
|
|
सुदिप पौडेल, मिडिया एनपी, काठडमाडौं, ५ असोज । नेपालमा अहिले सार्वभौमसत्ता सम्पन्न अर्थात जनप्रतिनिधि संस्था संविधानसभाले अत्याधिक बहुमतबाट पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लागू भएको छ ।
संविधान जारी भएसँगै विभिन्न अन्तर्राष्ट्रिय समुदायले यसको स्वागत र सफल कार्यान्वयनको शुभ कामना व्यक्त गरिरहेका छन् । उत्तरी छिमेकी चीनले पनि स्वागत र शुभ कामना दिइसकेका बेला दक्षिणी छिमेकी भारत अलि चिढिएको देखिएको छ । संविधान जारी भएको घोषणासँगै भारतले जारी गरेको विज्ञप्ति र भोलिपल्ट फेरि जारी गरेको अर्काे विज्ञप्तिले भारत चिढिएको झल्को प्रशस्तै दिएको छ ।
खुला सीमाना भएका कारण नेपालको समथर भूमि तराई मधेशमा भइरहेका आन्दोलनले भारतलाई केही असर गर्ने कुरा स्वभाविक हुन सक्छ । तर, सार्वभौम राष्ट्र नेपालप्रति भारतले निर्वाह गर्नुपर्ने कूटनीतिक प्रयास भने निकै फितलो देखियो । उसले सुरक्षाको कारण देखाउँदै सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाएको छ । भने भन्सार क्षेत्रमा पनि नेपाल भित्रिने गाडी रोकेको छ । जसको संकेत हो नेपालको पछिल्लो राजनीतिक गतिविधि प्रति असहमति र नेपालप्रतिको हेपाहा प्रवृत्ति ।
नेपाली एक राष्ट्रिय टेलिभिजनका संवाददाताले वीरगञ्जस्थित भन्सार क्षेत्रबाट सवारी साधनका चालक र मजदुरसँगको प्रत्यक्ष अन्तर्वार्ताका क्रममा उनीहरुले नेपालको मधेश तराईमा उठेको माग पूरा नभएसम्म सवारी साधन नछोड्ने भारतीय अधिकारीले बताएको जानकारी गराएका छन् । यदी यो सत्य हो भने तराईमा भइरहेको हिंसात्मक घटनामा भारतीयहरुको सहभागिता रहेको भन्ने अपुष्ट हल्लालाई पुष्टि नगर्ला ? पेट्रोलियम पदार्थ आपूर्ति रोकेर नेपालप्रति भारतले असल छिमेकीको भूमिका निर्वाह गर्न मात्रै सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी राष्ट्रसँगको असल सम्बन्ध कायम गर्दै अन्तर्राष्ट्रिय नेताको छवि बनाउने उद्देश्य तुहिएको छ ।
जनताका प्रतिनिधिले भारी मतबाट जारी गरिएको संविधानप्रति असमत हुनु भारतका लागि पनि हितकारी हुन सक्दैन । तत्कालिन राजा वीरेन्द्रले ‘नेपाललाई शान्ति क्षेत्र घोषित गरियोस्’ भनि राखेको प्रस्तावमा असहमति जनाउँदा भारतको कडा आलोचना भएको थियो भने अहिले सार्वभौम सम्पन्न संस्था संविधानसभाबाट अत्याधिक बहुमतले जारी गरेको संविधानप्रति असहमति जनाउनु स्वयम् भारतका लागि पनि अहित छ । आफूलाई ठूलो लोकतन्त्र र प्रजातन्त्रवादी ठान्ने भारतको उक्त व्यवहारले उसको वास्तविक नेपालप्रतिको धारणा सार्वजनिक भएको छ । साथै उसको संयुक्त राष्ट्रसंघको स्थायी सदस्यप्रतिको दावीमा असर पर्ने देखिन्छ ।
लोकतान्त्रिक विधिलाई आत्मसाथ गर्दै नेपालमा संविधानसभाबाट जारी भएको संविधानलाई अस्वीकार गर्ने र त्यसपछि देखाएको भारतीय व्यवहारको सामाजिक सञ्जालमा विश्वभरबाटै कडा आलोचना भइरहेको छ । भारतको उक्त व्यवहार विरुद्ध कडा आलोचना गर्दै सामाजिक सञ्जाल ट्विटरमा ‘वल्र्डवाइड ट्रेन्ड’ नै चलेको थियो ।
यसर्थ नेपालको तराईमा भइरहेका आन्दोलनले भारतलाई पर्ने असर र नेपालले गर्नुपर्ने सुरक्षाको व्यवस्था कूटनीतिक पहलबाट समाधान खोज्नु उचित हुनेछ । नेपाललाई नाकाबन्दी गर्ने अघोषित रणनीति स्वयम् भारतका लागि अहित हुनेछ । दुई देशबीचको सम्बन्ध अन्य अन्तर्राष्ट्रिय समुदायहरुमा बहसको विषय बन्नु अघि नेपाल र भारतले कूटनीतिक पहलबाट निकास खोज्नु उपयुक्त हुनेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

