
|
|
घुस नदिएको भन्दै १ दर्जन नेपाली चालक कुटिए
नरेश केसी
भैरहवा, १६ मंसिर । करिब ३ महिनादेखी भारतीय नाकाबन्दीको कारण मुलुकको जनजीवन कष्टकर भएको छ ।
भारतले एकातिर नाकाबन्दी गरेर दुःख दिएको छ भने अर्कोतिर सीमावर्ति बजारमा नेपालीहरुमाथि ज्यादती गर्न थालेको छ । नेपालगन्जको जमुनिहया नाकामा सर्वसाधरणमाथि ज्यादती मच्चाएको भारतीय सुरक्षाकर्मीले पछिल्लो समय भैरहवा सुनौली नाकामा पनि ज्यादती मच्चाउन थालेको छ ।
तेस्रो मुलुकबाट आएका समानहरु कलकत्ता बन्दरगाहबाट लोडगरी नेपालतर्फ हिडेका गाडीहरुलाई भारतीय प्रहरीले सीमावर्ती सुनौली बजारमा रोकिदिएको छ । भारतीय प्रहरीले अन्तर्राष्ट्रिय पारवाहन सन्धि विपरित ती मालबाहक कन्टेनर तथा गाडीहरुलाई रोक्दा सुनौली गोरखपुर हाइवेमा गाडीहरुको लाइन छ । सो क्षेत्रमा १७ किलोमिटर दक्षिण कोलुही सम्म करिब ५ हजार गाडीहरु एक महिनादेखी लामबद्ध रहेका छन् ।
एक महिना अघि टोकन लिएर लाइनमा बस्दा समेत पालो नपाएर निराश भएका नेपाली गाडीका चालकहरु सीमावर्ति भारतीय बजारमा भारतीय प्रहरीबाट कुटिन थालेका छन् । विरगन्ज रक्सौल नाकाबाट नेपाल भित्रीने भनि महिना दिन भन्दा बढी रक्सौलमा बस्दा वाक्क भएका नेपालमा भित्रीन थालेका गाडीहरु रि रुट प्रयोग गरि सुनौली भैरहवा नाका तर्फ हानिएका थिए ।
विरगन्ज रक्सौल नाकामा मधेसी मोर्चाले रोक लगाएपछि रि रुट प्रयोग गरि सुनौली भैरहवा नाका हुदैं नेपाल भित्रीने तयारी गरिरहेको कन्टेनर, ट्रकका चालकहरुलाई भारतीय प्रहरी र भारतीय भन्सारका कर्मचारीले हातपात गरेका हुन् । उनीहरुले नेपाली चालकको घाटी च्यापेर बाहिर निकाल्ने गरेको गुनासो पनि सुनिन् थालिएको छ ।
भारतीय सुरक्षाकर्मीले एउटा गाडी बापत न्यूतम ३० हजार भारु देखी १ लाख भारु सम्म घुस हाकिंदाऊ माग्ने गरेका छन् । पैसा नदिने गाडी चालकलाइ कुटपीट गर्न थालेका छन् । भारतीय प्रहरीको कुटपीटबाट सख्त घाइते भएका चालक सन्जोग थापा मगरले भने “ भारतीय प्रहरीले खुलेआम तोकेर घुस माग्ने गरेको र जुन गाडीले घुस दिन्छ त्यसलाई लाइनमा बस्न दिएको र नदिने गाडीलाई जताबाट आएको हो त्यतै फर्काउने गरेका छन् ।” उनले भने “पैसा नदिएकै कारण म माथी कुटपीट भयो । ”
भारतीय सुरक्षाकर्मीको चरम कुटपीटबाट घाइते भएका चालकहरुले लिखीत रुपमा सीमावर्ति नेपाल प्रहरीको सीमावर्ति पोस्ट बेलहिया इप्रकामा ज्यानधनको सुरक्षा र दोषी माथी कारबाहिको माग गर्दै निवेदन समेत दिएका छन् ।
भारतीय सुरक्षाकर्मी र तिनका दलालहरुको ज्यादतीबाट घाइते भएकाहरु मध्ये ना ३ ख ८६६ का सन्जोग थापाको हात भाचिंएको छ । यसैगरी ना ४ ख २४५१ क काजि अधिकारी सख्त घाइते भएका छन् । ना ५ ख ५८०७ का सुरेश लामा, ना ५ ख ३३७६ का सन्तोष गुरुंग, ना ५ ख ८३६७ का नविन उप्रेति, ग १ ख ४३७८ का गोरख कार्कि, ना ४ ख ९९०४ का लक्ष्मण शाह, ना ३ ख ५२०१ का तिलक घले घाइतेहरुले संयुक्त रुपमा ज्यानधनको सुरक्षा गरिदिन र न्याय पाऊ भन्दै इप्रका बेलहियामा लिखित निवेदन दिएका छन् ।
चालकहरुले आफुहरुले समान लोड गरि भारतबाट नेपाल तर्फ आउने क्रममा भारतीय प्रहरीले कुटपीट गरेको भन्दै उजुरी दिएका हुन् । चालकहरुको उजुरीपछि इप्रका बेलहियाका इन्चार्ज प्रहरी निरीक्षक अभयविक्रम शाहले समकक्षी भारतीय प्रहरीलाई सचेत गराएको बताए ।
भैरहवा बुद्धचौंकका एमआरएफ टायरका अधिकृत विक्रेता बालाजी सप्लायर्सका नयन पाण्डेले ३० हजार भारतीय रुपैया भारतीय प्रहरीलाई घुस दिएर एउटा गाडी छुटाएको बताए । भैरहवा भन्सार परिसरमा भेटिएका उनले भने “ कसरी काम गर्ने हो ? एउटा गाडीको ३० हजार भारु तिर्नुपर्ने बाध्यता छ । नत्र गाडी लाइनमै बस्न दिन्न । पैसा तिरेको एक हप्तापछि बल्ल एउटा गाडी नेपाल भित्रीयो । ”
पाण्डे जस्तै जिप्सन , फ्लाइअस , आइरन, स्टिलका मालबाहक ट्रक तथा साना गाडी लिएका ठूला ठूला कन्टेनरले न्यूनतम ३० हजारदेखी १ लाख सम्म भारतीय रुपैयां नदिए लाइनमा बस्न नपाएको व्यवसायीहरु बताउंछन् । मर्नुभन्दा बहुलाउन निको भने झै महिनौ दिन सम्म असुरक्षीत भएर भारतीय रुटमा बस्नु भन्दा घुस दिएर गन्तब्यमा पुग्नु ठीक लागेर आफुले ५५ हजार भारु घुस दिएर नेपाल भित्रीएको कन्टेनर चालक रविन्द्र गुरुंगले बताए । उनले भने “ दुखः त कति पाइयो कति ? त्यसमा पैसाको खोलो बगाएर आउने हो । के गर्ने पैसा नतिर्ने, घुस नदिने हो भने भारतीय प्रहरीले आउनै दिन्न । ”
कलकत्ता बन्दरगाहबाट छुटेको १५ दिनभित्र गाडी पुनः त्यो कलकत्ता नै नपुगेमा चर्को विलम्ब शुल्क लाग्ने प्रावधानको कारण पनि आयतकर्ता जत्ति घुस पनि बाध्य भएका हुन् । कलकत्ता बन्दरगाहबाट गाडी छुटेको १५ दिनभित्र गाडी पुनः कलकत्ता नपुगे प्रतिदिन आयतकर्ताले न्यूतम १० हजार भारतीय रुपैयां विलम्ब शुल्क तिर्नुपर्ने प्रावधान छ । जसको कारण आयतकर्ताले जसरी भएपनि गाडी छुटाउने ध्याउन्नमा छन् ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

