
|
|
पुष्प दुलाल
गुडिरहेको बाइक रोकेर ओर्लिउँ अनि ‘आइ लभ यू’ भनिहालूँ या उसको हात समाएर जिन्दगीभरि नछाडूँजस्तो लागिरहेको थियो, मलाई ।
साढे तीनघण्टा कफीसपको बसाइपछि रातको साढे ९ बजे, जब म बाइकमा राखेर उसलाई घर पुर्याइदिँदै थिएँ ।
मैले उसलाई बुझिसकेको थिएँ । यति गहिराइबाट उसको आकांक्षा बुझ्ने सायद एक्लो पुरुष थिएँ, म ।
गलासम्म अाएको ‘रियल्ली अाइ लभ यू फरेभर’ गला बाहिर भने निकाल्नै सकिँन ।
त्यसैदिन उसलाई मैले प्रेम प्रस्ताव नगर्नु वा गर्न नसक्नु म सही थिएँ या गलत ? अन्तर्मनमा बहस चलिरहेको छ ।
०००००
उसले बोलाएपछि त्यो साँझ ६ बजे पशुपतिनाथमा हाम्रो भेट भयो । उसको रूप, व्यक्तित्व र अात्मीयताले मलार्इ पशुपति पुर्यायो । महिना दिनपछि त्यो साँझ भेट भएको हो, हाम्रो ।
पशुपतिको घाटे बैद्यकहाँ रहेका अाफ्नै टाेलका सिकिस्त बिरामी भेट्न अाएकी उसले यतातिर अाउँदा मलार्इ सम्झेकि रे !
यौवनले धपक्कै बलेकी परीजस्ती उ, आज भने साँच्चै निन्याउरी देखिएकी थिई । उसको मलिन अनुहार देख्दा मलाई कस्तो-कस्तो अनुभव भइरहेको थियो ।
‘सञ्चो छैन कि क्या हो ?’ मैले सोधेँ ।
‘निकै टेन्सनमा छु दाइ ।’ उसले भनी ।
‘किन ? के भो र ?’ मैले सोधेँ ।
‘त्यत्तिकै दाइ । व्यक्तिगत कुरा हो’ उसले टालटुल जवाफ दिई ।
बीएस्सी नर्सिङको अध्ययन सकेकी उ जागिरको खोजीमा थिई । केही वर्षयता हाम्रो आत्मीयता निकै प्रगाढ थियो । उसले मलाई दाइ भन्थी र म बहिनी । एक-आपसमा खुलेर कुरा गथ्र्यौं र सक्दो सहयोग पनि ।
तर, आज उ आफ्नो पीडा लुकाउन खोजिरहेकी थिई, मलाई हुटहुटी भयो । ‘चन्द्रमाझै उज्यालो उसको मुहार केही किन यस्तो उदास ?’ मनमा प्रश्न उब्ज्यो । र, फेरि सोधेँ – ‘आनो दाइलाई नि भन्न नहुने, कस्तो व्यक्तिगत ?’
‘ह्या कारण नसोध्नु न, म सबै कुरा बिर्सन चाहन्छु’ उसले जवाफ दिई ।
‘मनमा कुरा गुम्स्याएर राख्यो भने त्यसले अझ बढी पोल्छ । त्यसैले आफूले विश्वास गर्ने मान्छेसँग सेयर गरेकै राम्रो । तिम्रो प्रोब्लम थाहा पाएँ भने सल्भ गर्न हेल्प गर्छु नि ।’ सीधै सोध्दा नभनेपछि मैले कुटनीतिकरुपमा जिज्ञासा राखेँ ।
‘आफ्नै ममी-ड्याडीले त बुझ्दैनन् भने कसलाई के भनूँ र दाई ? साँच्चैभन्दा मलाई यो देशमा बस्नै मन छैन, यहाँ मेरो कोही छैन ।’ उसले सुनाई ।
‘जिन्दगीको अफ्ठ्यारो बाटोमा लामो यात्रा गर्न बाँकी छ, त्यसैले यतिछिट्टै फ्रस्टेसन भइहाल्नु हुन्न ।’ मैले सम्झाउने प्रयत्न गरेँ ।
‘आफूलाई नबुझ्ने समाजमा म किन बसूँ ?’ प्रश्न गरी ।
‘समस्या नै नभनी कसरी समाजले बुझ्छ त ?’ प्रतिप्रश्न गरेँ ।
‘कारण नसोध्नोस् दाइ, कथा लामो छ । मिलेछ भने कुनै दिन भनौंला ।’ एक्कासी बिदा माग्न थाली- ‘आज हतारमा छु, जान्छु ल ।’
‘यतिका समयपछि दाइ-बहिनीको भेट भएको छ, सँगै बसेर एक कप कफी पनि नपिई छुट्ने ?’ प्रश्न गरेँ ।
‘रात परिसक्यो नि त’ उसले भनी- ‘घरमा बहिनी पनि एक्लै छ ।’
‘पुर्याइदिउँला न’ मैले भने ।
‘हुन्छ तर एकैछिन मात्र बस्ने है’ सहमत भई ।
मैले मोटरसाइकल स्टाट गरेँ । उ थपक्क पछि बसी ।
०००००
‘के लिने ?’ चाबहिलको कफीसपमा प्रवेश गर्नासाथ मैले सोधेँ।
‘मिल्क कफी, अनि हजुर ?’ उसले सोधी ।
‘म पनि त्यै’ मैले भने ।
कफी अर्डर गरेँ । टेवलको नेपकिन पेपर खेलाउँदै घोस्से मुन्टो लगाएर बसी उ । एकछिन चुपचाप रहृयौं ।
पृष्ठभूमिमा मन्द संगीत गुञ्जिरहेको थियो । पहिलो डेटिङमा कसले कुरा सुरु गर्ने भनेर चुपचाप बसेका नवप्रेमी झैं देखिन्थ्यौं हामी ।
‘आज म निकै दुखी छु’ मैले नै कुरा सुरु गरेँ ।
‘किन दाइ ? के के भो त्यस्तो ?’ उसले प्रश्न गरी ।
‘आफ्नै बहिनीले भोग्नुपरेको पीडाबारे बेखबर हुँदा’ मैले प्रष्ट्याएँ ।
‘फेरि त्यही, मैले बिर्सन चाहेको कुरा तपाई किन कोट्याइरहनु हुन्छ ?’ उसले भनी ।
‘मनमा पीडा गुम्स्यायो भने त्यो एकैपटक बिस्फोट हुन्छ, जसले दुर्घटना निम्त्याउँ छ ।
कम्तिमा एकजनालाई भए पनि सेयर गर्यौं भने मन हलुङ्गो हुन्छ । म त्यो मन हलुका भएको र मुहारमा असली हाँसो देख्न चाहन्छु ।’ मैले भने ।
‘त्यो त हो, तर….’ उसको गला अवरुद्ध भयो ।
‘ब्वाइफ्रेन्डसँग झगडा परेको हो ?’ मैले शंकाको तीर हानेँ ।
‘होइन’ उसले जवाफ दिई- ‘ममी ड्याडीसँग ।’
‘यति ठूली र ज्ञानी भएर पनि ममी-ड्याडीसँग झगडा गर्छन् त ?’ मैले सोधेँ ।
‘उहाँहरुले जे भन्यो, मैले त्यै मान्नु पर्ने रे !’ उसले आक्रोस पोखी ।
‘अनि बा-आमाले भनेको कुरा मान्नु पर्दैन त लाटी ?’ मैले प्रश्न गरेँ ।
‘अब म आफू पनि धेरै कुरा बुझ्ने र जान्ने भइसकेँ । ममी-ड्याडीले भनेको सबै मान्नुपर्छ भन्ने जरुरी छैन ।’ अाक्रोस पोख्न थाली ।
००००
केही समय अघिमात्रै ममी-ड्याडीले बिहेको कुरा चलाएको तर, आफू अहिले बिहे गर्ने मनस्थितिमा नरहेको बताएकी थिई । त्यसैले बिहेकै कुराले उसलाई पिरोलेको हुनुपर्छ भन्ने अड्कल काटेँ । र, सोधेँ- ‘बिहेको कुरा हो ?’
‘हो’ जवाफ दिई ।
‘गरे भैहाल्यो त, अब सिङ पलाउँदैन, जुरो पलाउँदैन’ मैले भने ।
‘अहँ, मलाई बिहे गर्ने मन नै छैन’ उसले भनी ।
‘त्यसो भए, ममी-ड्याडीलाई प्रष्ट भन न त, म अहिले बिहे गर्दिन भनेर’ मैले भने- ‘उमेर पुगेकी छोरीको बिहेको चिन्ता त अभिभावकलाई भैहाल्छ नि’
‘उहाँहरु मैले भनेको मान्दै मानिसिन्न, कस्तो जिद्धि होइसिन्छ । मेरो बिहेमा मेरो निर्णय हुनु पर्यो नि ।’ उसले भनी ।
‘तिम्रो ब्याइफ्र फ्रेन्ड छ, तर ममी-ड्याडीले अर्कै केटासँग बिहे गर्न दबाब दिइरहनुभएको छ हो ?’ मैले सोधेँ ।
उहाँहरुले बिहे गर्न कर गरेको केटा मेरो बीएफ नै हो, जोसँग मेरो १० वर्षदेखि अफेयर छ’ उसले सुनाइ ।
‘आफ्नै ब्वाइफ्रेन्डसँग बिहे गर्न ममी-ड्याडीले नै कर गर्दा किन टाउको दुखाइ ?’ मैले सोधेँ ।
टेबलमा भएको पानीको गिलास तानेर पिई । मैले पनि पिएँ ।
‘वास्तविकता बुझेपछि तपाईले मलाई ठीक गरिस् भन्नुहुन्छ ।’ उसले भनी ।
‘तिमीजस्ता एजुकेटेट केटीहरु त आफ्नो कुरा खुलस्त भन्न सक्दैनौ भने अनएजुकेटेड र गाउँले केटीहरुको हालत कस्तो होला ?’ मैले सोधें ।
‘त्यो केटा र म तिमी-तिमी भन्ने साथी हौं । बिहे गरेपछि मैले उसलाई हजुर भन्नु पर्ने रे ! नत्र हाम्रो खान्दानको इज्जत जान्छ भनिसिन्छ मामू, म उसलाई कसरी हजुर भनूँ ?’ उसले प्रश्न गरी ।
‘आफ्नो श्रीमानलाई हजुर भन्दैमा के बिग्रन्छ त ? मैले प्रतिप्रश्न गर्दै सम्झाउने प्रयत्न गरेँ- ‘यति कडा हुनुहुँदैन, छोरी मान्छे त धेरै सहनशील पो हुनुपर्छ ।’
‘भो-भो धेरै नसम्झाउनोस् । आखिर तपाई पनि त त्यही ढोँंगी पुरुष हो नि, जो श्रीमतीलाई आफूभन्दा तल्लोस्तरको ठान्ने ।’
‘श्रीमतीले श्रीमानलाई तपाईँ वा हजुर नै भन्नुपर्छ भन्ने बिचार राख्ने मान्छे होइन म । तर, त्यत्ति कुरा मात्रै समस्या हो भने तिमी लचिलो हुँदा नै राम्रो ।’ मैले थपेँ- ‘कि उसको चरित्र खत्तम छ, जो तिमीलाई मन पर्दैैन ।’
‘उसको चरित्रमा खोट लगाउने ठाउँ छैन । हेर्दा ह्यान्डसम छ । पेशाले डाक्टर हो । परिवार पनि धेरै राम्रो र सम्पन्न छ । उसको मम्मी-ड्याडीले मलाई हत्ते गरिसिन्छ । मेरो मम्मी-ड्याडीले पनि उसलाई असाध्यै मन पराइसिन्छ ।’ उसले प्रष्ट पारी ।
‘त्यसो भए तिम्रो चरित्रका बारेमा केटाले दोष देखाएको हो ?’ मैले सोधेँ ।
‘बिचरा ! उसले मलाई कतिधेरै माया गर्छ । तपाइँले सोचेको कुरा त सोच्नसम्म पनि सक्दैन उसले । फेरि म पनि ब्वाइफ्रेन्ड हुँदाहुँदै अरुसँग लाग्ने केटी पनि होइन ।’ उसले भनी ।
‘यति झिनो विषयमा १०-१० वर्षसम्मको अफेयर ब्रेक गर्न तिम्रो आत्माले दिन्छ ?’ मैले सोधेँ- ‘मान्छेहरु दुई दिन बोलेकालाई त बिसर्न सकिँदैन भन्छन् ।’
‘बाध्यता परेपछि सक्नैपर्ने रहेछ’ जवाफ दिई ।
उसको उत्तरले सुनेर केटीहरु धेरै निठूर हुँदा रहेछन्, जो तिललाई पहाड बनाएर सम्बन्धको डोरी पनि चुटाउँछन् भन्ने लाग्यो मलाई ।
‘केटाको भावना बुझ्ने यो समाजले केटीको भावना कहिले बुझ्छ ?’ उ फेरि बोल्न थाली- ‘तपाईले मलाई बुझ्नुभएकै छैन । वास्तवमा म अरुलाई धेरै विश्वास गर्छु, तर कसैले मलाई मैले गरेजति विश्वास गर्दैनन् । र, बुझ्दैनन् पनि ।’
‘नढाँट्ने भए, एउटा कुरा सोध्छु ?’ मैले प्रश्न गरेँ ।
‘सोध्नोस् न, यतिधेरै कुरा त भनिसकेँ एउटा चैं किन ढाटूँ ?’ उसले भनी ।
‘तिमीहरूबीच सेक्सुअल रिलेसन भएको थियो हो ?’ मैले साेधेँ ।
‘नो’ उसले भनी ।
‘हृवाइ ?’ मैले सोधेँ ।
‘आइ डन्ट नो’ उसले भनी ।
मैले फेरि शंकाको तीर हाने- ‘तिमीहरुबीच पक्कै सेक्स भएको हुनुपर्छ । अनि यही विषयलाई लिएर सम्बन्धमा चिसोपना । तर, तिमी भन्न लजाइरहेकी छौं ।’
‘प्रमिश छैन दाइ’ उसले प्रष्टीकरण दिई- ‘गड प्रमिश, आइ एम स्टिल भर्जिन ।’
‘यस्तो मोर्डन जोडी, त्यो पनि टीनएजदेखिको अफेयर, सेक्स भएनभन्दा म कसरी पत्याउँ ?’ फेरि सोधेँ ।
‘हजुर मलाई बिलिभ गर्नुहुन्छ कि हुन्न ?’ उसले सोधी ।
‘९९ प्रतिशत गर्छु’ मैले भने ।
‘बाँकी १ प्रतिशत चाहीँ ?’ उसले सोधी ।
‘१ प्रतिशत त मलाई आफ्नै पनि विश्वास लाग्दैन’ जवाफ दिएँ ।
‘जर्नालिस्टसँग गफ गर्न सकिँदैन भन्थे हो रहेछ’ उसले भनी ।
‘पेसै बोलेर खाने हो । तर, बिलिभ गर, म झुट बोल्दिँन । भावनामा बहने बानी छ । ठट्टा गर्ने बानी छ । माइन्ड नगर है ।’ मैले भनें ।
‘कति समझदार ?’ उसले भनी- ‘भाउजूले सुख पाउने हुनुभो ।’
‘सुखजति आफैंले राखेर दुखमात्रै दिने बानी छ ।’ मैले भने ।
‘ओ माइ गड’ उसले भनी ।
‘आइ एम रियल्ली वन्डर !’ मैले भने ।
‘हृवाई’ उसले सोधी ।
‘यस्तो जानकार अनि ब्युटिफुल लेडीको १०-१० वर्षसम्मको सम्बन्ध ब्रेकअपले’ मैले भनेँ ।
‘म नर्सिङ कि विद्यार्थी, उ डाक्टरको । हामी दुबैजना पढाइमा व्यस्त थियौं । छिटफुटमात्रै भेट हुन्थ्यो । फोनमा पनि अरुको जस्तो लामो कुरा गदैन थियौं ।’ उ खुटैखुट भन्दै थिई ।
‘अनि ?’ मैले प्रोत्साहन गरेँ ।
”हि इज इनोसेन्ट बेबी ।’ उसले भनी- ‘कसरी बच्चालाई म हसबेन्ड बनाउँ ?’
‘बच्चा जस्तोको मतलब ?’ मैले सोधेँ ।
‘खाली पढाइको बारेमा सोध्छ । बुढो मान्छेको जस्तो व्यवहारिक कुरामात्रै गर्छ । सायद अहिलेसम्म आइ लभ यू पनि भनेको छैन’ उसले भनी ।
‘तिम्ले भने भैहाल्यो नि’ मैले भने ।
‘केटी मान्छेलाई अलि अफ्ठ्यारो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छैन ?’ उसले सोधी ।
‘त्यो त हो । तर, श्रीमान व्यवहारिक भए तिमीले नै त हो नि सुख पाउने’ मैले भनेँ ।
‘उसँग मायाँको फिलिङ नै छैन’ उसले भनी ।
‘मायाको कि सेक्सको ?’ मैले सोधेँ ।
‘हो, सेक्सको’ उसले भनी ।
‘बिहे गरेपछि भइहाल्छ नि’ मैले भने ।
‘बिहेअघि त छुन नसक्ने केटाले बिहेपछि के गर्ला ?’ उसले भनी- ‘हजुर र म आज जसरी बसेका छौं नि, त्यसरी पनि हामी बस्न पाएका छैनौं । म चाहन्थेँ, हामी दुईजना घण्टौं गफियौं ।
कहिलेकाहीँ घुम्न जाउँ । तर उ मलाई भेट्न आउँदा पनि सानो भाञ्जोलाई लिएर आउँथ्यो ।’ उसले भनी- ‘आफ्नो बीएफसँग मात्रै बसेर तितामीठा गफ गर्ने चाहाना कुन चै केटीको नहोला र, तर अहँ…..।’
म निरुत्तर भएँ ।
‘त्यो केटा मलाई ‘गे’ जस्तो लाग्छ भनेर मामुलाई पनि सुनाएँ’ उसले भनी- ‘मेरो कुरा सुनेपछि पनि मामू केटा इमान्दार रहेछ भन्दै उसैसँगै बिहे गर्न दबाब दिइसिन्छ ।’
म एकाग्रह भएर सुनिरहेँ ।
‘अब भन्नुहोस् दाइ यस्तो अवस्थामा म के गरुँ ? म केटी मान्छे । हाम्रो प्रेम सम्बन्धका बारेमा संसारलाई थाहा छ । हाम्रो बिहे भएन भने सबैले मलाई नै नकरात्मकरुपमा हेर्नेछन् । मलाई नै दोषी ठान्छन् । मेरै चरित्रमाथि धावा बोल्छन् ।
यस्तो समाजमा म कसरी बसूँ ? यो कुरा म क-कसलाई सुनाउँदै हिडूँ ?’ भावुक हुँदै उसले सुनाई ।
अघिसम्म बाठो भएर सुझाव दिने मेरा ओठ बन्द भइसकेका थिए ।
‘किन नबोल्नुभएको ?’ प्रश्न तेस्र्याई ।
‘त्यसो भए त सक्किगो नि’ मेरो मुखबाट फुत्त निस्कियो ।
पुलुक्क मेरो अनुहारमा हेरी अनि लजाएझैं गरेर शीर निहुर्याई ।
‘तिमीले ठीक निर्णय गरिछौं । यदि तिम्रो ठाउँमा म हुन्थेँ भने पनि तिमीले जस्तै निर्णय गर्थेँ ।
बिहेको पहिलो आवश्यकता भनेको सेक्स हो । सेक्सको फिलिङ नै नहुनेसँग बिहे गर भनेर म सल्लाह दिन सक्दिँन ।’
मैले भनें- ‘मैले अघि तिमीलाई दिएको दबावप्रति माफ गर । अब अर्कै केटा खोज, अनि बिहे गर ।’
‘म नेपालमा बसेर यो काम गर्न सक्दिँन । त्यसैले बिदेश जान खोजेकी हुँ । २४ वर्षकी भएँ, प्रमिश भर्जिन छु, अब मलाई रमाइलो गर्न मन छ’ उसले भनी-
‘मलाई कुनै धनी र शिक्षित परिवारकी बुहारी बन्नु छैन । केटा गरिब होस् । नपढेको होस् । तर, मेरो भावना बुझोस्, माया गरोस् । खुसी राख्न सकोस्, कमाउन त म आफैं सक्षम छु नि ।’
यौवनले धपक्क बलेकी युवतीको यौनकुण्ठा सुनेर म साँच्चै नाजवाफ भएँ । र, दोहोर्याएँ- ‘मैले अघि नै भने नि तिमीले सही निर्णय गर्यौ भनेर ।’
ऊ मुस्कुराई । मुस्कुराउँदा उ यति राम्री देखिएकी थिई कि म शब्दमा वर्णन नै गर्न सक्दिँन ।
‘हो, म तिमी हाँसेको देख्न चाहन्थेँ । तिमी हाँस्यौं । वास्तवमा यो पल मेरा लागि जिन्दगीकै खुसीको पल हो ।’ मैले भनें ।
‘हजुरसँग कुरा गरेपछि मेरो मन पनि धेरै हल्का भएको फिलिङ भयो’ उसले सुनाई ।
भाउजूको फोन आयोे- ‘बाबु कतिखेर आउने ? खाना सेलायो ?’
‘अपिसमै छु, अब हिँडिहालेँ’ मैले जवाफ दिएँ ।
‘रातभरि अपिसमै ?’ फोन कट्यो ।
‘ओ माइ गड, ९ः ३० भइसकेछ,। बहिनीले ५ मिसकल गरिसकिछ’ मोवाइल हेर्दै ऊ अत्तालिई ।
समय बितेको मलाई पनि पत्तै भएन ।
उसले अघि बिल तिरीछ । ३/३ पटक कफी पिइसकेका रहेछौं ।
सामाखुसीसम्म पुर्याइदिने बाचा गरेको थिएँ । बाइक स्टार्ट गरेँ । उ बसी ।
- See more at: http://www.onlinekhabar.com/2015/12/358765/#sthash.Jo6WEpXY.nUWFQM94.dpuf

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

