
|
|
काठमाडौं, ५ असोज । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नाकाबन्दी गर्दा नेपालले आत्तिनु अवस्था नरहेको बताउनुभएको छ ।
एमाओवादी नेता गोपाल किरातीको पुस्तक ‘प्रचण्डपथको विजय’ सार्वजनिक गर्नुहुँदै उहाँले भन्नुभयो -‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भने हामी आत्तिनु पर्दैन त्यो उनीहरुकै टाउको दुखाईको विषय हो ।’
नाकाबन्दी भएपछि सबै नेपाली एकजुट भएर सामाना गर्ने तर, स्वाभिमान नझुक्ने उहाँको कडा अडान छ । भारतसँग कुनै पनि द्वन्द्व, असमझदारी र झगडा गर्न आफूहरुले नचाहेको भन्दै प्रचण्डले भन्नुभयो–‘हाम्रो स्वाभिमान र आत्मसम्मानमा प्रहार हुन्छ भने त्यसको प्रतिवाद गर्न तयार छौं ।’
सुगौली सन्धिदेखि नेपालको शिर निहुरिएको भन्दै नेपालले नैसर्गिक अधिकार प्रयोग गर्दा भारतीय जनताले समर्थन जनाउनुपर्ने बताउनुभयो । ‘यदि नाकाबन्दी गरे हामी गाडी छाडेर साइकल चढ्छौं ।’ उहाँले भन्नुभयो ।
‘थारु समुदायको माग सम्बोधन गरिन्छ’
यस्तै, प्रचण्डले आदिवासी थारु समुदायले उठाएको राजनीतिक मागलाई सम्बोधन गर्न आफू प्रयत्नशील रहेको बताउनुभएको छ ।
थारु सभासद् एवम् थारु नेताहरुसँग आज बिहान लाजिम्पाटमा भएको छलफलमा अध्यक्ष दाहालले प्रधानमन्त्री सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर समस्याको समाधान गरिने वचन दिनुभएको थियो ।
छलफलमा सहभागी सभासद् सन्तकुमार थारुले आफूहरुले प्रधानमन्त्री कोइराला संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन जानुअगावै समस्याको समाधान गर्न अध्यक्ष दाहाललाई आग्रह गरेको जानकारी दिनुभयो ।
अध्यक्ष दाहालले आज साँझसम्म थारु सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।
नयाँ संविधान जारी भइसकेको अवस्थामा कुनै न कुनै माध्यमबाट राजनीतिक समस्याको हल गरिने अध्यक्ष दाहालको भनाइ थियो । “अध्यक्ष दाहालले कुनै न कुनै रुपमा थारु समुदायले उठाएका मागलाई सम्बोधन गर्ने वचन दिनुभएको छ,” सभासद् थारुले भन्नुभयो – “वार्ताको सहज वातावरण बनेको खण्डमा हामीहरु पनि समस्याको समाधान गर्न आतुर छौँ ।” रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

