
|
|
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले २०६२ साल मंसिरमा भारतको राजधानी नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीकै कारण देश गम्भीर संकटमा परेको बताएका छन्।
पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो धारणा राखेका हुन्। थापाले भने, ’नयाँदिल्लीमा भएको १२ बुँदे समझदारी र आन्दोलन पछाडि अवलम्बन गरेको त्रुटिपूर्ण बाटोले देश गम्भीर सङ्कटमा पर्दछ भनेर उही बेला भन्दै आएको हुँ। हामीले भनेको सही प्रमाणित हुँदै आएको छ।’ थापाले घुमाउरो रुपमा राजसंस्था फाल्नु गलत रहेको आसय व्यक्त गरेका छन्।
तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र आन्दोलनरत सात राजनीतिक दलबीच निरकुंश राजतन्त्रविरुद्ध निर्णायक आन्दोलन गर्ने सम्बन्धमा भारतीय संस्थापनको पहलमा दिल्लीमा २०६२ साल मंसिर ७ मा १२ बुँदे समझदारी भएको थियो। त्यही समझदारीका आधारमा भएको संयुक्त आन्दोलनको दबाबमा २०६३ वैशाख ११ मा लोकतन्त्र पुनरस्थापना भएको थियो।
राजतन्त्र विरोधी सम्पूर्ण शक्तिहरुले निरकुंस राजतन्त्रका विरुद्ध आ–आफ्नो ठाउँबाट प्रहार केन्द्रीत गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरकुंस राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने बुँदालाई १२ बुँदेमा निकै महत्वका साथ उल्लेख गरिएको छ।
राजतन्त्र विस्थापनको आधारशिला नै दिल्लीको १२ बुँदे सम्झौता थियो र २०६३ परिवर्तनपछि निर्वाचित संविधानसभाले राजतन्त्र अन्त्यको घोषणा गरेको थियो। यसमा राप्रपा नेपाल असहमत रहँदै आएको छ। राजसंस्थाको पुनर्स्थापनाको मागलाई पनि राप्रपा नेपालले एउटा प्रमुख राजनीतिक एजेन्डाका रुपमा अघि सार्दै आएको छ। राजतन्त्रको अन्त्य गर्ने राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा हालै भएको नयाँ संविधानको विपक्षमा राप्रपा नेपालले मतदान गरेको थियो।
राप्रपा नेपाल निकट प्रजातान्त्रिक युवक सङ्गठन नेपाल कस्कीको तदर्थ समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले सरकारमा गए पनि पार्टीका एजेन्डा नफेरिएको बताए। उनले कार्यकर्तालाई पार्टी एजेन्डामा विचलित नहुन आग्रह पनि गरेका छन्।
थापाले भने‘पार्टी सरकारमा गयो भन्दैमा हामी हाम्रा एजेन्डा र सिद्धान्तबाट कति पनि विचलित भएका छैनौँ। सरकारमा रहेर जनताको विश्वास जित्ने र विश्वासका आधारमा हाम्रा एजेन्डा स्थापित गर्न अभियानमा अझै सक्रियताका साथ लाग्नुपर्दछ ।’
जनताको साथ र समर्थन हुँदाहुँदै पनि गणितीय आधारमा सम्झौताको दस्तावेजका रुपमा संविधान निर्माण आउँदा हाम्रा एजेन्डा नसमेटिएको उनको भनाइ थियो ।
उनले पार्टीका एजेन्डा स्थापित गर्नका लागि सङ्ख्या बढाउनतिर लाग्न कार्यकर्तालाई निर्देशन दिए। राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कायम गर्नका लागि राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा नेपालको उदय भएको उहाँको भनाइ थियो ।
विशिष्ट परिस्थितिमा पार्टीको जन्म भएको बताउँदै थापाले पार्टीको औचित्य र महत्व पनि बढ्दै गएको जानकारी दिए। annapurnapost.comबाट

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

