Home » » पर्वतमा बन्ने भयो अर्को कीर्तिमानी झोलुङ्गे पुल

पर्वतमा बन्ने भयो अर्को कीर्तिमानी झोलुङ्गे पुल

विशन क्षेत्री, पर्वत । लामो झोलुङ्गे पुलको जिल्लाबाट चर्चित पर्वतमा फेरि अर्को कीर्तिमानी झोलुङ्गे पुल निर्माण हुने भएको छ । कालीगण्डकी नदीमाथिको पर्वत र बाग्लुङ्ग जोड्ने नेपालकै लामो ३४७ मिटरको कुश्मा–कैया झोलुङ्गे पुलको रेकर्ड तोड्दै मोदी खोला माथि ३५९ लामो मुडिकुवा–बडागाउँ झोलुङ्गे पुल निर्माण हुने भएको हो । पुलको उचाई भने १५५.७० मिटर हुने छ ।
मुक्तिनाथ एण्ड ओम गीता जेभी कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको पुलको लागत एक करोड ७६ लाख ९९ हजार रहेको छ । पुललाई आगामी भाद्र मसान्तसम्ममा सक्ने लक्ष्य राखिएको छ । झन्डै तीन महिना पछि काम निर्माण थालनी भएतापनि समयमा नै निर्माणकार्य सम्पन्न गर्ने कन्स्ट्रक्सनका सञ्चालक ओम गौचनले जानकारी दिए ।
पर्वत जिल्लाको क्षेत्र नं. १ र क्षेत्र नं. २ जोड्ने उक्त पुल व्यापारिक, आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण हुने पुल निर्माण समितिका मुख्य सल्लाहकार ऋषिकेश तिवारीले बताए । पुलले पर्वत र बाग्लुङ्गका दक्षिणी गाविसका बासिन्दालाई सदरमुकामसम्मको दूरी छोट्याएको छ ।
पुल निर्माण भएसँगै एक घण्टाको पैदल यात्रा १० मिनेटमा छोटिने भएको छ । पुलले यातायात तथा ढुवानीमा समेत सहजता ल्याउने जिल्ला प्राविधिक कार्यालय पर्वतका ईञ्जीनियर महेन्द्र बानियाले जानकारी दिए । नेपाली कांग्रेसका केन्द्रिय सभापति एवम् पूर्व–प्रधानमन्त्री सुशिल कोईरालाले शुक्रबार पुलको शिलान्यास गरेका हुन् । शिलान्यास पश्चात कोईरालाले नेपाल प्राकृतिक सम्पदाको धनी मुलुक भएको हुँदा श्रोत साधनको सदुपयोग गरी पर्यटक भित्र्याएर आर्थिक लाभ लिन सकिने बताए । नेपालमा पर्यटन व्यवसायको राम्रो सम्भावना भएर पनि राजनीतिक अस्थिरताका कारण व्यवसाय फस्टाउन नसकेको टिप्पणी गरे ।
पर्वतमा यस अघि पनि दुई ओटा लामो झोलुङ्गे पुल निर्माण भईसकेका छन् । लामो पुलको जिल्ला बनेसँगै पर्वतमा आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । निर्माणाधीन यो पुलले थप पर्यटक भित्र्याउने आशा गरिएको छ ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}