
|
|
पर्वत–राज्यले सम्मान गरेका ब्यक्तिलाई प्रहरीले थुनामा राखेको भन्दै देउपुरका स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन्।
झण्डै पाँच सयको संख्यामा आएका उनीहरुले थुनामा राखिएकालाई छाड्न माग गर्दै जिप्रका घेरेका हुन्। प्रहरीले तास खेलेको अभियोगमा देउपुरक्षेत्रका २३ जनालाई पक्राउ गरी जुवा मुद्दा चलाएको छ।
देउपुर–९ स्थित जितबहादुर हलको घरमा छापा मार्दा बिहीबार उनीहरु पक्राउ परेका थिए। पक्राउ पर्नेमा पक्राउ परेका उनीहरुलाई शुक्रबार प्रहरीले मुद्दा दर्ता गरेको हो। बिहीबार दिउसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको टोलीले उनीहरुलाई तास खेल्दाखेल्दै पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये १० जना जेष्ठ नागरिक छन्। प्रहरीले ठुलालाई छाड्ने र पहुँच नभएका सर्बसाधारणलाई थुन्ने काम गरेको भन्दै देउपुरबासी प्रहरी घेराउ गर्न कुश्मा आएका हुन्।
‘एक साताअघि मात्रै नेताका आफन्तलाई पक्राउ गरेर पनि कारबाही नै नगरी छाडिएको छ, तर पहुच नभएका जेष्ठ नागरिकलाई हप्तादिनसम्म थुन्दा पनि नछाड्नु कहासम्मको विभेद हो,’ देउपुरका रामचन्द्र तिमल्सिनाले भने । उनले बुधबार दिउसो ४ बजेसम्म थुनामा रहेकालाई रिहा नगरे जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिए।
‘बुधबार छाडिएन भने पातिचौर र डिमुवा क्षेत्रमा हामीले प्रहरीलाई सहयोग गरेका सिसिटिभी क्यामेरा निकाल्छौ,’ सामुदायिक सेवा समाज देउपुरका अध्यक्ष समेत रहेका तिमल्सिनाले भने,’अब प्रहरीसँगका सबै सहकार्य बन्द हुन्छ ।’ देउपुरकै स्थानीय विज्ञान हमालले कानुनमा तास खेल्नु अपराध भएपनि ठुला र साना सबैलाई समान ब्यवहार गर्नुपर्ने बताए।
प्रहरीले देउपुर–९ का ७० वर्षीय टोपबहादुर हमाल, ७० वर्षीय जितबहादुर हमाल, ७५ वर्षीय जितबहादुर क्षेत्री, ३६ वर्षीय जोतीनन्द हमाल, ३४ वर्षीय नौबहादुर पुन, ४९ वर्षीय शुक्रबहादुर हमाल, ६० वर्षीय प्रेम पुन, ५६ वर्षीय मनबहादुर पुन, ३२ वर्षीय हरिचन्द्र शर्मा, ६० वर्षीय रुपबहादुर परियार, ४० वर्षीय प्रेमबहादुर पुन, ४४ वर्षीय ओम पुन, ४८ वर्षीय प्रेमबहादुर क्षेत्रीलाई पक्राउ गरेको थियो।
त्यसैगरी पक्राउ पर्ने अन्यमा ५५ वर्षीय मनप्रसाद पुन, २५ वर्षीय गौप्रसाद पुन, ६० वर्षीय पुर्णबहादुर हमाल, ६२ वर्षीय जयनारायण राजबंशी, ६२ वर्षीय जसबहादुर बिक, ६४ वर्षीय धनबहादुर हमाल, ७५ वर्षीय प्रसाद पुन, क्याङ–६ का ३१ वर्षीय टेकबहादुर पुन, देउराली–६ का ५५ वर्षीय रामबहादुर पुन, क्याङ–५ का ५९ वर्षीय अंगबहादुर तिलिजा पुन छन्।
प्रहरीले छापा मार्ने क्रममा एक झोला तास र २६ हजार छ सय ८६ रुपैयाँ समेत बरामद गरेको जनाएको छ। जुवा खेल्ने, खेलाउने र हेर्ने समेतलाई पक्राउ गरी जुवा मुद्दा चलाएको प्रहरी निरीक्षक ओमप्रकाश चौधरीले बताए । चौधरीले रिहा गर्ने बिषय अब अदालतको हातमा रहेको जानकारी दिए। ‘मुद्दा अदालतमा गइसकेको छ, रिहा गर्ने कुरा हदालतको हातमा छ,’ चौधरीले भने ।
साभार–नागरिक

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

