
|
|
काठमाडौं, भदौ २७ । सनातन हिन्दू धर्मावलम्बीहरूको पवित्र वनस्पति कुशलाई घरघरमा भित्र्याउने दिनका रुपमा आज आइतबार कुशे औँसी मनाइँदै छ ।
प्रत्येक वर्षको भाद्रकृष्ण औँसीका दिन पर्ने यो दिन घरघरमा कुश भित्र्याउनुका साथै आफ्ना बुबाको मुख हेर्ने र विभिन्न परिकार खुवाउने प्रचलन छ ।
‘कुश’ देवकार्य तथा पितृकार्य दुवैमा प्रयोग गरिने पवित्र वनस्पति हो । कुशलाई शालिग्राम, तुलसी तथा पिपललाई जस्तै भगवान विष्णुका रुपमा पूजा गरिन्छ ।
शास्त्रीय मान्यताअनुसार पुरोहित वा ब्राह्मणले मन्त्रोच्चारण गरी वैदिक विधिका साथ काटिएको कुश आफ्ना यजमानका घरघरमा पु¥याउने र कुश लैजाने पुरोहित वा ब्राह्मणलाई यजमानले सिदा र दक्षिणा दान गर्ने प्रचलन छ ।
कुशलाई बेरेर बनाइने विशेष प्रकारको औँठी जसलाई ‘पवित्र’ भनिने र त्यसलाई धारण नगरी गरिने कुनैपनि धार्मिक कार्यबाट फल प्राप्त नहुने विश्वास रहिआएको ज्योतिषी पं. धर्मराज चापागाईले बताए ।
बौद्ध धर्मावलम्बीसमेतले पवित्र वस्तुका रुपमा लिने कुशलाई घरमा राखे मात्रै पनि घर पवित्र हुने धार्मिक विश्वास रहेको उहाँको भनाइ छ ।
कुशे आँैसीका दिन छोराछोरीले आफ्ना बाबुलाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई खुवाएर तथा कपडा उपहार दिएर सम्मान आदरभावका साथ मुख हेर्ने चलन प्राचीन कालदेखि चलिआएको संस्कृतिविद् हरिराम जोशीले जानकारी गराउनुभयो ।
“मातृदेवो भवः, पितृदेवो भवः, आचार्यदेवो भवः र अतिथिदेवो भवः भन्दै परापूर्व कालदेखि जन्म दिने आमा, बुबा, गुरु र अतिथिलाई देवताको रुपमा मान्ने प्रचलन थियो,” उनले भने, “कुशे औँसीका दिन बाबुलाई छोराछोरीले श्रद्धापूर्वक रूचिअनुसारको खानेकुरा खुवाई आशीर्वाद लिने गरिन्छ ।”
बुबाबाट आशिर्वाद प्राप्त गरेमा सुख शान्ति मिल्ने विश्वासका आधारमा विभिन्न कारणले घरबाट टाढा रहेका छोराछोरीले समेत समय निकालेर घरमा पुगी बाबुलाई मनपर्ने खानेकुरा खुवाउने र नयाँ वस्त्र उपहार दिने गर्दछन् ।
बाबु नहुनेले भने काठमाडौँ उत्तरपूर्वमा अवस्थित गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरुको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने गर्दछन् ।
मोती जयन्ती पनि मनाइँदै
नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको जयन्ती आइतबार देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)का दिन जन्म भएकोले यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।
श्रृङ्गार रसलाई केन्ऽविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए । ३० वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी)कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

