
|
|
२०५१ सालपछि सत्तामा उदाएका एमाले र २०६३ पछि सत्ता राजनीतिमा आएका एमाओवादीका नेताहरुको ढुकुटीमा करोडौं सम्पत्तिदेखि, सुनचाँदी र जवाहरतसम्म
वामपन्थीहरुको वर्चश्व भएको सरकार हो– वर्तमान सरकार । जसको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका छन् । यो सरकारमा राप्रपा नेपालले पनि सहकार्य गरेको छ । यद्यपी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित केही साना दलहरुलाई समेट्न बाँकी रहेको ओली क्याबिनेटमा ६ जना उपप्रधानसहित २४ जना मन्त्री, ४ जना राज्यमन्त्री र २ जना सहायकमन्त्री गरी ३० जना छन् । यी मन्त्रीहरुमध्ये १९ जना मन्त्रीहरु कम्युनिष्ट पृष्ठभूमीका छन् ।
खासगरी, वर्ग संघर्षको पृष्ठभूमीबाट राजनीतिमा उदाएका हुन्छन्, कम्युनिष्टहरु । तर, ओली क्याबिनेटका कम्युनिष्ट मन्त्रीहरुको आर्थिक हैसियत भने त्यो पृष्ठभूमीको देखिदैंन् । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विवरण हेर्दा बाहिर गरिबी पृष्ठभूमीबाट आएको भाषण छाट्ने कम्युनिष्ट मन्त्रीहरु जन्मजात करोडपति रहेको देखिन्छ ।
ओली क्याबिनेटमा ६ उपप्रधानमन्त्री मध्ये विजयकुमार गच्छदार र कमल थापा मात्र गैर कम्युनिष्ट पुष्ठभूमीका हुन् । अन्य ४ जना भीम रावल, सिपी मैनाली, चित्रबहादुर केसी र टोपबहादुर रायमाझी सबै वामपन्थी पृष्ठभूमीका हुन् ।
तर, यिनै कम्युनिष्ट मन्त्रीहरु करोडौं सम्पत्तिका मालिक छन् । ती मन्त्रीहरुसँग लाखौं बैंक ब्यालेन्स, शेयर, घरजग्गा, सुन चाँदी लगायतका बहुमुल्य धातुहरु छन् । पटक–पटक मन्त्री भएका र लाभको पदमा बसेकाहरुको सम्पत्ति बढ्दै गएको उक्त सम्पत्ति विवरणबाट खुल्न आएको छ । उनीहरुले आफ्नो करोडौं सम्पत्तिको आयस्रोत पैतृक, पारिश्रमिक र परिवारका सदस्यहरुको व्यवसायदेखि दाइजोसम्मलाई देखाएका छन् । यस्तो छ, ओली क्याविनेटका मन्त्रीहरुको सम्पत्ति विवरण
केपी ओली, प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनको र उनकी श्रीमती राधिका शाक्यका नाममा विभिन्न बैकमा गरी ३६ लाख नगद रुपैयाँ छ ।
१४ तोला सुनचाँदीका गहना रहेको कुरा पनि ओलीले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यसैगरी, ओलीसँग झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ भने भक्तपुरको अनन्तलिङगेश्वर नगरपालिकामा साढे २ आनामा बनेको घर छ ।
भीम रावल, उपप्रधान तथा रक्षामन्त्री
अछाम पुख्र्यौली घर भएका कम्युनिष्ट नेता हुन्, भीम रावल । उनी ओलीको क्याबिनेटमा तेस्रो बरियतामा छन् । रावलसँग काठमाडौंको टोखामा श्रीमती संजीता रावलको नाममा ४२०.६६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको झण्डै एक करोड बढीको बंगला छ ।
रावलको आफ्नै नाममा अछामका दुई ठाउँमा जग्गा छ भने उनकी बुहारी आकृती गिरीका नाममा पनि काठमाडौंमा जग्गा छ ।
यसैगरी रावलसँग ५८२ ग्राम सुनका गहना, ३ वटा हिराको हार र औठी, १० वटा बहुमुल्य रत्नसहितका गहनाका साथै ३ हजार ५६५ ग्राम चाँदी छ । जुन उनले पुख्र्यौली र छोराका विहेमा दाइजोमा प्राप्त भनेर स्रोतमा उल्लेख गरेका छन् ।
यसैगरी उनले छोरा, आफू, बुहारी, श्रीमतीका नाममा काठमाडौंका विभिन्न बैंकमा २० लाख रुपैयाँ भन्दा बढी नगद रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यसअघि पनि पटक–पटक मन्त्री भइसकेका रावलसँग मारुती सुजुकी स्वीफ्ट डिजायर र भीएक्सआई कार रहेका छन् । उनको अपर तामाकोशीमा छोराका नाममा ७३ कित्ता शेयर समेत छ ।
विष्णु पौडेल, अर्थमन्त्री
रुपन्देहीका विष्णु पौडेल ओली क्याबिनेटका अर्थमन्त्री हुन् । एमालेका उपमहासचिव रहेका पौडेल यसअघि पनि पटक–पटक मन्त्री भइसकेका छन् ।
पौडेलसँग ललितपुरको कार्यविनायकमा ४ हजार वर्गफिटमा बनेको बंगला छ । यस्तै काठमाडौंमा उनका छोराका नाममा जग्गा छ ।
पौडेल, उनका छोरा बुहारीको नाममा विभिन्न बैंकमा ६० हजार रुपैयाँ नगद छ भने अस्ट्रेलियामा रहेका छोरा बुहारीको खातामा त्यहीको बैंकमा १३ हजार अस्ट्रेलियन डलर रहेको छ ।
विभिन्न बैक, वित्तीय संस्था र हाइड्रोमा गरी १३ हजार ७ सय ७५ कित्ता शेयर रहेको छ । साथै ३ लाख बढीको बीमा पनि छ ।
सत्यनारायण मण्डल, युवा तथा खेलकुद मन्त्री
एमालेका मधेशका पूराना नेता हुन्, सत्यनारायण मण्डल । उनी ओली क्याबिनेटमा युवा तथा खेलकूद मन्त्री पद सम्हालिरहेका छन् ।
उनको सप्तरीको सप्तकोशी नगरपालिकामा घरजग्गा छ भने सप्तरीकै विभिन्न स्थानमा झण्डै १६ लाख बढीको जग्गा छ । उनीसँग ५ तोला सुन र २ सय तोला चाँदी छ । २ सय तोला चाँदीको मूल्य झण्डैं १ करोड १२ लाख हुन आउँछ । मण्डलसँग १ लाख २८ हजार नगद छ भने एउटा मोटरसाइकल पनि छ ।
अग्नी खरेल, कानुनमन्त्री
प्रधानमन्त्री तथा ओलीका विश्वासपात्र हुन् अग्नी खरेल । एमालेको तर्फबाट सुरुमै सपथ लिएका उनी कानुनमन्त्री हुन् ।
गौरादह झापाका खरेलसँग काठमाडौंमा चार तले घर छ । उनीको श्रीमती र आफ्ना नाममा गरी २ करोड ६९ लाख बढी नगद पैसा छ ।
साथै उनको सिटीसी मलमा पसल समेत छ । ४४ तोला सुन र १०० तोला चाँदी छ उनीसँग ।
जसको मुल्य क्रमशः २१ लाख र झण्डै ५६ लाख हुन आउँछ । खरेलसँग एउटा कार, उनका छोरासँग एक मोटरसाइकल र एक स्कुटर पनि छ ।
शेरधन राई, सञ्चार मन्त्री
एमालेका युवा नेता हुन्–शेरधन राई । पहिलोपल्ट मन्त्री बनेका उनले सूचना, सञ्चार तथा प्रविधी मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । भोजपुरका राईको सम्पत्ति विवरणमा उल्लेख भएअनुसार भोजपुरको थिर्दिखामा उनको पुख्र्यौली घर छ ।
त्यही पुख्र्यौली ७० रोपनी जग्गा पनि । उनीसँग ८ तोला सुन र २० तोला चाँदी छ । यो पनि उनको पुख्र्यौली सम्पत्ति नै हो ।
७ लाख नगद बैक ब्यालेन्स रहेका राईसँग १ लाख १० हजार बराबरको शेयर छ । उनले ७ लाख ऋण लिएका छन् भने ८ लाख ऋण दिएका छन् ।
आनन्द पोखरेल, पर्यटन मन्त्री
नेकपा एमालेबाट पर्यटनमन्त्री बनेका हुन्, आनन्द पोखरेल । दोलखामा स्थायी बासिन्दा पोखरेलको भक्तपुरमा ३ तले घर छ । काठमाडौं, दोलखा र सर्लाहीका विभिन्न ठाउँमा उनको जग्गा छ । उनीसँग ११ तोला सुन छ । जो उनले बुहारीले उपहार पाएको उल्लेख गरेका छन् ।
पोखरेलसँग बैंकमा ९० हजार नगद छ भने विभिन्न ठाउँमा ८ हजार ४ सय ५६ कित्ता शेयर छ । उक्त शेयरको मुल्य झण्डैं ४६ लाख २० हजार बढी पर्ने उनले विवरणमा उल्लेख गरेका छन् ।
उनले आफूलाई ३० लाख ऋण रहेको जनाएका छन् । उनीसँग ११० बाख्रा छन् ।
शान्ता मानवी, विनाविभागीय
पूरानी कम्युनिष्ट नेतृ हुन– शान्ता मानवी । एमालेबाट विनाविभागीय मन्त्री बनेकी मानवीको काठमाडौंको नयाँ बानेश्वरमा झण्डैं ४५ लाख बराबरको घर छ ।
उनको कपिलबस्तुको मोतीपुरमा ९ कठ्ठा जग्गा छ भने झण्डै ९ लाख बैंक ब्यालेन्स छ ।
जुन उनले पैतृक सम्पत्ति र पारिश्रमिकबाट खरिद गरेको उल्लेख गरेकी छिन् ।
एमाओवादी मन्त्रीको बढ्दैंंछ ढुकुटी
टोपबहादुर रायमाझी, उर्जामन्त्री
सम्पत्ति पार्टीकरण जनयुद्धमा होमिने पार्टीको पृष्ठभूमीबाट सिंहदरबारमा पटक–पटक मन्त्री बनेका हुन्–टोपबहादुर रायमाझी । अर्घाखाँचीका रायमाझी ओली क्याबिनेटमा उपप्रधानमन्त्री पाउने अर्का कम्युनिष्ट हुन् । उनले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
एकीकृत माओवादीबाट सरकारको नेतृत्वको गरेका रायमाझीसँग पनि करोडौंको चल÷अचल सम्पत्ति छ । उनको रुपन्देही र अर्घाखाँचीमा घर जग्गा छ । यसैगरी रायमाझीसँग ५९ लाख नगद, ८ तोला सुन र १२५ तोला चाँदी रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
यसैगरी उनीसँग १ पजेरो, २ वटा मोटरसाइकल र १ स्कुटर छ । रायमाझीले ३३ लाख ऋण घर किन्नका लागि ऋण लिएको उल्लेख गरेका छन् ।
शक्ति बस्नेत, गृहमन्त्री
जाजरकोटका शक्ति बस्नेतले गृहमन्त्रालयमा बाजी मारेको भन्नेहरु छन् । जनयुद्धताका जनसेनाको कमिसार रहेका उनले त्यतिबेलाकै आफूभन्दा सिनियरलाई माथ गर्दै गृहमन्त्रालय हात पारेका हुन् ।
सापकोटा आफूलाई किसान परिवारको नेताका रुपमा परिचय गराउँदैं आएका छन् । तर, उनको सम्पत्ति भने लाखौंको छ । जाजरकोटको खलंगामा पैतृक घर र जाजरकोटमै ६ रोपनी जग्गा पैतृक सम्पत्ति छ उनीसँग ।
तर, उनको बुवाले भने चाँदी १ सय किलो थुपारेका रहेछन् । जसको अहिलेको बजार मुल्य करिब ५६ लाख बराबर हुन्छ । यसबाहेक उनीसँग ६ तोला सुन पनि छ । बस्नेतसँग ९ लाख ४० हजार नगद बैक मौज्दात छ भने २ लाख ८० हजार मूल्यको शेयर छ ।
हरिबोल गजुरेल, कृषिमन्त्री
माओवादी शान्ति प्रक्रिया आएपछि लाभको पद नलिएका नेतामा मध्येमा पर्दथे– हरिबोल गजुरेल ।
तर, ओली सरकार बनेसँगै उनलाई पनि लाभको पद प्राप्त भयो । माओवादीका तर्फबाट कृषिमन्त्रीका रुपमा उनले कार्यभार सम्हालिरहेका छन् ।
सिन्धुलीका गजुरेलसँग चितवन र सिन्धुलीमा जग्गा छ । चितवनको जग्गा उनले ससुराली र मावलीबाट प्राप्त भएको सम्पत्ति विवतरणमा उल्लेख गरेका छन् ।
उनीसँग बैकमा नगद छैन भने श्रीमतीले माइतीबाट उपहार पाएको ५ तोला सुन छ । उनी पार्टीको नाममा रहेको स्कोरपियो जीप चढ्छन् ।
गिरिराजमणि पोखरेल, शिक्षामन्त्री
एकीकृत माओवादीको तर्फबाट ओली क्याबिनेटमा शिक्षा मन्त्री बनेका हुन्– गिरिराजमणि पोखरेल ।
खोटाङमा पैतृक सम्पत्ति रहेका पोखरेलको खास घर विराटनगर हो । तर, उनी महोत्तरीबाट चुनाव लड्दै आएका छन् ।
२ लाख १३ हजार नगद पैसा रहेको पोखरेलले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । उनको खोटाङको रुपाकोट सामुदायिक रेडियोमा शेयर रहेको छ ।
अग्नी सापकोटा, वनमन्त्री
सिन्धुपाल्चोकमा अग्नी सापकोटा खाटी कम्युनिष्ट नेताका रुपमा चिनिन्छन् । उनी एकीकृत माओवादीबाट ओली क्याबिनेटमा वनमन्त्री बनेका हुन् ।
सिन्धुपाल्चोकको १८ ठाउँमा पैतृक सम्पत्ति रहेको विवरण उनले सरकारलाई पेश गरेका छन् ।
जो उनले सबै पैतृक सम्पत्तिका रुपमा उल्लेख गरेका छन् । १ लाख नगद बैंक ब्यालेन्स रहेका सापकोटासँग २ तोला सुन छ । जुन उनकी श्रीमतीले दाइजोमा उपहार पाएकी हुन् ।
रेखा शर्मा, सामान्य प्रशासन मन्त्री
एकीकृत माओवादी नेतृ रेखा शर्माले ओली क्याबिनेटमा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।
प्यूठानकी रेखाका प्यूठान नगरपालिकामा २ वटा घर छन् । त्यहाँ विभिन्न ठाउँमा उनको पैतृक सम्पत्तिका रुपमा जग्गा पनि छ ।
रेखासँग ४ तोला सुन र २ तोला चाँदी छ । जो उनलाई विवाहमा उपहारका रुपमा प्राप्त भएको हो । रेखासँग पनि बैक ब्यालेन्स शुन्य छ ।
गणेशमान पुन, वाणिज्य तथा आपूर्तिमन्त्री
वाइसिएलका पूर्व प्रमुख र कुनै बेलाका लडाकू कमाण्डर हुन्, गणेशमान पुन । अहिले आपूर्ति मन्त्रीको कार्यभार सम्हालिरहेका पुनसँग रुकुमको पोखरा र प्वाङ गाविसमा पैृतक सम्पत्तिका रुपमा रहेको घरजग्गा छ ।
एभरेष्ट बैकमा नगद अन्दाजी ५० हजारजति बैक ब्यालेन्स रहेको उनले आफ्नो सम्पत्ति विवरणमा खुलाएका छन् ।
त्यसबाहेक पुनसँग ल्यापटप, मोबाइल र घरायसी सामान सम्पत्तिका रुपमा छन् ।
उमेश यादव, सिंचाई मन्त्री
सिंचाइमन्त्री हुन्, उमेश यादव । एकीकृत माओवादीबाट मन्त्री बनेका सप्तरी लालपट्टीका यादवको पर्सा र सप्तरीका विभिन्न ठाउँमा जग्गा छ ।
उनीसँग ३४ तोला सुन र १५ केजी चाँदी छ । २ विगाहा जग्गामा माछा पालेका सिंचाइमन्त्री यादवले १ सय परेवा समेत पालेका छन् ।
उनले विभिन्न बैकमा नगद रहेको उल्लेख गरे पनि सम्पत्ति विवरणमा रकम खुलाएका छैनन् ।
सुकुम्बासी मन्त्रीसँग के छ ?
लामो वामपन्थी राजनीति जीवनमा बिताएका नेता हुन्, बाग्लुङका चित्रबहादुर केसी । उनी राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत हुन् । उनी ओली क्याबिनेटमा उपप्रधान, सहकारी तथा गरिबी निवारणमन्त्री रहेका छन् ।
लामो समय राजनीतिमा रहेर पनि कहिल्यैं पद नसम्हालेका कारण उनको छवि सर्वहारा नेताका रुपमा रहेको छ । यद्यपी, केसीसँग पनि केही नभएको चाहिँ होइन् । उनीसँग पाटन, बाग्लुङ, रुपन्देही, गोदावरीमा जग्गा छ । जो उनले आफ्ना परिवारका नाममा रहेको उल्लेख गरेका छन् । केसीले यसको स्रोतका रुपमा भने जापानबाट छोराले कमाएको र पुख्र्यौली भनेर उल्लेख गरेका छन् । उनले छोराको कमाइबाट १ तोलाको टप, बुहारीको उपहारमा पाएको ४ आनाको औठी र आफ्नो कमाइबाट एउटा सुनको सिक्री किनेको पनि विवरणमा छ ।
यसैगरी, केसीको नाममा एभरेष्ट बैकमा १ लाख ८६ हजार नगद छ । जुन उनले सांसदका रुपमा पाएको तलबभत्ताबाट प्राप्त भनेर विवरण पेश गरेका छन् । प्रभु बैकमा पनि उनको ४ लाख ८९ हजार रुपैयाँ छ । जो उनले छोराबुहारीले कमाएको उल्लेख गरेका छन् । यसैगरी केसीले झण्डै ८ लाख बढी ऋण रहेको पनि सम्पत्ति विवरणमा खुलाएका छन् ।
जसले सम्पत्ति विवरण बुझाएका छैनन्
यसबाहेक ओली क्याबिनेटका अन्य कम्युनिष्ट मन्त्री उपप्रधान तथा महिला, बालबालिका तथा समाजकल्याण सिपी मैनाली, उद्योगमन्त्री सोमप्रसाद पाण्डेले सम्पत्ति विवरण पेश गरेका छैनन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

