
|
|
वैशाख १२ गते गएको भूकम्पको पराकम्पले अझै हल्लाउन छोडेको छैन।
भूकम्प गएको झण्डै नौ ९ महिनापछि नेपालमा ठूलो भूकम्प जाने भविष्यवाणी सहितका खबरले पनि नेपालीमा ठूलो डर पैदा गरीदिएको छ। यस्ता खबर सुनेपनि नसुनेझैं गरी सामान्य जीवनमा फर्किसकेका नागरिकलाई केही दिनअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालयका भूगर्भ वैज्ञानिकले सार्वजनिक गरेको नयाँ विश्लेषणले भने सोचमग्न बनाएको छ।
तर भूकम्पीय दृष्टीले नेपालको कुनै पनि ठाउँ जोखिममा छ भन्नु कुनै नयाँ तथ्य भने होइन। भूकम्प मापन केन्द्रमा गएको ३६ वर्षदेखि कार्यरत प्रविधिक अधिकृत उमेश प्रसाद गौतम भन्छन्, ‘नेपाली वैज्ञानिकहरुले यो कुरा हिजो पनि भनिरहेका थिए र आज पनि भनिरहेका छन्।’
उनले भने, ‘इन्डियन प्लेट उत्तरतिर बगेर तिब्बतियन स्थिर प्लेटमा ठक्कर खानु नै हाम्रो नियती हो। ठक्कर खाएपछि भूकम्प जान्छ। कुनै ठाउँमा सञ्चित शक्ति चाँडै बाहिर जान्छ र साना साना भूकम्प आएर सकिन्छ। कुनै ठाउँमा सय दुई सय वर्षसम्म रहन्छ र ठूलो भूकम्प आउँछ।’
गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट जत्ति ठूलो शक्ति बाहिर निस्कनु पर्ने थियो त्यो नभएको यस अघि नै भनिँदै आएको थियो। जमिनमुनि सञ्चय भएको शक्ति निष्कासन हुन भूकम्प जानैपर्ने सत्य भएपनि त्यो कत्रो हुने र कहिले आउने भन्ने बारेमा भने कसैले पनि भन्न नसक्ने भूकम्प मापन केन्द्रका प्रविधिक अधिकृत गौतमको भनाई छ।
उनले भने, ‘वैशाख १२ को भूकम्पले शक्ति पूर्ण रुपमा क्षिण नभएको कुरा सत्य हो। ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले जमिनको सतहमा चिरा नर्पानुले शक्ति बिचमा कतै रोकिएको भन्ने सिद्धान्तले देखाउँछ। तर त्यो रोकिएको भाग कसरी फुट्छ ? त्यो शक्ति बाहिर जानका लागि भूकम्प आउनै पर्छ। तर त्यो भूकम्प एक वर्षमा आउँछ कि, १० वर्षमा आउँछ कि वा त्यो भन्दा पनि पछि आउँछ भनेर भन्न चाहिँ सकिँदैन। भूकम्प जाने खतरा भने छ।’
वैशाखमा गएको भूकम्पले जमीनमुनिको सतहमा जुन चिरा पार्नुपथ्र्यो, त्यो चिरा नपारेका कारण बैज्ञानिकहरुले नेपालमा फेरि भूकम्पको सम्भावना औंल्याएका हुन्। तर नेपाली भूगर्भविदका अनुसार अहिले गईरहेको सानो–सानो पराकम्पबाटै पनि सञ्चित शक्ति बाहिर निस्कन सक्छ।
बेलायती वैज्ञानिकले भनेजस्तो एकैचोटि ठूलो भूकम्प जाने कुनै ठोस आधार नभएकाले भूकम्प आइहाल्ने हो कि भनेर मानसिक डर पालेर बस्नुभन्दा आफू बस्ने संरचना दरो र भूकम्पप्रतिरोधी बनाउनुपर्ने विज्ञको भनाई छ।
केन्द्रका प्रविधिक अधिकृत उमेश प्रसाद गौतमले भने, ‘साना साना भूकम्पको रुपमा जम्मा भएको शक्ति जान पनि सक्छ वा ठूलै भूकम्प पनि जान सक्छ। त्यसैले डराएर बस्नु भन्दा भूकम्प सुरक्षात्मक उपाय अपनाउने, संरचना पनि भूकम्प प्रतिरोधि बनाउने, पूर्वतयारी गर्नमा जोड दिनु पर्छ।’

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


