको भएर होला, आजभोलि कतै अण्डा देखे हिक्कहिक्क हुन्छ।

मेरो चाहना कुनै कुस्ती खेलाडी बन्नु वा पहलमान बन्नु थिएन। अलिकति उचाइ बढाउन सकियो भने लाहुरे भइन्छ कि भन्ने झिनो अपेक्षा थियो। उचाइ बढाउन काँचो अण्डा खानुपर्छ भन्ने मान्यता थियो।


जति कोशिश गरे पनि मेरो उचाइमा खास बदलाव आएन। बाक्लो सोल भएको हड्डिटेक जुत्ता लगाउँदासमेत उचाइ नाप्ने फिटाको संकेत पाँच फिट भन्दा माथि कहिल्यै सरेन। बिहानै उठेर आठ, दस किलोमिटर डौडेर घर आइपुग्दा रेडियो नेपालमा भर्खर धार्मिक कार्यक्रमको शंख बजेको हुन्थ्यो।

बाजेले मलाई ब्यायाम सिकाउनु हुन्थ्यो।

बाजे बेलायती भूपू गोर्खा भएकाले नाति पनि बेलायती लाहुरे होस् भन्ने चाहनु हुन्थ्यो। तर चनमती रानाको  जिद्धिले उहाँको सपना पुरा हुन सकेन।
चनमती जसले मलाई लाहुरे हुन दिइनन् ती मेरी प्रेमिका थिइन्।

दाउरा, घाँस गरेर पनि आरामसँग खान पुग्ने गीत सुनाउँथिन्। तपाईंको आँखा हेरेर निदाउन पाए संसारका सबै खुसी त्याग्छु भन्थिन्। जन्म एकै दिन हुन नसके पनि मृत्युको कल्पना एकै दिन गर्थिन्। उनको कुरेसोले बुन्ने झोलामा मेरै नामको फूलबुट्टा कोरिन्थ्यो। काँचो अण्डा धेरै नखानु होला, मोटाउनु भयो भने झ्याउ हुन्छ भन्थिन्।

अलिक झगडालु स्वभावको थिएँ। सानो कुरालाई ठुलो बनाएर साथीभाइसँग लडेको नमिठो नजिर मेरो जीवनमा धेरै पटक बसेको छ। गाउँघरको आँगनमा मबारे कुरा काटिन थालेपछि चनमतीलाई बसिखानु भएनछ।

त्यो खोलाघरे दिलेको पछि नहिँड्, त्यस्ले त मान्छेलाई पागल बनाएर छाड्छ भन्ने सुझाव जान्नेमान्नेकै मुखबाट सुनेपछि चनमतीको मुहार कागागारमा बसेको निर्दोष कैदीको जस्तो देखिन्थ्यो। बच्चाजस्तो क्वाँक्वाँ रुन्थिन्। घुमाउने डाँडाको दुबोमा बसेर चुम्बन गरेका मेरा ती कलिला गालामा उनको लुलो हातको थप्पड आउन थालेका थिए। चनमतीले तान्दा मेरा कैयौँ चप्पल चुँडिए। कमिजको बाउला च्यातिए।

यति हुँदाहुुँदै पनि चनमतीको माया बिछट्टै थियो। गहभरि छचल्किने आँसुका थोपाले मेरै कुशलताको कामना गरेजस्तो लाग्थ्यो। सायद यो मान्छे अहिले झगडालु भएपनि पछि म सुधे्रर गाउँलेलाई देखाईदिन्छु भन्ठानेकी थिइन् होला।

म लाहुरे नभएको, म होचो भएर मात्र होइन, चनमतीको चाहना अग्लो भएर हो। म कतै टाढाको यात्रामा निस्कन परे चनमती राँघूखोलाको दोबाटोमा मलाई छेक्न आई पुग्थिन्। मलाई छोडी नजान भनेर पाइतलामा आफ्नो शिर झुकाउँथिन्। जोडसँग पाखुरामा समातेर आफूतिर तान्थिन् मानौ कि म आत्महत्या गर्न उभिएको छु। एक महिनापछि भेट भयो भने उनी मलाई बिना कारण झम्टेर रुन्थिन्।

माइको थानको मेलामा चनमती र मेरो पहिलो पटक सेक्सि तरीकाले आँखामा आँखा जुधेको थियो। मलाई भलिबल खेल खुब मन पर्ने, गाउँमा मेलापर्व हुँदा खेलिन्थ्यो। म खेल्न भन्दा चनमतीको मुहार हेर्न लालयित हुन्थेँ। पहिलो भेटको सम्झँदा कतिखेर आँखामा रसायो थाहा पाउँदिनँ।
जीवन कहाँदेखि आज कहाँ पुग्यो भनेर चकित पनि हुन्छु। छोटो जीवनको लामो सम्झनाले मलाई पिरोल्छ।

खास चनमती र मेरो जन्मस्थान एकै ठाउँ। डाँडाकाँडा मिलेर बनेको गाउँमा हामीसँग अहिलेजस्तो हातेफोन र फेसबुक थिएनन्। भेट्यो भने कहिल्यै पनि नछुटेर माया गरिरहूँजस्तो लागिरहन्थ्यो। छुट्ने बेला डाँडाले छेक्दा पनि हेरिरहन मन लाग्ने प्यास थियो। पहिलो भेटको अन्तिम गन्तब्य जीवनको अन्तिम दिन ठानेका थियौँ, दुबै जनाले। पहिलो भेटमा रातभर कुरा गरेर बितायौँ।
अहिले संसार एउटा गाउँ भएको छ भन्छन्। उतिखेर गाउँ फिजिएर सिङ्गो संसारजस्तो लाग्थ्यो। चनमतीलाई भेट्न चार घण्टा उकालो हिँड्न पथ्र्यो। उनी पनि मलाई भेटन तीन घण्टा ओरालो हिड्नु पर्ने। कहिलेकाहीँ त लाग्थ्यो सारा जिन्दगी नै ओरालोउकालो गर्दै सकिने भयो। एकआपसमा संचारको साधन नहुदाँ कहिले म उक्लँदा उनी झरिसकेकी हुन्थिन्। कहिले उनी झर्दा म उक्लिसकेको हुन्थेँ। पछि मंगलबार र शुक्रबार मात्र भेट्ने सल्लाह भयो।
अहिले सम्झँदा यस्तो लाग्छ, खुब वैज्ञानिक निर्णय पो गरेका रहेछौँ।

त्यतिबेला बजारमा मुखमा लगाउने टोनी नामको क्रिम निकै चर्चामा थियो। सयौँ पटक मुखमा त्यो क्रिम दलेर राम्रो देखिने कोशिस गर्थेँ। मलाई थाहा थिएन, क्रिम एकपटक दले पुग्छ। मलाई लाग्थ्यो कि जति धेरै दल्यो त्यति राम्रो देखिने होला। यस्तो हावा सोचाइले दिनमा दुईवटा क्रिम सकिन्थे।

चनमतीको चुरिफुरि पनि कम्ताको त थिएन। नितम्बसम्म झरेको कालो केसहरुमा रातो रिबन बाँधेर उनले आफ्नो कामुकता प्रदर्शन गर्थिन्। अहिले कामुकता अङ्ग प्रदर्शनमा देखिन्छ। उहिलेको कामुकता कालो केसमा देखिन्थ्यो। चनमतीको कालो केस सुम्सुमाउन पाउँदा मलाई चरम आनन्द आउँथ्यो।

बतासे डाँडामा बसेर हामीले जीवनका गम्भीर कुरा गर्थ्यौ। अरुणा लामा र तारादेवीका गीत उनले दुरुस्तै सुनाउँथिन्। म सुसेली हाल्थेँ, उन्युँका पात उनको कानमा सिउरिँदिन्थेँ। तिम्रै मायाको खातिर गाउँ छाडेर आफू कतै नगएको कुरा सुनाउँदा चनमतीको आँखामा कर्णाली बग्थ्यो। हामीले अब बिहे गर्ने र किसान भए पनि जीवन धान्ने सल्लाह गरेका थियौँ।

उनको शिरमा हात राखेर दिनमा सयचोटि कसम खाएको थिएँ। आँसु पुछ्दै म तिम्रै हुँ चनमती भन्थेँ। मेरा एकै शब्दले उनको ओठमा देखिएको खुसी सूर्योदयोजस्तो लाग्थ्यो।
समय बदलियो। निला आकास काला देखिन थाले। सूर्योदयोको साटोमा झरी पर्न थाल्यो। चनमतीको कल्पनाभन्दा बाहिरको कुरा मैले कसरी कल्पना गरेँ? थाहा छैन। मेरो जीवनमा अचानक अकल्पनीय मोड आयो। जीवनको परिभाषामा चनमतीको सपनालाई व्याख्या गर्न सकिनँ।

एक मध्यरातमा गाउँ छाडेँ। जंगलतिर पसेँ। परिस्थितिअगाडि एक निकम्मा प्राणी थिएँ। चनमतीलाई भेट्न जाने चार घण्टाका उकाली बाटो अब चौबीस घण्टामा बदलिन थाले। चनमतीअगाडि देखिन नपाए हुन्थ्यो भनेर लुकीलुकी हिँड्न थालेँ। कतै झुक्किएर देख्लान् भन्ने पिरले मुखमा रुमालको पट्टि बाँध्न थालेँ।

पहिले भन्दा धेरै दुब्ली, पातली र उदास देखिएकी चनमतीलाई मैले आक्कलझुक्ल नदेखेको भने होइन। उनलाई देख्दा मेरो मुटुमा सात गाँठो पथ्र्यो तर मुख लुकाउन विवश हुन्थेँ।

त्यतिखेर नै मैले मुख र मुटुबीचको महत्व बुझेको हुँ। मुख र मुटुको माया बुझेको हुँ।

जंगल पसेपछि चनमती विरामी भएको, घरमा गुम्सिएर बसेको खबर आइपुग्थे। तर म भने कहिले हिमालको काखमा निदाइरहेको हुन्थेँ त कहिले तराईको खेतमा। मेरोअगाडि कुनै राँघुखोला थिएन जहाँ चनमती दौडेर मेरो बाटो छेक्न आऊन्।

आदर्शबाट बिमुख सोझी पहिलो प्रेमिका चनमतीको मुटुमा छुरा हानेको थिएँ। उनको प्यारा सपनालाई हत्या गरेको थिएँ। निर्दोष अनुहारको त्यो मिठो मुस्कानको सम्झनामा मैले कैयौं पटक कविता लेखेँ। जीवन जोगाउने भागाभागमा मेरो जीवनजस्तै कविताहरु चनमती रोइरहेको पहाडभरि खसे।

गाउँ छाडेर कहिल्यै नजान सम्झाउने चनमती एक दिन बिरक्तिएर आफै गाउँ छाडेको कुरा सुनेँ। बिस्तारै देश छाडेको कुरा पनि सुनेँ। घरमा बस्दा सधैँ बिरामी हुने उनको काकाले उनलाई हङकङ लगेर गएको थाहा पाएँ। त्यसपछि मैले मेरो मुखमा बाँधेको रुमालको पट्टि खोले। म पनि सहरमा आइपुगेको रहेछु।

चनमतीको हङकङ बसाइ पक्कै पनि धेरै यादहरुलाई भुलाउने भौतिक सुखसुबिधा हुन्छन्। स्थान परिवर्तन गरेपछि मानिस आफ्नो बोली बदल्न थाल्छ। भाषा बदल्न थाल्छ। लवाइखवाइ, संगत र मित्रता बदलिन सुरू गर्छन्। तर चनमती बदलिने कुरामा विश्वास थिएन।

लाग्थ्यो अरुणा लामा र तारादेवीका गीत गाउने मानिस यति छिटै बदलिदैनन्। बदलिए पनि मुहार बदलिएको होला, मुटु त उस्तै होला। सम्झना होला बतासे डाँडामा बसेर धुरुधुरु रोएको, चुम्बन गरेको, केसमा उनेका उन्यूका पातको।
यी सोचाइमा डुबेको बेला काँचो अण्डा खाँदै थिइनँ, एक गिलास मदिरा उचालेर उदास भट्टिको कुनामा एक्लै गनथनमन्थन गर्दैथिएँ।
जीवनदेखि हारेको थिएँ। जगतदेखि थाकेको थिएँ। हिजो मिठा सपना थिए, आज छैनन्। हिजो सुन्दर भविष्य थिए, आज छैनन्। हिजो प्यारा चुम्बन थिए, आज छैनन्। हिजो असीम खुसी थिए, आज छैनन्। हजार मानिसका भिडमा आफू केवल एक्लै लरखराइरहेजस्तो लाग्यो। बाटो बिराएको यात्रुजस्तो लाग्यो। सम्झनाको मझेरीबाट ती सपना,  भविष्य, खुसी एकैसाथ ध्वस्त भइसकेका थिए।

धेरै कष्ट र अथक साधनापछि मैले चनमतीको मोबाइल नम्बर पत्ता लगाएँ। फोन गरेँ।
हेल्लो हु आर यु?
चनमतीले फोन उठाइन्।
हजुर म हुँ। म दिल हो क्या... तिमी चनमती होइनौ र?
मसिनो स्वरमा बोलेँ।
को रे फेरि भन्नु त ?
नचिनेजस्तो गरिन्।
म दिल हुँ! कस्तो नचिनेको यार। उही क्या त तिम्रो भुपू मायालु।
खिस्स हाँसो।
यु स्टिल अलिभ? बुल सिट... मलाई अब फोन नगर
है। तँ कु... कहाँबाट नम्बर पाइस् मेरो? हु गेभ?
केही नबोली लुसुक्क फोन काटेँ। डरले लकलक काँपेँ।
रुनु न हाँस्नु भएँ। उनको बोली सुनेर मेरो हंसले ठाउँ छाड्यो। आफ्नो चित्त बुझाउन मसँग उपाय थिएन। सोझी चनमतीको मुख र मुटु दुबै बदलिएछन्।
आफूलाई बेबारिसे लाग्न थाल्यो। आफ्नो गाला आफैले चिमोटेँ। चप्पल हेरेँ। कमिज हेरेँ।
अहिले चनमतीलाई फेसबुकमा फेला पारेको छु। र, फेरि अरुणा लामा र तारादेवीको गीत गाउन थालेकी छन्।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}