
|
|
अन्जली रम्तेल
काठमाडौँ, ३ पुस । उमेरले सात दशक पुगिसक्दा पनि अभिनयको मोहले कत्ति पनि छाड्न सकेको छैन अभिनेत्री भुवन चन्दलाई । पहिलो नेपाली चलचित्रको रुपमा इतिहास बनाउन सफल ‘आमा’ की नायिका चन्द बिपी कोइरालाको तीन घुम्तीमाथि बनेको चलचित्रमा अभिनय सकेर अहिले फुर्सदमा हुनुहुन्छ ।
‘आमा’ भन्दा अघि ‘माइतीघर’ बन्ने र त्यसकी नायिका माला सिन्हाकी छोरीको चरित्रमा अभिनय गर्ने पक्कापक्की भए पनि कारणवश ‘माइतीघर’ समयमा बन्न नसक्दा ‘आमा’ ले कीर्तिमान कायम ग¥यो । अहिले पनि नेपाली दर्शकले उहाँलाई नेपालको पहिलो नायिकाका रुपमा चिन्छन् ।
‘आमा’ पछि उहाँले ‘हिजो आज भोलि’ चलचित्रमा नायिकाको भूमिका खेल्नुभयो । त्यसपछि भने उहाँ चरित्र अभिनयमार्फत दर्शकमाझ आउनुभयो । “नायिकाको उमेर तय हुँदोरहेछ” – उहाँले भन्नुभयो – “म नायिका भएर आमा खेल्दा १५÷१६ वर्षकी हुँदी हुँ । दोस्रो चलचित्रमा नायिका भइसकेपछि मेरो उमेरले नायिका हुन दिएन । २५÷२६ वर्षकै उमेरदेखि म चरित्र अभिनयमा जमेँ । म स्टेज कलाकार भएकाले नायिका हुनु र चरित्र अभिनेत्री हुनुमा खासै फरक थिएन । दुवैमा म अभिनय देखाउन सक्थेँ ।”
दश वर्षको उमेरमा नै ‘अन्धोवेग’ नाटकबाट बालकलाकारको भूमिकामा उहाँले अभिनय यात्रा सुरु गर्नुभएको थियो । त्यतिबेलाको समयलाई स्मरण गर्दै उहाँले भन्नुभयो – “मेरा सहयात्री बसुन्धरा, चैत्यदेवीहरु थिए । ‘आमा’का लागि हामी सबैलाई अन्तर्वार्ताका लागि बोलाइएको थियो । त्यतिबेला म नाचघरमा जागिरे भइसकेको थिएँ । हाकिमले ‘नेपाली फिल्म बन्ने भएको छ त्यसका लागि तिमीहरु अन्तर्वार्ता दिन जानुपर्छ’ भन्नुभयो । भारतबाट हीरासिंह खतिवडा आउनुभएको थियो हामीसँग अन्तर्वार्ता लिन । हामी सबैले अन्तर्वार्ता दियौँ । म नायिकाका रुपमा छनोट भएँ । बसुन्धरा, चैत्यदेवी चरित्र अभिनयका लागि छानिए ।”
रेडियो नेपालका अङ्ग्रेजी समाचार वाचक हरिश चन्द (माइकल) सँग २०३३ सालमा विवाह भएपछि उहाँको अभिनयले झन् गति लियो । विगतको स्मरण गर्दै उहाँले भन्नुभयो – “मलाईभन्दा पनि मेरो श्रीमान्लाई अभिनय धेरै मनपर्छ । उहाँले अभिनयका लागि समर्थन जनाइदिनु भएपछि घरका अन्य सदस्यको पनि स्वीकृति मिल्यो । त्यसपछि म चलचित्रमा भन्दा बढी रङ्गमञ्चमा व्यस्त हुन थालेँ । चार÷पाँच वर्षमा एउटा चलचित्र बन्न थाल्यो । नयाँ कलाकार पनि विस्तारै जन्मिन थाले । हामीले चलचित्रमा काम गर्न सुरु गर्दा कलाकार नै पाइन्नथ्यो, त्यसपछि विस्तारै नयाँ कलाकार पनि देखिन थाले ।”
आफ्नो पालामा बन्ने चलचित्र परिवारका सदस्य सबै बसेर हेर्न मिल्ने बन्थ्यो भने अहिलेका चलचित्र एक्लैएक्लै हेर्नुपर्ने कथावस्तुको बन्ने गरेकामा भने उहाँको गुनासो छ । “३÷४ वर्ष अगाडि बनेको चलचित्र हेर्दा लाग्थ्यो अब नेपाली चलचित्र उद्योग खत्तम हुने अवस्थामा पुग्यो तर अहिले विस्तारै नेपाली चलचित्र राम्रो हुन थालेको छ । चलचित्र पढे लेखेका कलाकार र निर्देशक आउन थालेपछि नेपाली चलचित्रमाथि उठ्न थालेको छ” – उहाँले सुनाउनुभयो ।
अहिलेका कलाकार आफ्ना क्षमतामा भन्दा बढी कृपावादतिर उन्मुख भएकामा उहाँलाई चिन्ता लाग्छ । उहाँले भन्नुभयो – “हामी कलाकार सबैका हौँ तर अहिले त कलाकारसमेत राजनीतिक पार्टीको भागबन्डामा परेका छन् । कामको मूल्याङ्कनभन्दा पनि कुन पार्टीका कलाकारको पालो हो भन्नेतिर लाग्छन् । त्यस्ता कलाकारले नै स्थान पाइरहेका छन् ।”
नयाँ कलाकारले पुराना कलाकारलाई सम्मान नगर्ने प्रवृत्ति देखेर अचम्म लागेको बताउने कलाकार भुवन आफ्ना पालामा ‘सिनियर’ कलाकार भनेपछि मनैदेखि श्रद्धा जाग्ने गरेको अनुभव सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “अहिलेका कलाकार त पुराना कलाकारलाई देखेको नदेखे झैँ गरेर हिँड्छन्, त्यसलाई भने सुधार्नुपर्छ अहिलेका कलाकारले, सबै कलाकार राम्रा छन् । उनीहरुको काम पनि राम्रो छ । तर संस्कार पनि राम्रोे चाहिन्छ ।”
उहाँका तीन छोरी भए पनि कोही अभिनयमा छैनन् । सबैले केही समय सञ्चार क्षेत्रमा बिताए पनि अहिले सबै अमेरिकामा छन् । उहाँ भने जीवन रहेसम्म अभिनयमा लागिरहने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – “बाल्याकालदेखि नै अभिनयको स्वाद बस्यो अब यो उमेरमा अरु के गरुँ ?”

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

