
|
|
तीते करेली
कृष्णराज शर्मा
मानिस जन्मेपछिको सबभन्दा रमाईलो उमेर भनेको पन्ध्र देखि पच्चीस बर्ष बीचको उमेर हो । यही उमेरमा कसैले मृत्यबरण गर्यो भने त्यो भन्दा दुःखदायी अरू केही लाग्दैन । चाहे आफ्नो होस् या पराई,सबैलाई चुकचुक् पार्छ । लाऊँ–लाऊँ र खाऊँ–खाऊँको उमेर हो यो । यो उमेरका सन्तानको चकचकी र बकबकीमा अभिभावकले देख्ने भविष्यका सुन्दर सपना कति मिठा हुन्छन् । जतिसुकै एकाङ्गी जीवन जीऊनेहरूले पनि यो उमेर सँझेर थुक् निल्छन् । त्यसकारण यो उमेरको मरण हरेकका लागि अप्रिय भैदिन्छ । फेरीपनि यो उमेरमा लाखौं मृत्युहरू रमाएर आईरहेका हुन्छन् । आउन त आउँछन् तर,मानवीय कमजोरी र प्राकृतिक विपदा छुट्याएर आउँछन् । प्राकृतिक विपदा काबुमा छैन मानवीय कमजोरी हाम्रो काबुमा छ । भूकम्पले लगेका यो उमेरका जीवनप्रति केबल संवेदनाका शब्दहरूद्वारा भुलाउन खोज्छौं । स्वीकार गर्न बाध्य छौं । तर मानवीय कमजोरी र लापर्वाहीका कारण यस्तो जीवन मेटिन्छ भने संवेदनाका शब्दहरू भ्रमजाल बाहेक केही हुनै सक्दैनन् । अहिले यहि मानवीय जिम्मेवारीमा आएको लापर्वाही र सुप्रबन्धमा भएको कमजोरीको पाटो यहाँ उठान गर्न खोजिएको छ ।
बागलुङमा गत कात्तिक २९ गते एक्काईस बर्षीय युवा रबिन पुनको मृत्यु प्रकरणले आम मान्छेहरू संवेशनशील बने । बजार ठूलो भएको छ । वल्लो टोलको मान्छे मर्दा पल्लो टोलकोले थाहा नपाउने गरि ठूलो भएको छ । तर आधुनिक सँञ्चार प्रबिधि र सामाजिक सञ्जालहरूका कारण सबै घटनाहरू क्षणभरमा बजार समाज चारैतिर संप्रेषित र सूसुचित भैहाल्छन् । रबिन पुनको पनि उसैगरि नानाथरी प्रकारका आशंकायुक्त समाचार बाहिर आए । भरपर्दो समाचार त आँफै बिश्लेषण गरेर पाउने हो । खैर, मृत्यु भएको कुरामा शँका रहेन । यो होनहार युवाको मृत्युमा दोष कसलाई दिने भन्ने आशयले यहाँ कुरा उठाउन खोजिएको हो । दोष कसको ? परिवार, समाज वा राज्य कसको छ दोष यसमा ? यही कुरा केलाउन खोजिएको छ ।
(क) परिवार ः सर्बप्रथम परिवारका अभिभावकले आफ्ना बालबालिकाहरूलाई मायाँदिने र मायाँगर्ने गरेकोप्रति परिवारको जिम्मेवारी नियाल्नु पर्ने भएको छ । अभिभावकका ईच्छापूर्ति गर्न बच्चा ओझेल पारेर हुने गरेका हर्कतले स्वतः बच्चाको डिमाण्ड उर्लेको छ । आफ्ना साथीहरूका बीच ऊ हिरो बन्दै गरेको कुरा अभिभाबक अनभिज्ञ हुन्छ । र क्रमशः उसको आर्थिक सम्पन्नताको भेऊ पाएको साथीले सत्सँग र नैतिकता भन्दा मोजमस्तिका बाटाहरूमा बरालिन्छ । दिनानुदिन सम्पन्न परिवारको छोरो रँगीन बन्दै र गुड्डी हाँक्दै स्वप्निल सँसारमा पुग्छ । परिवारका अभिभावकलाई उसका यि गतिबिधि थाहापाउन ढिलो भैसकेको हुन्छ । उसका गलत सँगतीले ऊ विनम्र पनि देखिन्छ । मायालु लाग्छ । किनकी अब परिवारबाट विनम्रपूर्वक लुट मच्चाउनु छ । दुव्र्यसनको कुरा त छोरो प्रहरीको नियन्त्रणमा परेपछि बल्ल थाहा पाउँछ परिवारले । गोप्य ढङ्गले उसको रिहाई गरेर के गर्ने ? समय बितेपछि ! यो कुराबाट बेखबर भैरहने परिवार प्रमुख रूपमा दोषी नमाने कसलाई मान्ने ? छोराछरीलाई मायाँ गर्ने बहानामा कतै आफ्नै परिवारले दूव्र्यसन र कुलतमा धकेलेका पो छौं कि ! ज्ञान, शिक्षा र नैतिकपाठ सिकाउन गरेको गाली भन्दा प्रशस्त पैसाको माग पुरा गरेर गरेको मायाँ नै युवाहरूमा घातक हुन पुगेको त छैन ? त्यसैले अनावश्यक आर्थिक प्रतिष्ठाको ध्वाँसले हाम्रा कलिला युवाहरूलाई मृत्युको मुखमा पठाउने हामी परिवारका व्यक्तिको पनि दोष पो छ कि ? सर्वप्रथम परिवारले नै आफ्ना नानीबाबुहरूको बेलैमा ध्यान पुर्याउन सक्यौं भने समाजले यस्ता अप्रिय घटना सुन्नु पर्दैनथ्यो ।
(ख) समाज ः यो समूहको समाज यति गाढा घुलनशील छ कि एक सिट्ठीमा झुप्प जम्मा हुन्छन् गँजडी हाउसहरूमा । अरू समाज आफ्नो आङको भैंसी देख्दैन अरूको आङको जुम्राको कुरा काट्छ । कुरौटे एकाग्र समाज हाम्रो बनेको छ । एकार्कामा ईष्या र डाहले घर गरेपछि अरूको परिवारको विपत्तिमा रमिता हेर्ने समाजले गर्दापनि यो परिणती देखापर्दो रहेछ । अरूले बेलैमा औंल्याएका कुरामा ध्यान दिनुको साटो मेरा सन्तान ठिक छन् भनेर उल्टै उसका सुझाबलाई ग्रहण गर्नुको सट्टा सुझाबदिने माथी बिषवमन गर्दछ सरोकारवाला परिवार । सामाजमा बढ्दै गएको आर्थिक प्रतिष्ठा र सम्पन्नताको तराजुमा हल्का भईन्छकि भन्ने मानसिकता बढेको छ । कसैको खुट्टा तान्ने केही उपाए नभएपछि बालबच्चाको भविष्य बिगारेर पनि साखुम गर्ने हाम्रो सामाजिक बाताबरण बढ्दो छ । अरूको राम रमिता हेर्दैगर्दा भोली आफ्नै परिवार भित्र त्यो काल छिर्ला भन्ने उसले बुझ्दैन । सामाजिक रोग लाग्दा बित्तिकै सबै समाजले रोग निबारणको काम गर्नुको सट्टा फूल्ने फलाउने काम गर्नु समाजको पनि उत्तिकै दोष रहेन र ?
(ग) राज्य ः समाजमा शान्ति र अमनचयन कायम गराउने दायित्व राज्यको हो । नागरिकको ज्यूधनको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो । नागरिकले तिरेको करबाट राज्यले जनशक्ति निर्माण गरेको हुन्छ । राज्यले बनाएका कानूनको अधिनमा रही कानूनको पालना र कार्यान्वयन गर्ने निकायले नागरिकको रक्षाका निम्ति ठूलो लगानी गरेको हुन्छ । सामाजिक अपराध नियन्त्रण देखि बिकृति बिसंगति अनियमितता र नागरिक सरोकारका विषयमा राज्य सँधै चनाखो भैरहनु पर्ने हो । तर, त्यस्ता सुरक्षा निकायमा शिथिलता हावी हुँदा अपराध, विकृति र विसँगती बढेको हो । घटना घटनुपूर्व सतर्क रहन राज्यले गोप्य सूचनाका लागि सुराक गर्न कति धेरै लगानी गरेको हुन्छ । उनीहरू कर्तब्यपरायण भैदिए सानो समाज भित्रका गलत गतिबिधि समयमै उजागर हुन्थे । अप्रिय घटना हुन पाउने थिएन । विकृति प्रोत्साहित हुनु अन्ततः अपराध निम्त्याउनु हो । तसर्थ केटाकेटीको लभ अफेयर थाहापाएर आपसमा रमाईलो गर्नु भन्दा सुराकद्वारा सचेत गराईदिनु कति उपकारी हुन्थ्यो त्यस्तो भएको छैन । कुन विवाहित महिला र कुन विवाहित पुरूष बीच नाजायज सम्बन्धका बारेमा जानकारी हुने सुराकीहरूलाई कुन परिवारको कुन केटा वा केटी कुलतमा छ भन्ने पत्तो नहुने कुरै आउँदैन । त्यसैले राज्यले लगानी गरेको खर्च अनाहकमा खर्च भएको भान हुन्छस यस्ता रबिनहरू मर्दा । फेरी सुराकी राज्यले राख्छ पूर्वजानकारीको लागि तर, प्रशासनका कतिपयले उनीहरूबाट आएका कुराहरू सुन्न आनाकानी गरिदिन्छ । कतिपय राअका निम्न स्तरका कर्मचारीहरूबाट दुःखेसो पोखेको सुनिन्छ । त्यसैले राज्यपक्षले लागु औषध दूर्ब्यसनीहरूका बारेमा ससम्मान पारिवारिक गोप्य सर्वे गर्नु पर्ने हो । अन्यथा यस्ता थुप्रै रबिनहरू दिनानुदिन मृत्युबरण गर्न बाध्य हुनेछन् । कुलतमा फसिसकेको युवालाई तिरस्कार र घृणा गरेर तहलगाउन खोज्नु पनि हुँदैन । उनीहरूलाई मायालु बाताबरणमै उसको मनोबैज्ञानिक ढङ्गले उपचार गर्नु पर्दछ ।
(घ) विद्यालय ः यी माथि उल्लेख गरेका तत्वहरू भन्दा बढी जिम्मेवार विद्यालय हुनुपर्ने हो । विद्यालयलाई केवल आर्थिक उन्नतिको मात्र चिन्ता देखिन्छ । विद्यार्थीको आनीबानी विद्यालयलाई जत्तिको जानकारी आमा वा बालाई कम हुनसक्छ । पहिला पहिला विद्यार्थीको राम्रो नराम्रो अभिभावकलाई बताईदिने निःस्वार्थ भावना थियो । अहिले देखावटी र पैसामुखी भएको छ । जेहन्दार विद्यार्थीको खुब् ख्याल राख्ने तर कमजोर विद्यार्थीको वास्तै नगर्ने भनाई बजारमा आएका छन् । यदि कमजोर गलत सँगतको विद्यार्थीको बारेमा बेलैमा थाहा पाएर अभिभावकलाई बताई दिने हो भने समयमै सुधार्न सक्छ परिवारले । विद्यालयको शिक्षकले गलत सिकाएको कुरा घरका जान्नेले सच्याउँदा र्स ले भनेको ठीक हो भनेर जिद्दी गर्छ । त्यसैले युवाहरू बनाउने र बिगार्ने मूल थलो विद्यालय हुनु पर्छ । यस्ता घटना दोहोरिंदा विद्यालय पनि दोषी नमान्नु पर्ने कारण छैन ।
बुढाबढी मान्छे होईनन् युवाहरू मात्र मान्छे हुन् भन्ने आशय यो लेखको हुँदै होईन । जति बुढो भयो उती जीऊको मायाँ लाग्छ । मात्रै परिवार समाज र देशलाई चाहिने महत्वपूर्ण ताकत त आखिरमा युवाशक्ति नै हो । युवाहरूको अस्वस्थता र कुलतमा पर्नु पुरै समाज र राष्ट्रको लागि गम्भीर क्षति हुनु हो । तसर्थ, रबिन पुनको मृत्यु प्रकरणले बेलैमा सबै झस्कनु आवश्यक छ । मरिसकेपछि कसैको जीवन कुनै मूल्य र आक्रोशमा पाईंदैन । शँकास्पद मृत्यु पश्चात प्रचलित कानून बमोजिम भै जाने गरेका कुरामा हामी सबै अवगत नै छौं । ठूलो कुरा अकालमा मृत्युसँग साक्षात्कार हुनबाट युवाहरूलाई कसरी जोगाउने भन्ने नै हो । विभिन्न नामधारी सँस्थाहरू कुलतमा लागेका युवाहरूलाई रचनात्मक काम मार्फत सुधार्ने प्रयत्न भएका पनि हुन् । तर यिनी मौसमी भएको आरोप छ । सिंचाई कूलोमा पानी आए खेतबारीमा डुल्ने नत्र पिंडीमा आराम गर्ने खालको देखिन्छ । सँस्थाहरूमा परोपकारी सेवाभन्दा मेवाकारी सेवा बढी भयो । यो क्षेत्रमा लाग्नु चान्ने चुन्ने काम होईन । यता लाग्नेहरूले माथी उल्लेखित सबै सरोकारवाला लाई झक्झकाउन सक्छ र मिल्छ । त्यसो भैदिओस् । यो काममा सफलता पाउनु जत्तिको पूण्यकाम अरू कुनै हुने थिएन । ति सँस्थाहरूलाई प्रेरणा पैदाहोस् भन्ने कामना गर्नु पर्दछ । र अन्त्यमा, आफ्नो टोल छिमेकमा अन्जानमा कुलतमा फँसेका कोही युवाहरू छनभने ईज्जत र आदरपूर्वक समाजका हरेक सदस्यले सँझाऊँ । बुझाऊँ । सकिदैन भने तथ्याङक सँकलन गर्न सरकारी वा गैह्रसरकारी सँस्थाहरूलाई सहयोग पुर्याऊँ । बाटो बिराएका युवाहरूलाई सत्मार्गमा लगाऔं ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

