
|
|
चितवन–संविधान जारी भए लगत्तै एकीकृत नेकपा (माओवादी)सँग सम्बन्ध विच्छेद गरेका बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति अभियानको प्रचारमा समर्थकले आइतबार बिहान नारायणगढमा सडक बढारेका छन्।
नयाँ अभियानलाई सघाउँदै आएका चितवनका पुराना माओवादी नेता कार्यकर्ताहरु सेतो टोपी लगाएर कुचो लिएर सडकमा आएका थिए। कम्युनिष्टहरु रातो रंगको प्रयोग गर्छन् । त्यस विपररित बाबुराम समर्थकहरु सेतो टोपीमा देखा परेका थिए । माओवादीका पुर्व जिल्ला सेक्रेटरी रहेका रमेश रेग्मीको संयोजकत्वमा चितवनमा नयाँ शक्ति अभियानका कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ। नयाँ शक्तिको जिल्ला स्तरको पहिलो सार्वजनिक कार्यक्रम भएको रेग्मीले जानकारी दिए ।
बाबुराम भट्टराईकै उपस्थितिमा तिहारअघि नारायणगढमा कार्यक्रम भएको थियो। सोही कार्यक्रममा सहभागि भएको आरोपमा एकीकृत नेकपा (माओवादी)ले रेग्मीसहित चारजना नेतालाई पार्टीबाट निस्कासन गरेको थियो। नयाँ शक्तिको अभियानमा चितवनमा माओवादीमा लागेका तर विगतमा पनि बाबुराम पक्षधर भनेर चिनिएका नेता कार्यकर्ताहरु मात्रै देखा परेका छन्।
'आजै नै कार्यालय राख्छौं । विस्तारै अभियान बढ्दै छ । माओवादीका मात्रै नभएर अन्य पार्टी र नागरिक समाजबाट पनि हामीलाई सहयोग हुने सम्भावना बढेको छ । केही समयभित्रै धेरै नै हाम्रो अभियानमा प्रत्यक्ष सामेल हुने छन्,' रेग्मीले भने । 'धेरै गर्यौं आन्दोलनमुखी राजनीति अब गरौं विकासमुखी राजनीति' भन्ने नारा लेखिएको प्लेकार्ड बोकेर कार्यकर्ताहरु सडक बढार्दै थिए ।
'राष्ट्रियता संकटमा छ यस्तो बेलामा कसैलाई गाली गरेर आफू राष्ट्रवादी देखिन खोज्नु झनै घातक हो । बलियो अर्थतन्त्र निर्माणमा नलागे कुरा मात्रै गरेर बसे त्यो खोक्रो राष्ट्रवाद हुन्छ,' कार्यक्रममा बोल्दै रेग्मीले भने । नारायणगढ पुलचोकबाट सडक बढार्दै लायन्सचोकसम्म आएर कार्यक्रम समापन गरिएको थियो।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

