
|
|
कञ्चनपुर, २६ असोज । भारतीय बजार बनवसाबाट दुई दशकअघि आँपका बिरुवा बोकेर ल्याउदै गर्दा दुव्र्यवहार गर्दै भारतीय सुरक्षाकर्मीले विरुवा खोसेर महाकाली नदीमा फालेको सम्झना कञ्चनपुरको झलारी पिपलाडी नगरपालीका–६ जुडाका प्रतापसिंह धामीलाई झल्झली आउने गरेको छ ।
भारतले सीमा क्षेत्रमा विसं २०४५ सालमा नाकाबन्दी लगाएका बेला उहाँमाथि दुव्र्यवहार गरेको थियो । चपाउँदै गरेको पान समेत थुक्न लगाएर नराम्ररी लज्जित बनाएपछि आफ्नै खेतबारीमा नर्सरी स्थापना गरी उदाहरणीय कार्य गर्ने प्रेरणा जागेर आएको धामी बताउनुहुन्छ ।
विरुवा कलमी गर्ने, प्लाष्टिक प्याकमा बीउ राख्ने र माटो तयार गर्ने सीप सिक्नका लागि सुन्दरपुरमा रहेको कृषि तालिम केन्द्रबाट एक सातासम्म उहाँले तालिम लिनुभयो । “सीमा क्षेत्रमा दुव्र्यवहार नगरिएको भए नर्सरीको कार्यमा लाग्ने थिइन । भारतबाटै विरुवा खरिद गरेर लगाउने बानी हटने थिएन” उहाँले भन्नुभयो ।
धामीले पहिलो बर्ष दुई कट्ठा जग्गामा नर्सरी स्थापना गरी विरुवा उत्पादन गर्दा मनग्य आम्दानी भएपछि क्षेत्र विस्तार गरी दुई विगाहामा विरुवा उत्पादन गर्नुभयो । उहाँका दाजु पानसिंहले समेत दुई विगाहा दश कट्ठा जग्गामा नर्सरी स्थापना गर्नुभएको छ ।
धामी दाजुभाईले नर्सरीमा उत्पादन गरेका विरुवा भारतको नयाँ दिल्ली र बैंगलोरसम्म निर्यात हुने गरेको छ । यहाँका कैलाली, कञ्चनपुर, दार्चुला, बैतडी, अछाम, डडेल्धुरा, बाँके र बर्दियासम्म विरुवा पुग्ने गरेका छन् ।
सरकारी र गैरसरकारी कार्यालयले समेत धामी दाजुभाईकै नर्सरीबाट विरुवा खरिद गरी बृक्षारोपण कार्य गर्दै आएका छन् ।
“अन्न फल्ने खेतमा नर्सरी राख्दा परिवारका सदस्यले भोकै मार्न थाले भन्न थाले,” पानसिंहले भन्नुभयो– “मनमा दृढ निश्चय र लगनशिलताका साथ कार्य गर्दा सफलता पाइयो ।”
आम्दानी बढ्न थालेपछि हाल परिवारका सबै जनाले नर्सरीको व्याड बनाउने, माटो तयार गर्ने, विरुवाको हेरचाह गर्ने र बिक्री गर्ने कार्यमा सघाउन थालेको उहाँले बताउनुभयो ।
धामी दाजुभाईको नर्सरीमा जडिबुटीतर्फ रुद्राक्ष, हर्राे, बर्राे, चन्दन, रक्त चन्दन, क्यामामाईल, मेन्थाका विरुवा तयार गर्छन् भने फलफुलमा विभिन्न प्रजातीका आँप, लिची, कटहर, अनार, नास्पाती, अम्बा, कागती, अमिलो, आमलालगायतका विरुवा तयार गर्दछन् ।
घाँस प्रजातीमा नेपियर, अम्रिसो, भटमासे, बडहर, बाँसलगायतका विरुवा तयार गरिदै आएका छन् । प्रति विरुवा रु तीनदेखि रु एक हजारसम्ममा बिक्री हँुदै आएका छन् । वार्षिकरुपमा दुबै दाजुभाईले चार लाख बढी विरुवा नर्सरीमा तयार गरी बिक्री गर्दै आएका छन् ।
दुबै जनाको जनही वार्षिक आम्दानी रु १० लाख बढी हुने गरेको छ । “खेतबारीमै व्यवसायीकरुपमै कार्य गरे व्यक्तिगत आम्दानी हुने र राष्ट्रले हरेक बस्तुका लागि विदेशी बजारको मुखताक्नु पर्दैन” धामी दाजुभाई भन्नुहुन्छ ।
देशलाई समृद्ध बनाउनका लागि सबैले जुट्नुपर्ने र स्वदेशमै सृजनशिल कार्य गरेर देखाउनुपर्ने उहाँहरुको सुझाव रहेको छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

