
|
|
काठमाडौं, १८ पुस । प्रमुख विपक्षी दल नेपाली कांग्रेस आफ्नो १३औँ महाधिवेशन आगामी फागुन महिनाभित्र सम्पन्न गर्न जोडतोडले गृहकार्यमा जुटेको छ । गृहकार्यसँगै कांग्रेसको सभापति, पदाधिकारी एवम् केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेहरूका विषयमा बाक्लै चर्चा हुन थालेका छन् । नेता शेरबहादुर देउवा समूह आफ्नो सचिवालय र संयन्त्र परिचालन गरेर सभापति सुशील कोइरालाविरुद्ध खुलेर मैदामा उत्रिएको छ । प्रोपोगाण्डासहित उत्रिएको देउवा समूहले केन्द्रीय नेताहरूलाई आफ्नो पक्षमा बनाउन सक्रिय भएको हो । सभापति कोइराला समूहको सचिवालय कमजोर रहेका कारण खासै प्रोपोगाण्डा गर्न सकेको छैन । सचिवालयमा रहेका अतुल कोइराला, अमेरिकी नागरिक मृदुला कोइराला, इनिस्पेक्टर मोहन आचार्य र सागर खनालले कोइरालालाई हराउन टुप्पी कसेर लागेको आरोप छ ।
सागर खनालले कोइरालाका हरेक गतिविधि नरहरि आचार्य र देउवा समूहसमक्ष पुगाउँदै आएका छन् । सागर नरहरिका आफन्त पर्छन् । नरहरिकै दबावमा कोइरालाले सागरलाई सल्लाहकारका रुपमा राखेका हुन् । मोहन आचार्यले कोइरालाका सूचना आफ्नो सुरक्षा संयन्त्रमा पुगाउने गरेको स्रोतले जनाएको छ । अमेरिकी नागरिक (एनआरएन) मृदुला कोइरालालाई कमाउ धन्दामा लाग्न ठीक्क छ । मृदुलाले कोइरालालाई सक्नकै लागि महाराजगञ्जमा अड्डा जमाएर बसेको आरोप लागेको छ । सभापति कोइरालालाई भेट्न आउनेहरूलाई मृदुलासहितको यो समूहले भेट्नैदिँदैन । सभापति पदमा पुनः उम्मेदवारी दिएर आफ्ना भतिजा डा.शशांक कोइरालालाई कार्यबाहक सभापति दिने सुरसार गरेका कोइरालाको योजना बुझेर कोइराला परिवारभित्र बिरोध हुन थालेको छ । विपि पुत्र डा.शशांक दाङतिर घर भएका कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीका मिल्ने साथी हुन् । यी दुईको जाडी अलि बाक्दै देखिने गरेको । प्रत्यक्षमा पराजित भएपछि आरक्षणबाट केन्द्रीय सदस्य बनेका दीपक गिरी १३औँ महाधिवेशनमा आरक्षणबाट केन्द्रीय सदस्य बन्ने दाउमा लागेका छन् । तर यस पटक गिरीलाई राप्तीका कार्यकर्ताले हराउने चेतावनी दिन थालेका छन् । कोइराला क्याम्पभित्रको असन्तुष्टि र सचिवालयका गलत मान्छेहरूका कारण देउवातिर नेता/कार्यकर्ता निकै आकर्षित हुन थालेका छन् । सभापति कोइरालाले मनोनीत गरेका केही केन्द्रीय सदस्य संस्थापन समूह त्यागेर नेता देउवाको क्याम्पमा पुगेका छन् । कोइरालासँग निकै निकट रहेका केही नेता अहिले वरिष्ठ नेता देउवासँग निकट हुन पुगेका छन् ।
उनीहरू देउवा पक्षीय नेताहरूको भेलामा जाने, नयाँ बानेश्वरस्थित देउवाको सम्पर्क कार्यालयमा उपस्थिति हुने र गोप्य रणनीतिक बैठकहरूमा समेत उपस्थिति भई कोइराला क्याम्पलाई कमजोर बनाउने रणनीति तय गर्ने गरेको स्रोतको भनाइ छ । सभापति कोइरालाद्वारा मनोनीत गरिएका केन्द्रीय सदस्यद्वय श्याम घिमिरे र केशवकुमार बुढाथोकी संस्थापनलाई त्यागेर देउवा क्याम्पमा पुगिसकेका छन् । घिमिरे सिन्धुली र बुढाथोकी झापाका प्रभावशाली नेता हुन् । चन्द्र भण्डारी र मानबहादुर विश्वकर्माले कोइराला क्याम्प छाडिसकेका छन् । उनीहरू पनि अहिले देउवा क्याम्पसँग निकट भएका हुन् । अर्घाखाँचीका विश्वकर्मा अघिल्लो महाधिवेशनमा दलित कोटाबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । स्रोतका अनुसार देउवा पक्षीय हरेक भेला र बैठकमा आजभोलि उनीहरूको उपस्थिति हुने गरेको छ । सभापति या महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका अर्जुननरसिंह केसी पनि पछिल्लो समय देउवासँग निकट भएका छन् । देउवा क्याम्पबाट महामन्त्रीमा चुनाव लड्न कुराकानी भइरहेको स्रोतको दाबी छ । गुट फेरेको घोषणा भने केसीले अझै गरेका छैनन् । केसी देउवा क्याम्पमा गए चर्चित युवा नेता गगन थापा, जगदीश्वर नरसिंह केसीलगायतले पनि गुट फेर्नेछन् । १३औं महाधिवेशनको संघारमा अन्य केही नेताले पनि गुट फेर्ने गृहकार्य थालेका छन् । खासगरी महाधिवेशनमा आफ्नो स्थिति बलियो बनाउन उनीहरूले शीर्ष नेताहरूसँग औपचारिक र अनौपचारिक कुुराकानी सुरु गरेका हुन् । १२औं महाधिवेशनका बेला देउवासँग निकट पाँच शीर्ष नेताहरू प्रकाशमान सिंह, बलबहादुर केसी, दीपकुमार उपाध्याय, नारायण खड्का र चिरञ्जीवी वाग्ले कोइराला क्याम्पमा गएका थिए । देउवा क्याम्पबाट चुनाव जितेका मीनेन्द्र रिजाल चुनावपछि कोइराला क्याम्पमा पुगेका थिए । गत महाधिवेशनमा एक पटकका लागि मात्रै सभापति हुनेभन्दै चुनाव जितेका कोइराला पुनः उम्मेदवार बन्ने योजनामा लागेपछि अब पार्टी नै समाप्त हुने भन्दै देउवातिर नेताहरू जान थालेका हुन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

