Home » » संसदवादीले खाल्डो खनिसके, अब पुर्न मात्रै बाँकी छ – प्रकाण्ड, विप्लव माओवादी

संसदवादीले खाल्डो खनिसके, अब पुर्न मात्रै बाँकी छ – प्रकाण्ड, विप्लव माओवादी

० देशमा दिनदिनै मानिसहरुको मृत्यु भइरहेको छ, बन्द, हड्तालले जनता हैरान भएका छन्, यो अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
देशको पछिल्लो अवस्था असाध्यै संकटग्रस्त र संवेदनशील बन्दै गएको छ । जनताले आफ्नो संविधान लेखेर नयाँ राज्य व्यस्था स्थापना गरी आफ्नो अधिकार सुनिश्चित गर्ने उद्देश्यले विगतमा जनयुद्ध, जनआन्दोलन, उत्पीडित जाति र क्षेत्रका जनताले संघर्ष गरे । त्यो चाहना र सपना पूरा हुने भएन ।
बरु त्यसको खिलापमा जनविरोधी संविधान र राज्य व्यवस्था जबरजस्त थोपर्ने षड्यन्त्र विरुद्ध स्वतस्फुर्त जनताले आन्दोलन गरिरहेका छन् । सुर्खेतबाट सुरु गरेको आन्दोलन जुम्ला, कैलाली हुँदै तराईतिर केन्द्रीत भएको छ । जनताको मागलाई केही संसद्वादी नेताले सुनेका छैनन् । यसले देशलाई दुर्घटनातिर लागिरहेको छ ।
० वर्तमान अवस्थामा तपाईंको पार्टीको भूमिका पनि खासै देखिएन नि ?

जब पहिलो संविधानसभाको विघटन गरेर नाटकिय ढंगबाट षड्यन्त्रपूर्ण रुपमा दोस्रो संविधानसभाको चुनाव गरियो र जनताले प्राप्त गरेका उपलब्धिलाई खोस्ने काम भइरहेको छ । हाम्रो पार्टीले यसको सुरुवातदेखि अहिलेसम्म निरन्तर संघर्ष गरिरहेको छ । देशलाई यो अवस्थामा पु¥याउने कथित दोस्रो संविधानसभाको राजनीतिक डिजाइन हो । त्यहीअनुसार पछिल्लो पटक १६ बुँदे सहमति र जनविरोधी संविधानको मस्यौदा आएको छ । यसको मुख्य जिम्मेवार चार दलका चार नेता हुन् ।

० जनताले चार दल र राज्यको विरुद्ध विद्रोह गरिरहेका छन्, तपाईंहरुले त्यसको नेतृत्व गर्न सक्नु भएको छैन नि ?

चार नेताको जनविरोधी हर्कतविरुद्ध जनताले गरेको विद्रोहप्रति हाम्रो पार्टी सकारात्मक छ । जनताको माग जायज छ, आन्दोलन न्यायपूर्ण छ भन्ने हाम्रो बुझाई छ । जनताको मागको सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो पनि माग छ । जनताले गरेको आन्दोलनलाई सहयोग र संरक्षण गर्नुपर्छ भन्ने धारणा पार्टीले आमरुपमा सार्वजनिक गरेको नै छ ।

जनताको यो विद्रोहले हाम्रो पार्टीको विश्लेषण सही सावित गरिदिएको छ । कथित दोस्रो संविधानसभा जनताको संविधान लेख्ने संविधानसभा होइन र यसले जनताको बलिदानीबाट प्राप्त उपलब्धि खोस्नेछ भन्ने कुरा सत्यसावित भएको छ । यो संविधानसभाले संविधान होइन, ठूलो संकट निम्त्याउनेछ हामीले भनेका थियौं त्यो अहिले त्यही साबित भइरहेको छ ।

० भन्नाले संविधानसभा सबै कोणबाट बहिस्कारमा परेको हो त ?

सही कुरो गर्नुभयो । जनताले जनविरोधी संविधानसभाको बहिस्कार गरेका छन् । उत्पीडित जाति, क्षेत्र र वर्गको प्रतिधित्व गर्ने दल तथा सभासद्हरुले बहिस्कार गरेर सडकमा आइसकेका छन् । अब तीन दलका केही दलालहरुको मात्र संविधानसभाको रुपमा रह्यो । तीन दलका तीन नेताले जनविरोधी हर्कत रोकेर जनताका मागको सम्बोधन गरेनन् भने माओवादी हेरेर बस्ने छैन । हामी देश र जनता बर्बादीमा परेको हेर्न सक्दैनौँ र आन्दोलनलाई अगाडि बढाउँछौँ । जनविरोधी संविधान विरुद्धको संघर्ष होस् या त राष्ट्रियताको आन्दोलन अगाडि बढाउने हाम्रो पार्टी त हो नि ।

० संविधानसभाभित्र र सडकमा भएका माओवादीले आन्दोलनलाई समग्र रुप दिन नसकेकैले अहिले जातीय र क्षेत्रीय रुपमा आन्दोलन देखा परेको छ । तपाईंहरुले उठाएका राजनीतिक मुद्दाको व्यवस्थापन गर्न कही न कही चुक्नु भएको त हो नि ?

हामी चुकेको छैनौँ । कथित संविधासभाभित्र रहेको माओवादीको कुरा छोडौँ । उ त जनविरोधी संविधान र प्रतिक्रान्तिको मतियार जस्तै भएको छ । जनविरोधी संविधानको मस्यौदाविरुद्ध जनताको आन्दोलनमा दिनदिनै आन्दोलनकारी र सुरक्षाकर्मीको मृत्यु भएको रहेको छ । सयौँको संख्यामा घाइते भइरहेका छन् । यसमा तीन दलका नेताहरु जिम्मेवार छन् । विगतका आन्दोलनमा जनताको विरुद्ध काँग्रेस र एमालेले हत्या आतंक मच्चाउन सुरक्षाकर्मीलाई परिचालन गर्थे ।

यो पछिल्लो हत्या, आतंक मच्चाउने खेलमा एमाओवादी पनि सहभागी भयो । त्यसको कुरा छोडौँ । जहाँसम्म हाम्रो पार्टीको कुरा हो । अहिलेको जनताको आन्दोलन अधिकार प्राप्तिको लागि स्वतस्फुर्त रुपमा भइरहेको छ । जनयुद्धका बाँकी कार्यभारलाई पूरा गर्न समग्र आन्दोलनलाई अगाडि बढाउन हाम्रो पार्टी लागिरहेको छ ।

० संविधानसभाले त यस्तो समस्या निम्त्यायो भने तपाईंहरुले भन्दै आएको सर्वपक्षीय राजनीतिक सभाले कसरी निकास दिन सक्छ ?
जनताको आन्दोलनलाई सम्बोधन गरी देशलाई निकास दिने हो भने यो संविधानसभाको विघटन र अधिकार सम्पन्न राजनीतिक सभाको गठन गरिनुपर्छ । यो संविधान सभाले त संविधानसभाको चुनावमा भाग लिएका र अहिले त्यहाँभित्र रहेको राजनीति पार्टीका विचार र अधिकारलाई सम्बोधन गर्न सकेन । त्यसैको परिणाम हो, एकपछि अर्काे कथित संविधानसभाबाट राजनीतिक पार्टी वा शक्तिको बर्हिगमन । कथित संविधानसभा केही दलालहरुको सत्ता मोहलाई पूरा गर्ने थलोको रुप भएपछि यसको विघटनको विकल्प छैन ।
० सबै पक्षको सहभागितामा राज्यको पुनर्संरचना गर्ने कुनै निकाय नरहेपछि सर्वपक्षीय राजनीतिक सभाको महत्व त झन् बढेर आएको छ । तर, अहिले जसरी सडकमा नारा लागेका छन्, त्यसलाई हेर्दा भन्न सजिलो भए पनि एकै ठाउँमा बसेर सबैका माग पूरा गर्न त गाह्रो होला नि ?

राष्ट्रिय राजनीतिक सभाले जनता र सुरक्षाकर्मीबीच झडपको अवस्थालाई नियन्त्रण गर्छ । अखण्ड र खण्डलगायत साम्प्रदायिक दंगा जनताले भड्काएको होइन । यो त चार दलका नेताले आफ्नो सत्ता स्वार्थ पूरा गर्न गरेका हुन । अखण्ड सुदूरपश्चिम जनतालाई चाहिएको होइन । यो त शेरबहादुर देउवा, भीम रावलहरुलाई चाहिएको हो । जनताको आवरण लिइएको मात्र हो । त्यसैगरी झापा र मोरङ ओली र सिटौलाजीलाई चाहिएको हो ।

एकात्मक, केन्द्रीकृत सामन्ती राज्य व्यवस्थाले निर्देशित गरेको राज्य संरचनाको रुपान्तरण र परिवर्तन गर्नुपर्छ भन्ने कुरा त जनयुद्धले स्थापित गरेको मान्यता हो । पहिलो कुरा सुगौली सन्धीदेखि यता नेपाल जसरी पराधिन बनाइयो, यसबाट मुक्त गर्नुपर्छ भन्ने हो र दोस्रो, नेपाली जनताको जनवादी अधिकार सुनिश्चित गर्नुपर्छ । आन्तरिक राष्ट्रियतालाई बलियो बनाउन जनताको जनवादको सुनिश्चितता हुनुपर्छ, क्षेत्रीय रुपमा देखा परेको राष्ट्रियतालाई स्वयत्तताको अधिकार दिनुपर्छ भन्ने कुरा माओवादीले जनयुद्धमा भनेको हो । यो अधिकार चार दलका नेताले दिनुपर्दैन ? यो अधिकार दिएको भए त जनता सडकमा आउने नै थिएनन् । मुठ्ठिभर दलालहरुको राज्यसत्ता बनाउने माओवादीले भनेको होइन । राज्यसत्ता उत्पीडित जाति र क्षेत्रका जनताको हुने भनेर जनयुद्ध र जनआन्दोलन भएको थियो, त्यो भएन । नेपाली जनताले चाहेको जनवादी राज्य सत्ता हो । संविधानमार्फत् जनवादी राज्य सत्तालाई सुनिश्चित नगर्दा समस्या आएको हो । यो मस्यौदाअनुसार नेपालको राज्यसत्ता त जनताको नभएर केही दलालहरुको मात्र हुँदैछ ।
हिजो एकजनाको मुठ्ठीमा राज्य सत्ता थियो र अहिले तीनजनाको बनाउन खोज्दा जनताले विद्रोह गर्नुपरेको हो । यो कुरा तीनजना मान्छे महसुस नगर्दासम्म समस्या समाधान हुँदैन ।

० राज्यसत्ता तपाईंहरुको नियन्त्रणमा छैन, अहिलेकै अवस्थामा नेपालमा आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेश बनाउँदा भोलि समस्या आउँदैन भनेर कसरी ग्यारेण्टी गर्न सकिन्छ ?

विगतको राज्यसत्ता परिवर्तन गर्ने र जनताको राज्यसत्ता स्थापना गर्ने सहमतिपछि हामीले संसद्वादीसँग सहकार्य गरेको हौँ । समस्या आउन सक्छन्, समस्याको समाधान गर्ने त राज्य सञ्चालकहरुको हो नि । जनतालाई अधिकार नदिँदा समस्या आउँदैन भन्ने पनि छैन । आन्तरिक राष्ट्रियता बलियो बनाइयो र जनतालाई अधिकार दिएमा समस्या आउँदैन । आउने समस्यालाई राजनीतिक पार्टीले समाधान गर्नुपर्छ ।
० तपाईंको पार्टी पहिचानको विरुद्धमा छ भनिँदै छ, यसमा पार्टीको धारणा के छ ?

यो आरोप हामीलाई अलि पहिलैबाटै लगाएको आरोप हो । किरणजीसँगको संघर्षको बेलामा पनि हामीलाई यो आरोप लगाइएको थियो र अहिले पनि छ । यो आरोप षड्यन्त्रपूर्ण र पूर्वाग्रही छ, यसमा सत्यता छैन । नेपालको राज्य उत्पीडित वर्गको हुनुपर्छ । उत्पीडित वर्गको नेतृत्व भएको राज्यसत्तामा आन्तरिक राष्ट्रियताको सुनिश्चितता र सामाजिक उत्पीडनको अन्त्य हुुनुपर्छ । त्यसको लागि मजदुर, किसान, राष्ट्रिय उद्योगपति व्यवसायीको वर्गीय दृष्टिले राज्यसत्ता हुनुपर्छ ।

त्यो सत्ताअन्तर्गत आन्तरिक उत्पीडनमा परेको राष्ट्रियताको स्वाधीनताको लागि र क्षेत्रीय रुपमा उत्पीडनमा परेको जनताको लागि स्वायत्तताको सुनिश्चितता हुनुपर्छ, महिला र दलितको लागि विशेष अधिकारको सुनिश्चितता हुनुपर्छ । सबै उत्पीडनमा परेको जनतालाई उत्पीडनबाट मुक्त गर्नुपर्छ भन्ने हाम्रो पार्टीको स्पष्ट धारणा हो ।

० तपाईंको पार्टीभित्र पनि विवाद छ भन्ने कुरा प्रचारमा आइरहेको छ खास के हो ?

केही संचारमाध्यममा हाम्रो पार्टीबारे हास्यास्पद समाचार आएका छन् । अहिले हाम्रो पार्टी राष्ट्रिय राजनीतिमा विचार, राजनीतिक, संघर्ष, क्रान्तिकारी पार्टी निर्माण र एकता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका मुद्दा उठाउने सबै दृष्टिले एकपछि अर्काे शक्तिशाली र एकताबद्ध भएर आएको छ । मुक्ति र स्वाधीनता चाहने आमजनताको आशा र भरोसाको केन्द्र बनेको छ । यसबाट जलेका साम्राज्यवादी विस्तारवादी र उनका नेपाली दलालहरु र माओवादी आन्दोलनबाट पलायन भएको तत्वहरुले हाम्रो पार्टी विरुद्ध गरेको षड्यन्त्रबाहेक अरु केही होइन । हाम्रो पार्टीको पहलकद्मी र जनतामा बढ्दै गएको लोकप्रियातालाई देखेर डराएको प्रतिक्रयावादी दलालहरुले गरेको प्रचार मात्र हो । यसको पछि नलाग्न सम्पूर्ण न्यायप्रेमी जनता र कार्यकतालाई आग्रह गर्दछौँ ।

० तपाईंहरुले जति विरोध गरे पनि यही संविधानसभाबाट संविधान त आउने नै भयो । अब के गर्नुहुन्छ ?

यो संविधानसभाले जनताको संविधान दिँदैन भन्दै आएको कुरा अहिले आएर पुष्टि हुँदैछ । अहिले जनविरोधी संविधान ल्याउने कसरत भइरहेको छ । संसदवादीहरुले आफ्नो खाडल आफैँ खन्दैछन् । अब जनताले पुर्न मात्र बाँकी छ । जनताले जनयुद्ध, जनआन्दोलन र विभिन्न समयमा गरेको विद्रोहको मर्म र भावनाअनुसार माओवादीको नेतृत्वमा संविधान जारी गर्नुपर्छ भन्ने माग जनताले गरेका छन् ।

डबलीन्यूजबाट साभार गरिएको

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}