Home » » संविधानमा उल्लासमय मतदान

संविधानमा उल्लासमय मतदान

काठमाडौं- संविधानसभाका ९१ प्रतिशत सभासदको उत्साहपूर्ण उपस्थितिमा नेपालको संविधानको परिमार्जित विधेयक पारित प्रक्रिया सुरु भएको छ। संविधानसभाको आइतबार बसेको बैठकले संविधानका तीनवटा धारा ध्वनिमतले पारित गरेको छ।

ध्वनिमतको परिणाम कसैलाई चित्त नबुझे उपस्थित संख्याको १० प्रतिशत सभासदले मत विभाजन माग्नुपर्ने नियमावलीमा व्यवस्था छ। तर प्रमुख दलका नेता संविधानका धारा पारित गर्न एकबद्ध भएपछि मतविभाजनमा जानुपर्ने अवस्था नदेखिएको संविधानसभा सचिवालयले जनाएको छ।

संविधान निर्माण प्रक्रिया बहिष्कार गरेको राप्रपा नेपाल पनि फर्किएपछि आइतबार संविधानसभा बैठकमा ९१ प्रतिशत सभासदको उपस्थिति थियो। संविधानसभाका ५ सय ९८ सभासदमध्ये मधेसकेन्द्रित दलका ५७ सभासदले प्रक्रिया बहिष्कार गरेका थिए।

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), संघीय समाजवादी फोरम नेपाल, तमलोपा, तमसपा, रामसपा, फोरम (गणत्रान्त्रिक) लगायत दलका सभासद बैठकमा अनुपस्थित थिए। तीबाहेक सबैजसो दलका सभासदको उपस्थिति थियो।

कांग्रेस, एमाले, एमाओवादी, नेकपा मालेलगायत दलका सभासदले आफ्नो प्रस्ताव फिर्ता लिएपछि पारित प्रक्रिया सरल बनेको थियो। आइतबारकै बैठकले संविधानका तीनवटा धारा पारित गरेपछि बाँकी धारा सोमबारदेखि पारित गरिनेछ।

'सोमबार र मंगलबार संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेर पनि बाँकी सबै धारा पारित गर्ने आन्तरिक तयारी छ,' संविधानसभा सचिवालय स्रोतले नागरिकसँग भन्यो, 'त्यसपछि सिंगो संविधानको विधेयकमा मतविभाजन हुनेछ।'

संविधानसभाको आइतबार बेलुका बसेको बैठकले संशोधन प्रस्ताव निर्णयार्थ पेस गर्दै संविधानका धारा पारित प्रक्रिया अघि बढाएको थियो। संविधानको धारा १ र २ मा कुनै पनि संशोधनका प्रस्ताव दर्ता भएका थिएनन्। ती धारा संविधानसभामा उपस्थित सदस्यले सर्वसम्मतिले पारित गरेका थिए।

'धारा १ र २ सर्वसम्मतिले पारित भएको घोषणा गर्छु,' संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले च्याम्बरबाट घोषणा गर्दा उपस्थित सभासदले धेरैबेर गडगडाहट ताली बजाएर खुसी प्रकट गरेका थिए।

'धारा १ र २ नेपालको संविधानको परिमार्जित विधेयकको अंग बनेको घोषणा गर्छु,' नेम्वाङले यसो भन्दै संविधान पारित प्रक्रिया अघि बढाए।

संविधानको धारा ३ मा ५ वटा संशोधन परेका थिए। त्यसमध्ये नेकपा मालेका सिपी मैनालीले संशोधन प्रस्ताव फिर्ता लिए। खम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, दलित जनजाति पार्टी नेपालका विश्वेन्द्र पासवान र नेमकिपाकी अनुराधा थापामगरले संशोधन प्रस्ताव फिर्ता नलिएपछि बहुमतले अस्वीकृत गरेको थियो।

कांग्रेस, एमाले र एमाओवादीका प्रमुख सचेतकहरू चिनकाजी श्रेष्ठ, अग्नि खरेल र गिरिराजमणि पोखरेलले राखेको प्रस्ताव निर्णयार्थ पेस गर्दा पक्षमा बहुमत देखिएको थियो। उनीहरूले राखेको संशोधन प्रस्तावमा राप्रपा नेपाल, नेमकिपा र खम्बुवान राष्ट्रिय मोर्चाबाहेक सबै दलका सभासद पक्षमा उभिएका थिए। संशोधन प्रस्ताव निर्णयार्थ पेस गरेपछि 'हुन्छ' भन्नेको बहुमत देखिएको घोषणा सभाध्यक्ष नेम्वाङले गरेका थिए।

संविधानका धारा पारित गर्न संविधानसभामा कायम सदस्य संख्याको कम्तीमा दुई तिहाइ उपस्थित बैठकको दुई तिहाइले पारित गर्ने नियमावलीमा व्यवस्था छ। 'संविधानका धारा–धारा पारित गर्दै सँगै रहेका संशोधन प्रस्तावलाई पनि निर्णयार्थ पेस गरिएको छ,' सभाध्यक्ष नेम्वाङले आइतबार राति नागरिकसँग भने, 'प्रस्तावना अन्तिममा पारित गरिनेछ। त्यसपछि सिंगै विधेयकमा विभाजन नै हुन्छ। आज (आइतबार) को बैठकले संविधानका तीनवटा धारा पारित गरिसक्यो।'

नेम्वाङले ऐतिहासिक र भव्यतापूर्वक संविधान पारित प्रक्रिया सुरु भएको प्रतिक्रिया दिएका छन्। 'प्रक्रिया ऐतिहासिक, सफलतापूर्वक र भव्यतापूर्वक सुरुआत भयो,' नेम्वाङले भने, 'राप्रपा नेपाल पनि सहभागी भयो। अन्य थुप्रै संशेाधनकर्ता दल र सभासदले फिर्ता लिए। दलहरूले फेरि एकपटक अप्ठेरो परेका बेला एकजुट हुन्छन् भन्ने सन्देश दिएका छन्।'

धेरैजसो संशोधन फिर्ता

संविधानको परिमार्जित विधेयकमाथि परेका संशोधन प्रस्तावमा कांग्रेस, एमाले, एमाओवादी, नेकपा मालेसहित साना दलले दर्ता गराएका प्रस्ताव फिर्ता लिएका छन्। संविधानका धारा पारित प्रक्रिया सुरु हुनुअघि संविधानसभा अध्यक्ष नेम्वाङसमक्ष निवेदन दर्ता गराउँदै उनीहरूले फिर्ता लिएको जानकारी गराएका थिए।

'संशोधनकर्ता सदस्यले निवेदन दिएर प्रस्ताव फिर्ता लिएका हुन्,' संविधानसभा सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले नागरिकसँग भने, 'प्रमुख दलसहित साना दलका पनि केही सभासदले संशोधन प्रस्ताव फिर्ता लिएका छन्।'

एमाओवादीका सबै सभासदले छुट्टाछुट्टै प्रस्ताव फिर्ता लिने घोषणा गरेपछि अन्य दलका सभासदले पनि संशोधन फिर्ता लिएका थिए। 'एमाओवादीका सभासदले छुट्टाछुट्टै र समूहगत रूपमा दर्ता गराएका सबै संशोधन प्रस्ताव फिर्ता भएका छन्,' प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, 'यसले गर्दा अन्यलाई पनि सहज भयो।'

कांग्रेसका डा. शेखर कोइराला, अर्जुननरसिंह केसी र नागेन्द्र कुमालले पनि तीन दलका शीर्ष नेताले गरेको सम्बोधनमा आफ्ना कतिपय माग पूरा हुने संकेत देखिएको भन्दै फिर्ता लिने जानकारी गराएका थिए। नेकपा मालेका सिपी मैनालीसहित पाँचैजना सभासदले संशोधन प्रस्ताव फिर्ता लिएका छन् भने नेकपा संयुक्त, स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले पनि फिर्ता लिइसकेका छन्। केही साना दलका सभासदले सोमबार फिर्ता लिने आश्वासन दिएका छन्।

असोजको १ गते जारी!

संविधानका धारा पारित गरी नयाँ संविधान असोज पहिलो साता जारी गर्ने तयारी गरिएको छ। असोजको १ या २ गते नै संविधान जारी गर्ने तयारी रहेको स्रोतले जनाएको छ।

'यो अवस्था हेर्दा चाँडै संविधान जारी हुन्छ,' सभाध्यक्ष नेम्वाङले भने, 'भदौ मसान्तभित्रमा संविधान पारित हुन्छ।' उनका अनुसार भदौभित्र संविधान पारित गरेर असोजको १ या २ गते नै संविधान जारी गर्ने तयारी गरिएको छ।

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}