
|
|
फिल्म 'कबड्डी कबड्डी'को टिमले चिसो साँझमा सफलताको न्यानोपन बाँड्दैथियो। थरीथरीका पहिरनमा झुल्किए एकसेएक सेलिब्रिटीहरु। तर सबैभन्दा बढी ध्यान खिच्न सफल भइन् अभिनेत्री प्रियंका कार्की। 'कबड्डी कबड्डी'मा गेस्ट रोल गरे पनि पार्टीमा चाहिँ उनी हावी भइन्।
प्रियंका सबैको आँखाबाट घेरिनुको कारण थियो उनको छोटो पहिरन। झट्ट हेर्दा 'पेग'माथि 'पेग' थप्नेहरुले चिसोलाई च्यालेन्ज दिएका झैं देखिन्थे। तर, सबैभन्दा गतिलो च्यालेन्ज दिएकी थिइन् प्रियंकाले।
प्रियंकाको शरीर पनि हाड र मासुले नै बनेको हो। उनलाई जाडो नलाग्ने कुरै भएन। तैपनि चिसो खप्दै आफू 'हट्' बनेर माहौललाई तताउन सकेकोमा उनको तारिफ गर्नैपर्थ्यो। आफ्नो भुवादार कोट कुन कुर्सीमा लट्किरहेको थियो, उनले बिर्सिएकी थिइन्।
पार्टीमा सहभागी एक कविले उनको तारिफ गरिहाले। गिलासभित्रको तरल पदार्थसँग छचल्किँदै ती कविले प्रियंकालाई झटारो हाने, 'तिमीलाई कलात्मकता भन्ने थाहा छैन?' प्रश्नले अक्मकिइन् प्रियंका। कविले मुखबाट बाफ ओकले, 'तिम्रो पहिरनले कला होइन अतिरञ्जना पैदा गरेको छ।'
प्रियंकाको मनसाय अतिरञ्जना फैलाउनु थियो वा थिएन, उनी नै जानून्। तर, कविजी चाहिँ अतिरञ्जित भएका थिए। उनी त्यस्तो हालतमा पुग्नुमा अरु कसैको होइन प्रियंकाकै योगदान थियो।
धेरैजसो हिरोइनका लागि जाडो याम सबैभन्दा अप्रिय मौसम होला। किनभने जाडोमा ओठ फुट्ने, गाला फाट्ने, छाला फुसि्रनेजस्ता समस्या त छँदैछ। त्यसमाथि पातलो र छोटो लुगा लगाएर आफ्ना अंगहरु 'एक्सपोज' गर्न पनि मिल्दैन। त्यो भनेको उनीहरुको यौवन छोपिनुसरह हो।
तापक्रम जति थोरै, लुगा पनि त्यति थोरै धारण गर्नसके भीडमा नोटिस हुन सजिलो हुन्छ। प्रियंका अँध्यारोमा पनि टल्किनुको कारण त्यही थियो। प्रियंकामात्र होइन अरु महिला सेलिब्रिटी पनि चिसोलाई मात खुवाउन सिपालु छन्। एकताका रेखा थापा यस मामिलामा अगाडि थिइन्, अचेल अलि नयाँ छिमलका अभिनेत्रीहरु प्रकट भएका छन्।
सामान्यतया युवतीहरु गर्मीमा अंग प्रदर्शन गर्छन् भने जाडोमा लुगा। गर्मीमा छोटो र पातलो लुगा लगाउँदा अंगहरु उजागर हुन्छन् भने जाडोमा खापका खाप लुगा। तर, सेलिब्रिटीको हकमा यस्तो नियम लागू नहुने रहेछ।
सेलिब्रिटी त्यसमा पनि विशेषगरी फिल्मका हिरोइनहरु आफूलाई शरीरका अंगमार्फत् अभिव्यक्त गर्न चाहन्छन्। कथाको माग भन्दै कपडा छोट्याउन खोज्छन्। र पत्रकारलाई जवाफ दिन्छन्, 'कथाले मागे नांगिनसमेत तयार छु।'
जो 'हट्' छ, बजारमा उसकै चर्चा हुन्छ। मिडियाले उसैलाई खोज्छ। उसकै ब्लोअप छापिन्छ। 'हट्' नहुनेहरुको बजार पनि सेलाएर जान्छ। यो रीतलाई बु‰छन् हिरोइनहरु। त्यसैले ६ वटै ऋतुमा 'हट्' हुन बाध्य छन्।
'हट्' हुनका लागि हिरोइनले ज्यानलाई सधैं फिट राख्नुपर्यो । फिगर कोकाकोला हुनुपर्योि। भद्दा शरीर भएका केही हिरोइन प्रतिभाशाली हुँदाहुँदै पलायन भएका उदाहरण छन्। ती उदाहरणदेखि त्रसित छन् नयाँ हिरोइनहरु।
शरीरलाई फिट राखेरमात्र हट् हुने होइन। त्यो शरीरलाई प्रदर्शन पनि गर्नुपर्छ। रियल लाइफ र रिल लाइफ दुवैतिर। हिरोइन हट् भएपछि ऊसँग सेल्फी लिन जो पनि लालयित हुन्छन्। र, सोसियल नेटवर्कतिर उसैको रजाइँ चल्छ।
चिसो मौसममा ज्याकेट लगाउँदा फिगर लुक्छ। मफलर बेर्दा घाँटी र चिउँडोको कोमलता ढाकिन्छ। पन्जा लगाउँदा औंला र नेलपोलिस छोपिन्छ। बाक्लो ट्राउजरले खुट्टाका बान्कीहरु मेटिन्छन्। यस्तो अवस्थामा कसरी देखिनु हट्?
जसको फिगर कोकाकोला होइन फ्यान्टा होला, जसलाई छालामा क्रिम धस्न अल्छी लाग्ला र जसका खुट्टाहरु बान्की परेका छैनन् होला, उनीहरुलाई चिसो याम नै मन पर्ला। ज्याकेट र सबै अंग ढाक्ने लुगा लगायो, टन्टै साफ। उनीहरु बरु गर्मी याममा चिन्तित हुन्छन्, गर्मीमा के देखाउने भनेर?
तर, जसले निकै त्याग र तपस्याका साथ शरीरलाई ताछ्दै फिट् राखेका छन्, उनीहरुको चिन्ता चिसोमा चुलिनु स्वाभाविक हो। त्यसैले चिसोलाई च्यालेन्ज दिन उनीहरु कार्यक्रमस्थलको पार्किङमा पुगेर गेटअप बदल्न बाध्य हुन्छन्।
उनीहरु स्कुटीमा हुइँकिँदा बाक्लै लुगा लगाउँछन्। पार्किङमा पुगेपछि बाक्ला लुगाहरु एकपछि अर्को छोडाउँदै स्कुटीको डिकीमा थन्काउँछन्। लुकिङ ग्लासमा हेरेर अनुहार पोत्छन् र उज्यालो प्रेक्ष्यालयमा प्रवेश गर्छन् 'हट्' बनेर।
विदेशमा भए, एसीको उपस्थितिले कार्यक्रमस्थल न्यानो नै हुन्थ्यो। पहिरन जति छोटो भए पनि चिसो लाग्दैनथ्यो। तर नेपालमा इन्धन र बिजुली अभावले कतैकतै भएका एसी पनि चल्दैनन्। जसले गर्दा अभिनेत्रीहरु दोहोरो अभिनय गर्न विवश हुन्छन्, एक जाडो नभएको, अर्को छोटो कपडामा असहज लागे पनि सजिलो महसुस भइरहेको।
माथि नै चर्चा भइसक्यो, कथाको माग अनुसार नांगिन तयार छन् हिरोइनहरु। डाइरेक्टर र प्रोड्युसरले यसको फाइदा पनि उठाउँदै आएका छन्। बाक्लो लुगा लगाएर चिसोले हिरोइन थुर्थुर काँपेको दृश्य नेपाली फिल्ममा सायदै हेर्न पाइएला।
फिल्ममा हिरोइनहरु छोटो परिहनमै नाच्छन्। उस्तै परे स्विमिङ पुल र गाउँको झरनामा नुहाउन समेत पछि पर्दैनन्। यस्तो लाग्छ, मानौं हिरोइनका लागि फिल्मभित्र सधैं गर्मी याममात्र आउँछ।
कुनै कुनै फिल्ममा डाइरेक्टरले चिसो मौसमलाई पनि उठाउने गर्छन्। तर मौसम चिसो भए पनि हिरोइनलाई दनदनी बलिरहेको आगो ताप्न लगाउँदै माहौललाई हट् बनाइन्छ। र, 'जल्न देऊ मलाई' पाराको गीतमा हिरोइनको आइटम डान्स घन्काइन्छ। हलमा दर्शकको सिट्टी र ताली गुन्जिन थाल्छ।
पुसको पहिलो हप्ता भएको डि–सिने अवार्ड समारोहमा पनि नम्रता सापकोटा लगायत अरु केही हिरोइन छोटो कपडामा ठाँटिएका थिए। हाँस्यकलाकार दीपकराज गिरीलाई काउकुती लागेछ। र उनले स्टेजमा उक्लेर सोधे, 'केटाकेटीको जाडो बाख्राले खान्छ रे, यी हिरोइनहरुको जाडो चाहिँ केले खान्छ?' दीपकसँग उभिएका थिए अर्का कमेडियन जितु नेपाल। उनले जवाफ दिए, 'त्यो त, खानेलाई थाहा होला नि।' यस्तो व्यंग्य चलिरहँदा हिरोइनहरु नै बढी हाँसे।
गर्मीमा घाम छल्ने क्रिम सबैले प्रयोग गर्छन्। भविष्यमा शरीर न्यानो राख्ने क्रिम आविष्कार भयो भने सायद नेपालका हिरोइनहरुले नै बढी खपत गर्नेछन्। त्यतिबेला दीपकको प्रश्नमा जितुले भन्थे होलान्, 'हिरोइनको जाडो क्रिमले खान्छ।'

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

