Home » » मलेसियामा नेपाली कामदार पीडा:‘बिदा बसे तलबै रोकिन्छ’

मलेसियामा नेपाली कामदार पीडा:‘बिदा बसे तलबै रोकिन्छ’

काठमाडौं, पुस १२ । रोजगारीका लागि मलेसिया आएकी चितवनकी कमला बराल सोचेअनुसारको कमाइ नहुँदा निराश बनेकी छन् ।
मलेसिया छिर्दासम्म उनलाई राम्रै कमाइ गरेर नेपाल फर्किन्छु भन्नेमा पूर्ण विश्वास थियो । नेपालबाट पठाउने म्यानपावर कम्पनीले निकै राम्रो कमाइ हुन्छ भन्ने आश्वासन पनि दिएको थियो ।
तर यहाँ आएर काम गर्न थालेपछि थाहा भयो– मलेसियामा कमाएको पैसाले त ऋण तिर्नमात्र पुग्ने रहेछ । कमला रोजगारीको खोजीमा मलेसिया आएको एक वर्ष भइसकेको छ । मासिक नौ सय रिंगेट कमाउन पनि मुस्किल परेको उनले बताइन् ।

‘ओभरटाइम पाएका बेलामा भने १२ सय रिंगेटसम्म हुन्छ’, उनले भनिन् । नेपालमा म्यानपावर कम्पनी र एजेन्टलाई उनले एक लाख रुपैयाँभन्दा बढी पैसा तिरेकी थिइन् ।
नेपालमा गरिएको सम्झौताअनुसार कम्पनीले तलब, सुविधा र बिदा केही पनि नदिएको उनले बताइन् । ‘बिरामी भएर एक दिनमात्र बिदामा बस्दासमेत कम्पनीले तलब नै रोकिदिन्छ’, उनले भनिन् ।
सीसीटी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने उनलाई एक दिन बिदामा बस्दा कम्पनीले एक महिनाकै तलब रोकिदिएको छ । बानेश्वरस्थित बीएम ओभरसिजबाट मलेसिया आएकी उनले आफूजस्तै सीसीटी इलेक्ट्रोनिक्स कम्पनीमा काम गर्ने अन्यले पनि सम्झौताअनुसार तलबसुविधा नपाएको बताइन् ।
कम्पनीमा काम गर्दा नेपालमा गरिएको सम्झौताअनुसारको सुविधा नपाएको कमलाको गुनासो छ । ‘महिनामा तीसै दिन काम गर्नुपर्छ । बिरामी बिदासम्म पाइँदैन, अन्य बिदाको कुरै नगरौं’, उनले भनिन्, ‘तर पनि भनेजस्तो तलब सुविधा छैन ।’ सामान्यतया आठ घन्टा काम गरेबापत २६ दिनको ९ सय रिंगेट पाउनुपर्ने यहाँको सरकारी नियम भए पनि कमलाले काम गरिरहेको सेले¨रङ राज्यको यस कम्पनीले विदेशी कामदारलाई त्यो सुविधा दिएको छैन ।
महिलामात्र काम गर्ने यस कम्पनीमा नेपालीबाहेक म्यानमार र इन्डोनेसियाका कामदार पनि छन् । सन् २०१३ मा यहाँको सरकारले सबै श्रमिकलाई न्यूनतम तलब ९ सय रिंगेट घोषणा गरी सन् २०१४ बाट सबै कम्पनीले यो नियम अनिवार्य लागू गर्नुपर्ने निर्देशन दिएको थियो । सरकारले यो नियम लागू गरे पनि कतिपय कम्पनीले न्यूनतम तलब दिन आनाकानी गरिरहेका छन् ।
महोत्तरीका सोमफी महतोलाई नेपालका म्यानपावरले सेले¨रङको मुवा मोडेक्सभी प्लास्टिक कम्पनीमा काम गर्न आउँदा १२ सय ४८ रिंगेट कमाइ हुने आश्वासन दिएका थिए ।
दुई वर्षअघि उनीसहित ६ जना नेपाली कामदार एक लाख ४० हजार तिरेर उक्त कम्पनीमा आएका थिए । कम्पनीले ९ सय न्यूनतम तलब दिए पनि लेबी, होस्टेल र पानीको शुल्क भन्दै २ सय ६० रिंगेट काट्ने गर्छ । ‘महिनाभर काम गर्दासमेत ७ सय रिंगेटभन्दा बढी कमाइ हुन सक्दैन’, उनले भने, ‘घर फर्किऊँ भने तीन हजारभन्दा बढी रकम कम्पनीले माग्छ । त्यत्रो पैसा कहाँबाट जुटाउनू ?
’उक्त कम्पनीमा काम गर्ने नेपाली कामदारको उपचारका नाममा पैसा काट्ने गरिए पनि बिरामी हुँदा लाग्ने रकम भने कामदारले नै तिर्नुपर्छ । ‘सामान्य बिरामी हुँदा बिमार लुकाउनुको विकल्प छैन’, उनले भने ।
यस्तै अर्घाखाँचीका राधेश्याम भुसाललाई नेपालको म्यानपावरले कम्पनीको काम भन्दै मलेसिया पठायो । हाल उनी कन्ट्र््याक कम्पनीअन्तर्गत काम गर्छन् । नेपालमा भएको श्रमसम्झौताअनुसार सेवासुविधा नपाएको उनले बताए ।
नेपालबाट डाइरेक्ट कम्पनी भनेर म्यानपावरले पठाए पनि त्यसअनुसार सेवा सुविधा नपाएको उनको गुनासो छ । भनेजस्तो तलब सुविधा नहुँदा सोचेजस्तो कमाइ नभएकोमा उनी पनि निराश छन् ।
नेपालबाट श्रमिक मलेसिया पठाउँदा सीधै कम्पनीको भिसामा मात्र पठाए श्रम समस्या कम हुने नेपाली दूतावास मलेसियाका श्रमसहचारी बुद्धिनाथ भट्टराईले बताए । मलेसियाका कम्पनीले नेपालमा गरिएको सम्झौताअनुसार तलब दिँदैनन् । रिंगेटको भाउ घट्दा कामदार अझ बढी मारमा परेका छन् ।
दुई वर्षअघि एक रिंगेटबराबर ३३ नेपाली रुपैयाँ सटही दर हुने गरेकोमा अहिले २४ रुपैयाँमा झरिसकेको छ । मलेसियाको अर्थतन्त्र संकुचन हुँदा रिंगेट अवमूल्यन भएको हो ।
मलेसियामा कामदारको असुरक्षा पनि बढ्दो छ । निःशुल्क टिकट र भिसाको प्रावधान भए पनि कतिपय म्यानपावरले कामदारसँग मोटो रकम असुलिरहेका छन् । हाल मलेसियामा आठ लाख नेपालीले काम गरिरहेका छन् । नेपालमा भित्रिने कुल रेमिट्यान्समा मलेसियाको हिस्सा करिब ४० प्रतिशत छ
अन्नपूर्ण पोष्ट दैनिकबाट

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}