Home » » चन्द्रवीरको पछिपछि

चन्द्रवीरको पछिपछि

गायक बन्न निस्केको थियो, चन्द्रवीर तुम्बापो। ऊ यो राजधानी छिर्दा देशमा शाहकालीन राजगिरी चलिरहेको थियो । अहिले शिशु गणतन्त्र भारतसँग जोरी खोज्ने हैसियतमा टुकुटुकु गर्दैछ। चन्द्रागिरि डाँडामुनि डेढ दशक बिताइसकेको चन्द्रवीर पनि गायक भएन, कवितागिरीमा सक्रियता देखाउने 'होलटाइम' भयो।

नयाँ संविधान जारी भएको खुसियालीमा काठमाडौं उन्मादमा थियो, संविधानमा सपना नसमेटिएको भनेर मधेस आक्रोशमै थियो। म भने चन्द्रवीरलाई पछ्याउँदै ठमेल छिरेको थिएँ। 
यो कविको चन्द्रकथा लेखूँ भनेर मैले चार महिनाअघिदेखि सोचिबसेँ। तर, न लेख्ने खाका बन्यो, न नयाँ विचार स्फुरण भयो। चन्द्रकथा खप्परमा भ्रूण भएर बसेको लामो समयपछि म संविधानको स्वागत गर्न छाडेर कवि चन्द्रवीरलाई पछ्याउँदै हि“डेको छु- ठमेलै–ठमेल!

पानी थपेर दुईपटक खाएको तोङ्बाको रंगिलो मातमा सन्ध्याकालीन ठमेलको भीडमा ठोक्किँदै हिँडिरहेका छौँ चन्द्रवीर, हेमन यात्री, रमन पौडेल, आरके अदीप्त गिरी र म। संविधान जारी भएको खुसियालीमा ठमेलमा केटाकेटीहरू मात्तिएका छन्। त्यसो त ठमेल हर साँझ मात्तिन्छ, युद्धका बेला पनि उस्तै, संविधान आउँदा पनि उस्तै। 

सञ्चयकोष भवन देब्रे पारेर भित्र छिरेपछि मसँगसँगै हिँडिरहेको चन्द्रवीर तुम्बापो अलि दुःखी मुद्रामा प्रस्तुत भयो, ‘साला यहाँ संविधान आएकोमा उत्सव छ । उता तराई, लिम्बुवान जलिरहेछ, केको उत्सव ? '

यस्तो कडा 'बाइट' दिएको चन्द्रवीर एउटा घरको पेटीमा मस्त बियर पिउन थाल्यो। अघिसम्म तराई, लिम्बुवान र राउटेको चिन्ता गरिरहेको कविको अनुहारमा चिन्ताको रेखा गायब भइसक्यो । झिलिमिली बलिरहेका ठमेलका बत्तीहरूमाझ उसले तानेर फालेको चुरोटको धूवाँ फरकफरक आकार बनाउँदै अँध्यारोमा बिलायो।

(आफ्नो थुप्र्रैपटकको आग्रहमा चन्द्रवीरले दिएको चुरोटको निभ्नै लागको ठुटो चन्द्रकै स्टाइलमा मस्त तानिरहेको रमन हाम्रो अघि भएर हिँडिरहेका तरुनी र तेस्रोलिंगीलाई बरोबर आँखा तर्छ। हेमनचाहिँ अघिदेखि मौन व्रत बसेको जोगीझैं शान्त सिरियस मुद्रामा पेटीमा ढेपिएको छ। आधा घन्टा भइसक्यो आरके फोनमै बिजी छ । नया“ ‘गर्लफ्रेन्ड’ भेट्यो कि ? म पनि बियर र तोङ्बाले दिएको मिश्रित मातमा चन्द्रवीरको हाउभाउ, स्टाइल ध्यानले हेरिबसेको छु ।)

बाक्लो फ्रेमको चस्मा, नाकभित्रबाट झ्याप्प रौंहरू बाहिर निस्किएको, रफ बोलिरहने, चुरोट खाइरहने, अरूको आलोचना गरिरहने, 'होलटाइमर कवि' भनिइने, फोहोर र अस्तव्यस्त देखिने कपाल पालेको कवि चन्द्रवीरमा कुनै खास व्यक्तित्व छैन जसले कसैलाई आकर्षित गरोस्। तर पनि उसमा केही ‘पावर’ छ। 

(जस्तो कि, उसले कवि र कविताबारे ननस्टप गफ दिन थालेपछि सहरका जानेमाने र सिकारू कविहरू आफ्नो घन्टौंको समय बर्बाद गर्न तयार हुन्छन् ।) यो पनि एउटा मानिसको ठूलो पावर हो। पाठक/समालोचक वा अरू कविलाई चन्द्रवीरका कविता कति सम्झना छन् थाहा छैन, तर ऊ केही कविको 'प्रिय कवि’कै मेनुमा हुन्छ। (अघिल्लो साता फुर्सदको ‘प्रिय ५' कोलममा कवि मनु मन्जिलको पाँच कविको लिस्टमा चन्द्रवीरकै नाम थियो ।) त, त्यही चन्द्रवीर अहिले ठमेलमा मस्त डुलिहिँडेको छ।


सस्तो लालीपाउडर घसेका, उत्तेजक हाँसो र बोलीमा ठमेलमा भेटिने तेस्रोलिंगी बाटोमा डुलिहिँडेका पुरुषलाई मस्किँदै सोधिरहेका हुन्छन्, 'जाने हो ?' अहिले यही प्रश्न मेरो अघिअघि हिँडिरहेको चन्द्रवीरलाई तेर्सिएको छ । रक्सीको मातमा चन्द्रवीरको बोली स्पष्ट त थिएन, त्यसमा उतिसाह्रो सभ्य पनि थिएन। 

चन्द्रवीर सोध्दै थियो, 'तिम्रो रुम कता हो ? कति लिन्छौ ?' (तेस्रोलिंगीहरूसँगको उत्तेजक बोली चन्द्रवीरको लोगो हो। तेस्रोलिंगीसँगको जम्काभेट यो पहिलो थिएन। यसअघि थुप्रैपटक राति हामी ठमेल पसेका बेला यिनीहरूसँग चन्द्रवीरको प्रस्तुति यही हुन्थ्यो। उताबाट सकारात्मक÷नकारात्मक जस्तोसुकै जवाफ आए पनि चन्द्रवीर मस्त हाँस्दै त्यहाँबाट हिँडिहाल्थ्यो ।) आज पनि चन्द्रवीर अलि रिसाएको भावमा त्यहाँबाट फुत्किहाल्यो । उताबाट साह्रै भद्दा जवाफ आयो, ‘साला खल्तीमा पैसा छैन होला, बार्गेनिङमात्रै गर्छस्?'

(ठमेल, रत्नपार्कतिर भेटिने यौनकर्मी र तेस्रोलिंगी मलाई सबैभन्दा असभ्य लाग्छन् । साह्रै उत्तेजक बोलिरहेका हुन्छन् । बार्गेनिङ गर्ने युवकले कुरा नमिले तिनीहरूको लास्टै हप्काइ खाँदै त्यहाँबाट भाग्नुपर्छ। एकछिन अघिसम्म स्कुटरमा हुइँकिइरहेकी एउटी मोटी युवती हामीतिर फर्केर 'हेर्छौ ? 'भन्दै ह्वांग छाती खोलेर बीच सडकमा स्तन प्रदर्शन गरिरहेकी थिई । रमन, हेमन, आरके, चन्द्रवीरहरूचाहिँ बरु लाजले भुतुक्क भएका थिए।)

साँझको मदिरापानपछि ठमेल उतिसारो हाम्रो रोजाइमा पर्दैन। ठमेल त कहिलेकाहीँ ‘यसो घुमौं न त’ भनेर मातमा डुलिन्छ मात्रै । नत्र, चन्द्रवीर प्रायः बसिरहने बागबजारको सस्तो होटल 'जय दुर्ग' मै बस्छौं। 

खासमा यो होटेल चन्द्रवीरलाई घरजस्तै प्यारो छ । ऊ यहाँ यति बस्छ कि, राजन मुकारुङले यो होटेलको नामै ‘सीबी होम्स’ (चन्द्रवीर होम्स) राखिदिएका छन् । बेलाबेला रक्सी खाएपछि चन्द्रवीर भन्छ, ‘बाहिर रक्सी खाए पनि मलाईचाहिँ दीपक, सीबी होम्समै जानुपर्छ। यहाँ मलाई मस्त निद्रा लाग्छ। 

(माफ गर्नुहोला यति भनेर यहाँ होटेलको विज्ञापन गरिएको होइन। चन्द्रवीरको संगतमा परेका अधिकांश कवि रक्सी–सेवनपछि यी होटेल पुग्ने गर्छन्।) होटेलको रुम नं. १२ र ढोकाछेउको नीलो तन्ना ओछ्याइएको ओछ्यान चन्द्रवीरको खास रोजाइ हो । होटेल पुगेर केही सेलेक्टेड युवतीसँग च्याट, फोन संवाद गर्नु र कवि, कविताहरूबारे गफ दिनु चन्द्रवीरको खास ब्रान्ड हो।
...
संविधान जारी हुनु र ठमेलमा केटाकेटीहरू हातमा झन्डा बोकेर चिच्याई चिच्याई हिँड्नु एउटा संयोग होला । नत्र, रातको ठमेल जहिल्यै गुलजार, भीडभाड र मादक नै देखिन्छ । हरेक गल्लीमा हामीजस्तै हातमा बियरका बोतल बोकेर चुरोट सल्काउँदै हिँडिरहेका बटुवाहरूले ‘ओम मणिपद्मे हुँ’जस्ता इन्स्ट्र्युमेन्टल धुन अनिवार्य सुन्नुपर्छ।

आज ठमेलमा बाटैभरि ‘तेस्रोलिंगी’, ‘समलिंगी’हरू छ्याप्छ्याप्ती भेटिएका छन्, स्कुटरमा बगिरहेका, भित्तातिर अडेस लगाइरहेका, ग्राहकको पर्खाइमा उभिइरहेका । चन्द्रवीर आज तिनीहरूसँग छलिँदै छलिँदै हिँडिरहेछ।

हातहरू फड्कार्दै कुरा गर्नु, बेलाबेला 'के कुरा गर्नुहुन्छ तपाईं ?' भन्नु चन्द्रवीरको स्टाइल हो । अहिले पनि ऊ यही गरिरहेको छ । भन्दैछ, 'सुन् दीपक, यो देशमा मलाई मन पर्ने खास कवि तीनजना हुन्— रिमाल, भूपि र काइँला' यति भनिसकेपछि शान्त बस्नु पनि उसको आदत हो। 

बेलाबेला उपेन्द्र सुब्बा, स्वप्नील स्मृति, केशव सिलवाल, विनोदविक्रम केसी, अमोघ काफ्लेहरूबारे पनि भन्न भ्याउँछ । नत्र, ऊ केही कविको 'माउथपिस' हो। उसलाई मन परेको किताब वा कविताको ऊ यति प्रचार गर्छ कि, आरके अदीप्त गिरी भन्दै थियो, ‘कुनै दैनिक पत्रिकामा विज्ञापन दिनुभन्दा चन्द्रवीरले कुनै किताबको गफ गर्यो भने विज्ञापनभन्दा चन्द्रवीर नै प्रभावकारी हुन्छ।'

हातमा चुरोट सल्काएको चन्द्रवीरलाई कसैले पछाडिबाट कोट्यायो।'हाउ को हो ?'मेकअपले सजिएकी साह्रै अजंगकी एउटी 'तेस्रोलिंगी' चन्द्रवीरसँग चुरोट मागिरहेकी थिई। चन्द्रवीरले मुस्कानसहित चुरोट त्यो ‘तेस्रोलिंगी’को हातमा राखिदियो। र, खल्तीबाट सलाई निकालेर सल्काइदियो पनि। 'तेस्रोलिंगी' पनि ‘थ्यांक यु’ भन्दै त्यहाँबाट हिँडिहाली।

(रक्सीपछि हामीलाई पनि चुरोटको खुब तलतल लाग्छ। चुरोटचाहिँ चन्द्रवीरको कब्जामा हुन्छ । रमन र मैले कम्तीमा बीसपटक आग्रह गरेपछि बल्ल 'ला केटा हो' भन्दै एउटा चुरोट फालिदिन्छ ऊ। केटीझैं कपाल कोरेर, कुर्ता लगाएर हिँडेका ‘गे’हरूलाई पनि भाउ दिन्छ चन्द्रवीर।)

ठमेल चन्द्रवीरको नयाँ गन्तव्य होइन । ऊ एकपटक वेश्यागमन गर्दा ठमेलबाटै पक्राउ खाएर पुलिस कस्टडी पनि पसिसकेकै मनुवा हो। उसले भनेको थियो, 'वेश्यागमन गर्न जाँदा ठमेलमा पुगेछु । त्यस बेलासम्म मैले रक्सी सिकेको थिइनँ । जीवनमा पहिलोपटक वेश्यागमन गर्न हि“डेको म, वेश्यासँग मोलमोलाइ पनि भयो । मसाज गर्न कोठामा छिर्दै गर्दा पुलिसले छापा मार्यो र चार दिन थाना बसेँ।'

पुलिस कस्टडी पसेपछि फिक्स भइसकेको उसको किताब विमोचन पछि सर्यो । कस्टडीबाटै फोन गरेर विमोचन–मिति सार्नु परेको थियो उसले । उसको किताबबारेचाहि“ पछि कुरा गरूँला।
...
एउटा कुराचाहिँ भनौं, चन्द्रवीर जुनै बेला पनि कविताकै चिन्तामा हुन्छ । कविताको बनोटबारे, कविहरूबारे ऊ घन्टौंसम्म बोल्न सक्छ । केही सिकारु कविका कविता पनि ऊ राम्रैसँग ‘एडिट’ गरिदिन्छ । तर, आजकाल ऊ निकै अल्छे भएको छ। 

बितेको १० वर्षमा जम्मा ५० कविता लेखेछ । कविताको गफ बढी गर्छ, कविताचाहिँ वर्षको एक/दुईमात्रै लेख्छ । हिमाल र आफ्ना लिम्बू मिथक मिसाएर कविता लेख्न ऊ खप्पिस छ । त्यसैले लेख्छ– ‘फक्ताङलुङ उर्फ कुम्भकर्ण।' बेलाबेला गतिलो पनि लेख्छ, बेलाबेला औसत।
...
चन्द्रवीरको हँसिलो लिम्बू–बनोटको अनुहारपछाडि केही निराशा छन। आजकाल उसमा एउटा विचित्रको परिवर्तन देखा परेको छ । भन्छ, 'म अहिले कविता लेख्नुपर्छ, जीवनमा नाम कमाउनुपर्छ भन्नेजस्ता कुराबाट मुक्त हुन थालेको छु । पत्रपत्रिकामा कविता छाप्न सकस लाग्न थालेको छ।'

चन्द्रवीरले एकपटक आत्महत्याको प्रयास पनि गरेको रहेछ । चरम निराशा उसको जीवनको चरित्र रहेछ । निराशामा उसले कवितामा सुसाइड नोट पनि लेखेको छ, 'विकल्प: आत्महत्या' शीर्षकमा। 

ऊ यस्तो लेख्छ, 'म बाँच्नुको कुनै फाइदा छैन अब/जान्दछु मैले एक सेकेन्ड पनि बाँच्न हुन्न अब÷तर ! एउटा निर्णय÷निरङ्कुश राज्यसत्ताको विरोधमा÷स्वतन्त्र व्यक्तिसत्ताको समर्थनमा÷ श्रीमान ! मैले आत्महत्या गरेँ।'

पाँचथर–तेह्रथुममा एक बिहान चन्द्रवीर हल्लिरहने झोलुंगे पुलमा उपस्थित थियो। पुलबाट धेरै तल हरियो तमोर नदी बेगले बगिरहेको थियो । झोलुंगे पुलको लठारो समातेर ऊ नदीमा खसी आत्महत्या गर्न चाहन्थ्यो। परबाट कसैले देखेर ‘यो के गरेको?' भन्दै दौडिँदै चन्द्रवीरसामु आयो र उसलाई समात्यो । चन्द्रवीरले आत्महत्या गर्न पाएन ।
त्यस बेला चन्द्रवीर चरम-डिप्रेसनमा थियो । कारण उसको प्रेम।

साथीहरूका प्रेमपत्र लेख्दालेख्दै आफैं प्रेममा परेको चन्द्रवीर जीवनको पहिलो प्रेमिका अझै पनि बिर्सन सक्दैन । नारायणहिटी आसपास डुलिहिँड्दा प्रेमिकालाई लेखेको सायरी अहिले पनि उसलाई सम्झना आउँछ :

तिरिमा तिरी मुरली बज्यो, नारायणहिटीमा
पहाडी गाउँमा टेलिफोन छैन, बात मारौं चिठीमा...।

चन्द्रवीरकी प्रेमिका कस्ती ? कहाँकहाँ उनीहरू भेट्थे ? भन्ने कुरातिर अहिले नजाऊँ । जे होस्, प्रेमिका चन्द्रवीरभन्दा चार वर्ष जेठी थिई । प्रेमिकालाई उसको परिवारले अर्कै केटासँग बिहे गरिदिएपछि ऊ रन्थनियो। ऊ भन्छ, 'मलाई डिप्रेसन भयो । मेरो परिवारको रुवाबासी भयो । म पागल–प्रेमी बनेँ।'

त्यसपछि नै हो, तीन/चार घन्टाको बाटो हिँडेर ऊ आत्महत्या गर्न तमोर नदीतिर हान्निएको। र, चन्द्रवीरको जिन्दगीबाट पढाइमा ‘ब्रेक’ लाग्यो । ऊ एसएलसी तर्न सकेन ।       
कविताले आफूलाई 'आत्महत्या'बाट जोगाएको भन्छ चन्द्रवीर। 

प्रेम ओझा, राज माङ्लाक, सगुन सुसारा, नरेशजंग सुब्बा, पुष्प सुब्बा, प्रकाश आङ्दम्बेहरू भेटिएपछि ऊ 'कविताको प्रेम'मा पर्यो । आफ्नी प्रेमिका बिर्सियो र दिमागमा भएको ‘आत्महत्या’को भ्रूणको हत्या भयो ।
...
‘चन्द्रवीर तुम्बापो कविभन्दा पनि कविता–एक्टिभिस्ट बढी हो’, एउटा कविमाथि यस्तो भनिनु उसको कविता–कर्मलाई विश्वास नगरिएको भन्ने बुझिएला । चन्द्रवीर कवि हुन काठमान्डु आएकै थिएन । ऊ त 'चोर' हो । आमाको चार आना गहना चोरेर ऊ काठमान्डु पसेको थियो, ‘गायक’ बन्न । उसले चाहेजस्तो भएको भए ऊ ‘रक गायक’ भइसक्थ्यो । तर, ऊ त ‘कवि’ भयो।

‘म रक–गायक भएको भए तिमी मेरो अन्तर्वार्ता लिन पछ्याइरहेको हुन्थ्यौ, आरके अदीप्त गिरी मेरो फोटो खिच्न मसँग समय मागिरहेको हुन्थ्यो, राबत मेरो अटोग्राफ लिन लाइन लागिरहेको हुन्थ्यो’, चन्द्रवीर बेलाबेला मलाई यस्तो भनिरहन्छ। 

उसले लामो समय धर्मेन्द्रविक्रम नेम्बाङ, स्वप्नील स्मृतिहरूसँग 'रंगवाद' कविता आन्दोलनमा कविता लेख्दै, भट्याउँदै हिँड्यो र पहिलो कवितासंग्रह ‘रंगैरंग भिरैभिर’ प्रकाशित पनि गर्यो । ‘विविध रंग नेपाली साहित्यमा पोट्रेट होस् भन्ने हाम्रो रंगवादको उद्देश्य थियो’, ऊ भन्छ, ‘नेपाली मौलिक साहित्यको निर्माण गर्ने हाम्रो प्लान थियो।'

उसको 'रंगवाद-आन्दोलन' सायद फ्लप भयो । तर, चन्द्रवीर, स्वप्नीलहरू फ्लप भएनन् । चन्द्रवीर त अहिले पनि आन्दोलन नै गरिरहेको छ कविताको । नयाँ कविहरूलाई सधैं प्रोमोट गरिरहेको हुन्छ । जुनै बेला उसको मस्तिष्कमा ‘कविता’ नै खेलिरहेको हुन्छ । चन्द्रवीरबारे सहरमा हुने गाइँगुइँ यस्ता छन् :
‘चन्द्रवीर कवितासँगै राजनीति गर्छ।'

'निकै जातिवादी छ ।'
'ऊ निकै बायस छ । आफ्नो गुटका मानिसहरूको मात्रै प्रमोसन गर्छ।'
'लिम्बुवान प्रदेश बन्यो भने मुख्यमन्त्री हुन्छु भन्छ ।'

'जहिल्यै अधिकार र पहिचानका मात्रै कुरा गर्छ । भन्छ, नेपालको राज्य जातिवादमा आधारित छ।'
हैट्, कविबारे यस्तो हल्ला पनि हुन्छ ? यसमा उसको खास स्पष्टीकरण छैन । भन्छ, ‘मान्छेहरूले अनेक ब्लेम लाउँछन् । यस्ता कुराको पछि लाग्दिनँ।'

एक साँझ लोडसेडिङ व्याप्त भएपछि कुनै मध्यमस्तरको भट्टीमा लेमन हालिएको दुई पेग भोड्का उचाल्दै ऊ भन्दै थियो, ‘मेरा केही ठूला सपना र दुःख छैनन् ।’ पेग थपिँदै जान्छ, ‘सपना, दुःख’ नभएको कवि नोस्टाल्जियामा पस्दै जान्छ।

चन्द्रवीर कपनमा बस्छ, आफन्तहरूसँग । तर, उसको 'कविता–किल्ला’चाहिँ भृकुटीमण्डप नै हो। भृकुटीमण्डपसँग उसको अगाध–प्रेमदेखि मलाई अचम्म लाग्छ। ऊ कुनै एउटै गुटको ‘राजा’ नभए पनि गुट निर्माणमा चासो राख्ने मान्छे हो। ऊ कुनै कवि-गुटको सदस्यचाहिँ पक्कै हो । माक्र्सवादी विचारलाई पछ्याउने कवि कुनै बेला आफूले पेस गर्ने तर्कहरूमा कमजोर उभिएको प्रतीत मलाई भएको छ । तर, ऊ ‘स्ट्रङ’ र आफ्नो कुरा ‘प्रस्ट’ भन्ने कवि हो भन्न मलाई कुनै हिचकिचाहट छैन।
०००
चन्द्रवीर दैनिक १५ खिल्लीभन्दा बढी चुरोट खान्छ । अवसर मिल्यो भने ऊ दैनिक नै रक्सी खान्छ । साथीहरू भन्छन्, 'ऊ रक्सी खान्छ, किताब किन्दैन।'
चन्द्रवीर भन्छ, ‘मैले रक्सी आफैं कहाँबाट खानु ? पैसा भए पो ? '

चन्द्रवीर 'होलटाइमर' कवि हो। उमेर तीन दशक नाघिसक्दा पनि ऊ जागिर खाँदैन, कविताको पैरवी गर्छ । ‘रंगवादी’ हुँदै ‘पहिचानवादी’ बनेको कवि आजकाल चियापसलमा रंगवादबारे टेबुल ठोक्दैन। ऊ पूरै पहिचानवादी देखिन्छ । बेलाबेला आफन्तहरूले बेलायत, हङकङ, अमेरिका, कोरियाबाट कुरियर गरिदिने गिफ्ट र आईएमईमार्फत आइपुग्ने पैसा नै काठमाडौंमा चन्द्रवीरको आम्दानीको स्रोत हो।

पछिल्लो आठ वर्षमा उसले कति खिल्ली चुरोट खायो ? कति लिटर रक्सी खायो ? म यो हिसाब निकाल्ने ध्याउन्नमा पनि थिएँ । तर, हिसाबमा म यति कमजोर छु कि यो झ्याउलोपट्टि लाग्ने आँटै आएन। 'असामाजिक, अव्यावहारिक छु, रक्सीमात्र खानु कविको दोष होला', ऊ भन्छ।

अहिलेका कविहरूको दुःख के भने, सहरमा कवि हिट छ, कविता फ्लप छ । त्यसको असर चन्द्रवीरलाई पनि परेको छ । प्राडाहरू, समीक्षकहरू, कविहरू ‘प्रिय कवि’ भनेर चन्द्रवीरको नाम लिन्छन् । तर, कुनै एक लाइन कविता उनीहरूलाई कण्ठ हुन्न ।
...       
चन्द्रवीरको 'विकल्प: आत्महत्या' कविताका पंक्ति सम्झँदा ठमेलमा हिँडिरहेको मेरो मथिंगलमा आत्महत्या गर्न झोलुंगे पुलको लठ्ठा समातेको चन्द्रवीरको विम्ब सलबलाउँछ । कविताले मलाई चन्द्रवीरकै निजी जिन्दगीमा पुर्रयाउँछ। चन्द्रवीरका कविताहरू कन्फेसनहरू हुन् । ‘ऐना नदीको दह’ कवितामा उसले आफ्नो अनुहार हेरेको छ । २.७५ माइनस चस्मा लगाउने, घाँटीमा रुद्राक्ष हल्लाएर हिँड्ने, दुई वर्षदेखि कपाल नकोरेको यो कवि भन्छ, ‘जीवनको दोस्रो नाम नै कविता लेख्नु हो।’

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}