
|
|
स्वस्थ शरीरका लागि उपयोगी नियमहरू
१. आहार र पोषण : व्यक्तिको उमेर, काम, स्वास्थ्य स्थिति वा रोग, मौसम आदिको हिसाबले पर्याप्त र उपयुक्त मात्रामा खानेकुराको सेवन गर्न आवश्यक हुन्छ। खानामा शरीर र मस्तिष्कको आवश्यकताअनुसार कार्वोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, रस्सादार पदार्थ र पानी संलग्न हुनुपर्छ। यसको लागि अन्न, दाल, गेडागुडी, मौसम अनुकूल हरिया सागसब्जी, तरकारी, फलफूल, अण्डा, दूधदही, माछामासु र केही मात्रामा घिउतेल पनि खानामा समाविष्ट हुनु उपयुक्त हुन्छ। फास्टफूड, बट्टामा प्याक गरिएका खानाभन्दा प्राकृतिक राम्रो हुन्छ। मात्रा र पोषणको हिसाबले मात्र होइन, खानेकुरा सफा, स्वस्थ र ताजा पनि हुनुपर्छ। पकाउँदा, पस्कँदा र खाँदा पनि सफाइमा ध्यान दिन जरुरी हुन्छ। विपदको बेला, साझा भान्छा र राहतमा खाद्यपदार्थको वितरण र उपयोग गर्दा पनि स्वास्थ्यको यो सामान्य तर अति महत्त्वपूर्ण नियम ध्यानमा राख्न जरुरी छ। नत्र खानाबाट विष, भाडापखाला, उच्चरक्तचाप, मोटापा वा कुपोषण लगायतका रोगहरू बढ्नेगर्छन्। यस्तो बेला बिस्कुट, च्युराजस्ता सञ्चय पनि हुने, शक्तिदायक पनि हुने खाद्यान्न तयार राख्नसकिन्छ। धेरैलाई खाना खान मन नलाग्ने यस्तो बेलामा थोरैथोरै तर धेरैपटक गरेर खाइरहन सकिन्छ।
२. पानी : सामान्य अवस्था होस् या तनावको बेला, उपयुक्त वा पर्याप्त मात्रामा स्वच्छ पानी र दाल, फलफूलको रस आदि जस्ता झोल कुरा पिइरहनु जरुरी छ। एक दिनमा कम्तीमा पनि चारपाँच पटकसम्म पर्याप्त पिसाब हुने किसिमले पानी र झोलकुरा सेवन गर्नुपर्छ र महिलाहरूले अझ बढी पिउनुपर्छ। पानी पिउनयोग्य बनाउन फिल्टर गर्न, उमाल्न वा क्लोरिन चक्की प्रयोग गर्नसकिन्छ।
३. निद्रा : उमेर, थकान, स्वास्थ्य स्थिति अनुसार केहस् भिन्नता भए पनि सामान्यतया एक स्वस्थ व्यक्ति प्रतिदिन आठ घन्टा जति सुत्नुपर्छ। यसले तन र मन दुवैमा स्फूर्ति आउँछ। कुनै पनि कारणले निद्रामा गड्बडी आएमा त्यतिकै पनि व्यक्तिलाई ताजगी हुँदैन, तनावग्रस्त अवस्थामा झन् बढी असर गर्नेगर्छ। अत: अरू बेला पनि र भुकम्प वा बाढीको चिन्ताले, वा बिरामी कुर्दा पनि सिफ्ट मिलाईमिलाई भए पनि, सबैले पर्याप्त अवधि सकेसम्म नियमित सुत्नु आवश्यक हुन्छ।
४. शारीरिक व्यायाम : शरीर र मन दुवैको ताजगीको लागि नियमित शारीरिक व्यायाम गर्नु लाभप्रद हुन्छ। एक स्वस्थ व्यक्तिको लागि एक सजिलो तरिकाको रूपमा हरेक दिन २०–३० मिनेट फटाफट् हिंड्ने गर्न सकिन्छ। उच्चरक्तचाप, मधुमेह वा यस्तै समस्याबाट पीडित व्यक्तिले भने चिकित्सकको सल्लाह लिएर उपयुक्त व्यायाम निश्चित गर्न सकिन्छ।
५. नशा, मद्य वा सुर्तीजस्ता नशालु र बिनाप्रेस्क्रिप्सनको दबाई सेवनदेखि टाढा : साथीभाइको संगत वा व्यवहारमा परेर, दु:खपीडा भुल्न वा खुसी मनाउन आदि भन्दै जाँडरक्सी, चुरोट, सुर्तीजन्य, गाँजा, भांग, अफिम, चरस, कोकेनजस्ता मनमस्तिष्कका काममा असर पार्ने नशालुपदार्थको सेवन गर्दा विभिन्न मनोसामाजिक र अरू धेरै स्वास्थ्य समस्याहरू एक दिनअघि वा पछि निम्टिन्छन्। त्यसैले, यस्ता पदार्थदेखि टाढा रहने र कथंकदाचित् यसको समस्यामा फँसेको भए उपयुक्त उपायउपचार गरी उम्कने दिशातिर लाग्नुपर्छ। हाल दुव्र्यसन तथा लतको पनि उपचारसेवा ठाउँठाउँमा उपलब्ध छन्, सही र उपयुक्त उपचारसेवाबारे जानकारी राखौं। त्यस्तै, हामीकहाँ स्वास्थ्यकर्मीको सल्लाह र पुर्जीबिना आफैं औषधि किनेर खाने चलन धेरै छ। यसो गर्दा, अनुकूल असरभन्दा पनि दवाइको प्रतिकूल असर हुने, अनुपयुक्त प्रयोग वा दुरुपयोग हुने र उल्टो धेरै खालका स्वास्थ्य समस्या उत्पन्न हुनेगर्छन्। यस्तो प्रयोगले पनि औषधिको व्यसन गर्ने बानीको विकास हुन जान्छ। औषधि उपचार जस्तो कुरोमा लापरबाही नगरौं।
६. यौन र प्रजनन् स्वास्थ्य : महिलाहरूले मासिक धर्मको बेला सरसफाइमा ध्यान दिन, हल्का व्यायाम गर्न, प्रशस्त झोलकुरा सेवन गर्न, दिसा गरिसकेपछि सफा गर्दा हात यौनांगतिर नभई पछिल्तिर लान, यौनांग सफा गर्दा बाहिर मात्र साबुनपानीले सफा गर्न, सबैले स्वस्थ यौन व्यवहार गर्न र अप्राकृतिक एवम् असुरक्षित यौनसम्पर्कबाट टाढा रहन आवश्यक हुन्छ। साथमा, अति कलिलो र उमेर छिपेको अवस्थामा बच्चा नजन्माउनेतिर पनि विचार पुर्याउन आवश्यक हुन्छ।
७. शारीरिक, घर र वातावरणीय सरसफाइ : हरदिन हातखुट्टा, अनुहार धुन, दाातमुख सफा गर्न, बेलाबेला सफा पानीले नुहाउन, अरू व्यक्तिगत सरसफाई, घरआागन, छरछिमेक, वातावरणमा भएका झाडी, फोहर हटाउन, नाला, सागल, गोठ आदिको सरसफाइ गर्न आवश्यक छ। यसले रोगजन्य कीटाणु, रोग फैलाउने कीटपतंग, लामखुट्टे, झिंगा आदि नियन्त्रणमा सघाउ पुग्छ।
८. स्वस्थ घर र चर्पी : अब हाम्रा घर यस्ता बनाऔं जसको जग मजबुत होस्, धेरै ठूलोभन्दा पनि खाडिलो होस्, पर्याप्त भेन्टिलेसन र उज्यालो होस्। अनिवार्य रूपमा पर्याप्त संख्यामा चर्पी रहोस्, मिले बारी, करेसा वा फूलबारी पनि होस्। भुकम्प प्रतिरोधी, बालमैत्री र अपांग सहयोगी खालको बनाऔं। घरको पर्यावरण यस्तो बनाऔं जहाँ केही पर्दा गाडी, दमकल, एम्बुलेन्स छिरोस्। छरछिमेक कसैको कारण समस्या झेल्न नपरोस्। ढलनालको राम्रो प्रबन्ध होस्। भूकम्पको आहतबाट बौरिएर घर, समाज र धरोहरको पुनर्निर्माणतिर ध्यानाकृष्ट हुँदै गरेको यो बेला र पछि पनि स्वास्थ्यका लागि स्वस्थ घरको यो आवश्यकता हामी नभुलौं। व्यक्ति, परिवार, स्थानीय निकाय र सरकार सबैले यो विपद्बाट यस्तो पुनर्निर्माणका लागि अवसर बनाउनेतिर लागौं, खाली सजिलो मात्र नहेरौं, पछिसम्मका लागि सोचौं।
९. चोटपटक र दुर्घटनादेखि सावधानी : चारैतिर भत्केढलेका घर, पर्खाल छन्। चोटपटक लाग्ने सम्भावना ज्यादा भएकोले होसियारी अझ आवश्यक भएको छ। सवारी साधन चलाउँदा, खेतजंगल वा कुनै पनि स्थानमा काम गर्दा दुर्घटना भई चोटपटक नहोस् भन्ने कुरामा पनि ख्याल पुर्याऔं। निर्माण कार्यमा संलग्न हुँदा पनि हेल्मेट, पन्जा र यस्तै सुरक्षा सामग्रीको प्रयोग गरौं। चर्केभत्केका भवनमा जानअघि जानकार व्यक्तिबाट सुरक्षित भएको सुनिश्चित पनि गराऔं।
१०. स्वच्छ हावा र पर्यावरण : धूलकण, धुावा, ध्वनि, दुर्गन्ध आदिले वातावरण प्रदूषित हुनेगर्छ। धूँवारहित चुल्हो र चिम्नीको प्रयोग, धूलोधूवाँको नियन्त्रण, धुप, सेन्ट वा यस्तै कुराको प्रयोगमा कमी, सरसफाइ, घरमा पर्याप्त भेन्टिलेसन र बेलाबेला चुन छर्किने, बोटबिरुवा र हरियाली बढाउनेजस्ता तरिकाहरू अपनाएर पर्यावरणमा हावा स्वच्छ राख्न सहयोग पुग्छ। हुल र भीडमा बस्नैपर्ने बाध्यात्मक परिस्थितिमा मास्क पनि लगाउन सकिन्छ।
११. मौसम अनुकूल सावधानी : हावापानी र मौसमअनुसार सावधानी अपनाउन आवश्यक हुन्छ, जस्तै: जाडोमा हातखुट्टा, ओंठ फुट्न सक्छ र त्यसको लागि नरम बनाउने खालका क्रिम लगाउन सकिन्छ। गर्मीमा पर्याप्त पानी र झोलकुराको सेवन जरुरी हुन्छ।
१२. सुहाउँदो र आरामदायी पहिरन : आफ्नो परम्परा, सास्कृति, वेशभूषा, काम, परिस्थिति र माहोलअनुसारको उपयुक्त र आरामदायी पहिरणले व्यक्तिको व्यक्तित्व झल्काउने मात्र होइन, स्वास्थ्यमा समेत असर पार्दछ। अत: यसतिर पनि सजग हुन आवश्यक छ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

