
|
|
पुरानो रानीपोखरीलाई म्युजिकल वाटर फाउन्टेन पार्कमा फेर्ने तयारी
नविन अर्याल
२३ मंसिर, काठमाडौं । राजधानीको मुटुमा प्रताप मल्लका पालामा खनिएको ऐतिहासिक रानीपोखरीको मुहार अब परिवर्तन हुने भएको छ । रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गरिने भएको छ ।
राजधानीमा घुम्न जाने महत्वपूर्ण ठाउँको अभाव हटाउन महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको छ । विदेशको झल्को मेटाउने गरी बनाउन लागिएको पार्क आगामी तिहारसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजकहरु बताउँछन् ।
रानीपोखरीमा रंगीन ‘वाटर फाउन्टेन’ तयार भइसकेको छ । छेउमा बस्नका लागि पार्क निर्माण कार्य चाँडै सुरु हुने महानगरका पब्लिक वर्क कन्सट्रक्सन प्रमुख डा. उत्तरकुमार रेग्मीले अनलाइनखबरलाई बताए ।
‘पार्कको डिजाइन तयार भइसकेको छ, पुरातत्व विभागले स्वीकृति दिने वित्तिकै काम अगाडि बढिहाल्छ’ रेग्मीले अनलाइनखबरसँग भने- ‘एक महिनाभित्र टेन्डर आहृवान गरी कामको जिम्मा लगाउँछौं ।’
भिडियो
रानीपोखरीबाहेक राजधानीमा साँझमा घुम्न जाने पार्क अहिलेसम्म बनेको छैन । रानीपोखरी पार्कमा परिणत भएपछि उक्त अभाव हट्ने विश्वास गरिएको छ । रानीपोखरीलाई खासगरी साँझको गन्तव्यका रुपमा विकास गर्न लागिएको हो ।
रानीपोखरीमा रंगीन पानीका फोहोरा हेर्दै रमाउन पाइने छ । अहिले भइरहेको मन्दिरलाई नबिगारिने रेग्मीले बताए । बरु त्यसलाई बलियो बनाइनेछ । रानीपोखरी वरिपरि गार्डेन हुनेछ, घुम्नका लागि दुईवटा बाटा बनाइने छ । दुबै बाटोमा हिँड्दा डेढ किलोमिटर यात्रा गरिएको हुनेछ । एउटा छेउमा कफीसप हुनेछ ।
पार्कमा आकर्षक लाइट राखिने छ । चौबीसै घण्टा लाइनको व्यवस्था हुनेछ । रानी पोखरी पार्कमा परिणत भएपछि सर्वसाधारणका लागि खुल्ला गरिनेछ । अहिले तिहार र छठ बाहेकको समयमा रानीपोखरीमा प्रवेश गर्न पाइँदैन ।
पानीको फोहोरा मात्र होइन, पोखरी वरिपरिको भागसमेत विभिन्न कलरको लाइटले सजाइनेछ । जसले गर्दा पार्कमा आउने आफन्तलाई फलानो कलर भएको ठाउँमा आउनुस् भनेर सजिलै बोलाउन सकियोस् ।
‘अहिले रानीपोखरीमा कोही पनि छैनन् र कोही पनि जाँदैनन्’ रेग्मीले भने- ‘भोलि धेरै कुरा हुनेछ र सबैजना पुग्नेछन् ।’ १६७० सालमा प्रताप मलले आफ्नी रानीलाई पुत्रवियोग भुलाउन रानीपोखरी निर्माण गरिदिएका थिए ।
अहिले राजधानी आउनेहरु जसरी पशुपति, स्वयम्भू भन्दै धाउँछन, त्यसरी नै रानी पोखरी पनि धाउने रेग्मीले बताए । स्वदेशीमात्र होइन, विदेशी पनि एउटा साँझ रानीपोखरीमा बिताएर फर्किनेछन् । पार्कमा परिणत भएपछि रानीपोखरीमा २/४ मज्जाले बिताउन सकिने उनको भनाइ छ ।
पार्क बनाउनका लागि १० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यसअघि नै वाटर फाउन्टेन बनाउन ३ करोड रुपैयाँ खर्च भइसकेको छ । रंगीन पानीका फोहोरा फालिने हुँदा सञ्चालन लाग्न महंगो हुने अनुमान गरिएको छ । तर, रानीपोखरीबाट कम्तिमा पनि दैनिक एकलाख रुपैयाँ आम्दानी हुने रेग्मी बताउँछन् ।
पार्कमा १४/१५ सयजनाको क्षमता हुनेछ । मानिसको आउने जाने क्रम जारी रहने हुँदा दैनिक २ देखि ५ हजार जना रानीपोखरी पुग्ने अनुमान गरिएको छ ।
विस्तारै खुल्लामञ्चदेखि रानीपोखरीसम्म एकीकृत विकास गरी पार्क बनाउने लक्ष्य महानगरपालिकाको छ । खुल्लामञ्चमा कलरफुल टायल बिछ्याउने, जहाँ कार्यक्रम गर्न सकियोस् ।
‘मानिस २ घण्टा खुल्लामञ्चमा बिताओस्, त्यसपछि दुई घण्टा रत्नपार्कमा बिताओस्, साँझ भएपछि रानीपोखरीको वाटर फाउन्टेन हेर्न आओस्’ रेग्मीले अनलाइनखबसँग भने- ‘यसरी कम्तिमा ६ घण्टा भुलाउने गरी पार्क निर्माण गर्ने लक्ष्य रहेको छ ।’
रानीपोखरी पार्कलाई विस्तार गर्दै जाँदा भोलिका दिनमा महानगरीय प्रहरी कार्यालयलाई स्थानान्तर गर्नुपर्ने सम्भावना रहेको रेग्मीले बताए । विदेशमा मानिसलाई भुलाउन प्रशस्त मनोरञ्जन पार्क बनाउने गरेको उल्लेख गर्दै उनले बालाजु पार्कको पनि स्तरोन्नति गर्ने बताए ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |


