
|
|
६ मंसिर, काठमाडौं ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका स्रोत व्यक्ति निमन्त्रणाको विषयलाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीबीच मनमुटाव भएको छ ।
आफूखुसी प्रतिष्ठानमा विभिन्न व्यक्तिलाई स्रोत व्यक्तिमा बोलाइएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले असन्तुष्टि जनाएका छन् । उनले लिखित पत्र पठाउँदै एआईजी भण्डारीलाई पूर्वस्वीकृति लिन निर्देशन दिएका छन् ।
आईजीपीको निर्देशनले आफ्नो दैनिक कार्यसञ्चालनमा अंकुश लगाएको भन्दै भण्डारी रुष्ट छन् । महानिरीक्षक अर्यालले अपराध अनुसन्धान विभागका प्रमुख शाहललाई पनि पत्र लेख्दै संगठनका कतिपय योजनामा पूर्वस्वीकृति लिन भनेका छन् ।
विगत लामो समयदेखि एआईजीद्वय भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी संगठन भित्र र बाहिरका विभिन्न व्यक्तिलाई आमन्त्रण गरि प्रहरीको दक्षता र क्षमता अभिवृद्धि लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् ।
खासगरि एआईजीद्वय भण्डारी र शाहले प्रतिष्ठान र अनुसन्धान विभागमा भीआईपीलाई बोलाएर क्षमता अभिवृद्धिको काम गर्दै आएका थिए । त्यसबाट ‘अनुचित सम्बन्ध’ बढाएको आशंका आईजीपीले गर्दै आएका छन् ।
एआईजी भण्डारीले संगठनको हितको लागि काम गर्दा रोक लगाउन नपाइने भन्दै असन्तुष्टि जनाए । ‘संगठनविरुद्ध कुनै काम गरेका छैनौं,’ उनले भने, ‘कुन काम गर्नुपर्छ, कुन गर्नु हुन्न, भन्ने हामीलाई पनि थाहा छ, संगठनप्रति हामी पनि जिम्मेवारी छौं, गैरजिम्मेवार मान्छेले प्रहरीको दक्षता र क्षमता अभिबृद्धिका लागि सोच्दैन ।’
बाह्य व्यक्तिलाई ल्याएर प्रहरीको दक्षता क्षमताको विकास गर्दा महानिरीक्षकले आपत्ति जनाउन नहुने उनले बताए । ‘यदि उहाँलाई सारै अप्ठेरो परेको छ भने, हामीलाई सरुवा गरे भइहाल्यो नि ?,’ उनले भने, ‘हामी जुनसुकै स्थानमा पनि जान पनि तयार छौं ।’
एआईजी शाहले राम्रो काम गर्दा अंकुश लगाउने गरी महानिरीक्षकले गलत सोच्न नहुने बताए । ‘विभिन्न संघ, संगठनबाट व्यक्ति ल्याएर गतिविधि गर्यो भन्ने उहाँलाई लागेको छ भने, ती व्यक्ति गलत हुन भन्ने उहाँले भन्नु सक्नु पर्यो,’ उनले भने, ‘जुन ल्याएका छौं, ती महत्त्वपूर्ण व्यक्ति छन् ।’–कान्तिपुर दैनिकमा खबर छ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

