
|
|
अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ घाँटीमा अस्थायी ‘सेल्टर’ (आवास गृह) निर्माण भएको छ । जिविस, मुस्ताङ र पर्यटन बोर्डको लगानीमा समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङमा सेल्टर निर्माण गरिएको हो ।
एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकांश पर्यटक थोराङ छिचोल्न चाहन्छन् । मनाङ र मुस्ताङको सिमाना पर्ने थोराङ क्षेत्रमा आवश्यकताका आधारमा दुईवटा सेल्टर निर्माण गरिएको जिविसका कार्यक्रमका अधिकृत केदारसिंह थापाले जानकारी दिनुभयो । “करिब रु ४० लाखको लागतमा थोराङ आसपासमा दुईवटा आवासगृह बनेको छ भने थोराङभन्दा तल साङ्टामा पनि निर्माण सामग्री पुगिसकेको छ” – कार्यक्रम अधिकृत थापाले भन्नुभयो ।
गतवर्षको असोज अन्तिम साता हुडहुड आँधीका कारण परेको बेमौसमी हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली पथप्रदर्शक तथा भरिया गरी २५ भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुईदिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठ्याङ्ग्रिएरै मृत्यु भएको थियो । लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा गतवर्ष ठूलो मानवीय क्षति भएको थियो ।
नेपाल पर्यटन बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी गृह निर्माण गरिएको जिविसले जनाएको छ ।
कात्तिक दोस्रो सातादेखि थोराङ क्षेत्रमा पूरै हिउँ पर्ने भएकाले त्यहाँ भौतिक संरचना निर्माण गर्न समस्या हुन्छ । वैशाखदेखि हिउँ पर्ने क्रम कम हुँदै जाने भएकाले असोजसम्म निर्माण गरिसक्नुपर्छ । “त्यस्तो गर्दा बजेट नै फ्रिज हुन्छ, यसपालि केही निर्माण गरिएकाले पर्यटन मौसममा गतवर्ष जस्तो समस्या नआउँला” – कार्यक्रम अधिकृत थापाले भन्नुभयो । रासस
Source: Nepalsanchar

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

