
|
|
साउदी अरब, २७ पुस । नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ ।
टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि हुनुहुन्छ । साउदी सरकारको निमन्त्रणामा टोली रियाद आएको हो ।
टोलीले साउदीको श्रम सचिवस्तरीय प्राविधिक टोलीसँग छलफल गर्ने साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो । श्रम सचिवस्तरीय वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, साधारण कामदार र घरेलु महिला कामदार लगायतका विषयमा छलफल हुने बताइएको छ । दुबै देशका प्राविधिक टोलीको छलफलपछि श्रम सम्झौताको अन्तिम खाका तयार गरिने र श्रम सम्झौताको मिति तय गरिने कार्यक्रम रहेको छ ।
नेपाली कामदारका लागि ठूलो श्रम बजारका रुपमा लिइएको साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले सम्झौता अनुसारको काम नपाउने, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, श्रम शोषण, मानसिक तथा शारीरिक यातना भोग्नुपर्नेलगायतका समस्या झेल्नु परिरहेको छ ।
त्यस्तै कामदारको मृत्यु भएको खण्डमा साउदीबाट शव फिर्ता गर्न न्यूनतम तीन महिना लाग्ने लगायतका समस्याले नेपाली कामदार मर्कामा पर्ने गरेका छन् । पछिल्लो समय नेपाली कामदारका लागि साउदी अरब आकर्षक गन्तव्य मुलुक बनेको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

