
|
|
केशव विश्वकर्मा, मुस्ताङ २०७२ भदौ २६ । चीन सरकारव्दारा उपल्लो मुस्ताङको लोमान्थाङमा निर्मित ७० किलोवाटको सौर्य उर्जा स्टेसन एक कार्यक्रमका बिच शुक्रबार नेपाललाई हस्तान्तरण गरेको छ ।
डिपुटी डाइरेक्टर माक्विङसेङ, विदेश मन्त्रालयका जोयन्ट सेक्रेटरी पुरुषोत्तम ढुङगेल, झविन्द्र प्रसाद अर्याल र पुर्णचन्द्र भट्टराई, चीनको तर्फबाट चीनीयाँ राजदुतावासका डिपुटी चिफ चेन्ज जी, ढोङवासेनका डिपुटि चिफ निमा डुओ जी लगायत ९ जनाको टिम र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बराल तथा स्थानिय विकास अधिकारी बलदेव प्रसाद जोशी लगायतको उपस्थितिमा उक्त स्टेसन नेपाललाई हस्तान्त्रण गरिएको हो ।
समुन्द्री सतहबाट करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको उक्त सोलार पावर स्टेसन स्थापना गर्न चीनको स्वशासित क्षेत्र तिब्बतको सिमावर्ति जिल्ला ढोङवासेनका पदाधिकारी र जिल्ला विकास समिति मुस्ताङ बीच गत फागुनमा सम्झौता भएको थियो । आयोजना सम्पन्न गर्न करिब १ करोड रुपैयाँ खर्च भएको र चीनले आफ्नै प्राविधिक र प्रविधि ल्याएर प्लान्ट जडान गरेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिए ।
सम्झौता अनुसार आयोजना एक वर्षभित्र सम्पन्न गरी जिविसलाई हस्तान्तरण गर्ने भनिए पनि ७ महिनामै पूरा गरी चीनले स्टेसन नेपालाई हस्तान्त्रण गरेको स्थानिय विकास अधिकारी बलदेव प्रसाद जोशीले बताए । चीनले स्वदेशी कम्पनी किन्सेङ न्यु इनर्जी टेक्नोलोजीलाई स्टेसन बनाउने जिम्मा दिएको थियो ।
चीनले यसको क्षमता बढाएर १ सय किलोवाट पुर्याउने गरी सहयोग सम्झौता गरेको छ। क्षमता बढाएर उत्पादन थपिए यस आसपासका गाउँमा विद्युत विस्तार गर्न सकिने स्थानिय विकास अधिकारी जोशीले जानकारी दिए। उपल्लो मुस्ताङ क्षेत्रका लोमान्थाङ, छोन्हुप, छोसेर र सुर्खाङ गरी ४ गाविसमा करिब १२ सय घरधुरी मध्ये करिब ४ सयले मात्र अहिलेसम्म सोलार र लघुजलविद्युत आयोजनामार्फत उत्पादित बिजुली उपभोग गरिरहेको बताईएको छ ।
उपल्लो मुस्ताङ क्षेत्रमा २९, १५ र २५ किलोवाट क्षमताका तीनवटा लघुजलविद्युत आयोजना छन्। ती आयोजनाबाट उत्पादित बिजुलीले सबै ठाउँमा विद्युतीकरण गर्न नपुगेको र ऊर्जा खपत गरेबापत स्थानीयले तिर्ने शुल्क प्लान्ट मर्मतसम्भार र रेखदेखमा खर्चने गरी योजना बनाएको जिविसका योजना अधिकृत जीवन ज्ञवालीले बताए ।
चीनको सहयोगले नभ्याएका घरमा एसियाली विकास बैंकको सहयोगमा विद्युतीकरण गर्ने योजना रहेको जोशीको भनाइ छ । एडिबिले इनर्जी फर अल भनेर यो वर्ष उपल्लो मुस्ताङ क्षेत्रका विद्युतीकरण नभएका घरको तथ्यांक संकलन गरिरहेको बताईएको छ ।
उपल्लो भेगका बासिन्दालाई लक्षित गरी चीन सरकारले लोमान्थाङ गाविसमा ७० किलोवाट क्षमताकोे सौर्य ऊर्जा स्टेसन बनाइदिए पछि उक्त क्षेत्रका स्थानियले २४ सै घण्टा विद्युत उपभोग गर्न थालेका छन् ।
३० वटा सोलार प्यानलबाट उत्पादित उक्त विद्युत लोमान्थाङ गाविसका २२१ घरमा २४ सै घन्टा आपूर्ति भएकाले यहाँका १४०० भन्दा बढि स्थानिय लाभांवित भएका छन् । यहाँका बासिन्दाले विद्युतबाट संचालन हुने विद्युतिय उपकरणहरु प्रयोग गर्न थालेको र सबै घरमा बिजुली भएपछि यहाँ आउने पर्यटकलाई पनि सुविधा पुग्ने लोमान्थाङ गाविसका सचिव घ्यूर्मि आङ्ग्याल विष्टले बताए ।
यहाँका स्थानियले यसअघि पूर्ण रुपमा बिजुली उपभोग गर्न पाएका थिएनन्। करिब एक दशक अघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप ) द्धारा निर्मित २९ किलोवाट क्षमताको लघुजलविद्युत आयोजनाको उत्पादन गाउँमा वितरण भइरहेको भएपनि स्थानियको माग अनुसार पर्याप्त विद्युत उपलब्ध थिएन । उत्पादन कम हुँदा बेलुकी ७ देखि ११ बजेसम्म मात्र गाउँलेले ऊर्जा उपभोग गर्न पाउँथे। सौर्य प्लान्टबाट ७० किलोवाट थपिएपछि सबै घरमा २४ सै घन्टा सुविधा पुगेको एक्याप लोमान्थाङ प्रमुख सन्तोष शेरचनले बताए ।
लोमान्थाङ पर्यटकीय क्षेत्र भएकोले पनि सोलार पावरले राहत मिलेकाले स्थानियवासी हर्षित भएका छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

