Home » » किन स्वदेश फर्कन चाहदैँनन् युवा?

किन स्वदेश फर्कन चाहदैँनन् युवा?

तीन वर्षअघि पोर्चुगल आएका चितवनका दर्शन कंडेल पाँच महिना अघि ‘अब कहिल्यै नफर्कने’ भन्दै स्वदेश फिर्ता भए । स्वदेशमा केही गर्ने भनि फर्किएका कंडेलको सपना त्यतिवेला भताभुङ्ग भयो जब उनी नेपाल पुगे । नाकाबन्दी,महंगी, अभाव देखेपछि उनको मन परिवर्तन भयो। सामान्य जिविकोपार्जन गर्न सक्ने कुनै पनि उपाय नदेखेपछि उनी अन्तत: पोर्चुगल फर्किए।

‘नेपालमा बाँच्न सक्ने अवस्था नै छैन , बरु यहि आएर जेनतेन दु:ख गरे भने घरमा नुन तेल त पुर्‍याउन सक्छु’ । उनले भने,'नेपाल गएर सामान्य घर गुजारा चलाउन सक्ने कुनै उपाय छैन, त्यसकारण फेरि पोर्चुगल नै फर्के । कमसेकम यहाँ बन्द, हड्ताल, धर्ना जुलुस छैन। काम सामान्य भए पनि महिना पुगेपछि पैसा आउँछ।'
धेरै सपनाको भारी बोकेर युवाहरु विदेशिने क्रम बढ्दो छ। दैनिक १५ सयको हाराहारीमा त्रिभुवन विमानस्थलवाट नेपाली युवाहरु विभिन्न बहानामा बिदेशिने गरेका छन् । विदेश आएको केहि वर्षमा स्वदेश फर्कने मनस्थिति बनाएका युवाहरु धेरै छन् तर नेपाल गएर के गर्ने भन्ने दोधार छ उनीहरुमा। फर्केर यहाँवाट सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न आतुर युवाहरुको जमातले देशमा लगानीको सुनिश्चता खोजेका छन् । काम गर्ने वातारण खोजेका छन् ।
देशको राजनीतिक अन्यौलता,महंगी,अभाव नै प्रमुख कारण स्वदेश नफर्कने। ७ बर्ष अघि डेनमार्क आएका संचारकर्मी अजित देवकोटाको नेपाल फर्कने योजना थियो । नेपाल गएर व्यवसाय गर्ने उनको सोच थियो। देशको विषम परिस्थिति तगारो बन्यो उनको योजनामा। गरेको लगानी डुब्नु वाहेक केहि बिकल्प नै देखिन उनले भने-लगानी गरेर मात्र भएन प्रतिकुल आम्दानी हुने वातावरण नेपालमा छैन। बरु जेनतेन यहि दु:ख गर्ने कमसेकम यहाँ रोजगारीको अभाव त छैन।
केही गर्न नसक्ने युवाहरु विदेश जान्छन् । हातमा सिप भएका दक्ष जनशक्तिहरुलाई स्वदेशमा नै प्रशस्त मार्ग छ गर्न सके स्वदेशमा सुन फलाउन सकिन्छ त्यसका लागि जागर हुनुपर्छ भन्ने तर्कसँग डेनमार्क निवासी चन्द्रकान्त सुवेदी सहमत छैनन् । नेपालमा दुई बिषयमा मास्टर्स गरे । कलेज पढाए त्यतिमात्र होइन एजुकेशन कन्सलट्यान्सी पनि चलाए तर उनको जीवन चलेन । जागिरको लागि धेरै निवेदन दिए ,अन्तर्वार्ता दिए सर्टिफिकेटको आधारमा उनी योग्य थिए तर भनसुन गरिदिने कोही थिएनन् । योग्यता अनुसारको जागिर नपाएपछि सुवेदीको विकल्प बन्यो विदेश । स्टुडेन्ट भिषामा डेनमार्क आए । डेनमार्कमा पनि मास्टर गरे अहिले ग्रीनकार्ड पाए । उनी खुसी छन् सामान्य काम गरे पनि अर्थोपार्जन भएको छ । कसैको चाकडी गर्नु परेको छैन । ‘आफ्नो देश फर्कने रहर कसलाई पो हुँदैन , हामी जस्तो सामान्य मानिसलाई कसले पो जागिर दिन्छ उनले दुखेसो पोखे ।’
आम मानिसहरुको पारिवारिक र सामाजिक दायित्व हुन्छ । व्यक्तिगत चाहना भन्दा पनि पारिवारिक चाहानालाई पुरा गर्न विदेशिनु पर्ने वाध्यता हुन्छ । निजी रहरहरुलाई कुल्चेर सात समुद्रपारी आएका कयौँ युवाहरुको विदेश बसाई वाध्यतामा परिणत भएको छ । जो उनीहरुको रहर होइन विवशता हो । हरेक युवाको जिन्दगीको पृष्ठभूमी, भोगाई, गराई फरक-फरक छ । केही गर्ने उत्साह बोकेका युवा मनहरु विदेशिनुमा सामाजिक र पारिवारिक दवाब पनि प्रमुख कारण हो । केही वाध्यता, विवशताका कारण विदेश आएका छन् । अधिकांश रहरले विदेशिका छन् । त्यही रहरपछि वाध्यतामा परिणत हुन्छ । त्यो वाध्यतालाई मलजल गरेको छ नेपालको अस्थिर राजनीति, सीमित स्रोत साधन ।
सात बर्षदेखि बेलायत बस्दै आएका वाग्लुडका बिष्णु आर्चायको भनाई अलि फरक छ । ‘स्वदेश फर्कनको लागि ठूलै शाहस चाहिन्छ । मुख्यता पैसा कमाउन विदेश आएको हो । कमाएको पैसा नेपालमा लगानी गर्न सकिँदैन । लगानी डुव्नेमा उनी ढुक्क छन् त्यसैले नेपालमा गर्दा गर्दै केही नभए फेरि खाडी मुलुक अरव, मलेसिया जान सक्छु भन्ने आट भए मात्र फर्किन सकिन्छ, देशको वर्तमान अवस्थावारे इंकित गर्दै उनले व्यङ्ग्य गरे । देशको सामाजिक,आर्थिक अवस्था, भएको स्रोत साधनको परिचालन, साँस्कृतिक परिवेश र राजनीतिक स्थायित्वले दक्ष युवा जनशक्ति पलायनमा प्रभाव पादर्छ । दक्ष युवा शक्ति दिनहुँ विदेशिनु , एक पल्ट विदेश आइसकेपछि असुरक्षाको कारण देखाउँदै स्वदेश फर्कन नखोज्नु नेपालको लागि बिडम्बना हो । एनआरएन आइसीसी मेम्वर सोम सापकोटाले लगानीको वातारण बनाउन सरकार उदासिन देखिएको बताउँछन् ।
नेपालमा प्लस टु सक्ने अनि विद्यार्थी भिषामा समृद्ध मुलुक जाने तमाम युवाहरुको उद्देश्य यही हो । यो उदेद्दय पुरा गर्नको लागि उत्प्रेरणाको काम गरेको छ । सामाजिक परिवेशले । विदेश गएपछि समाजमा इज्जत हुन्छ, आर्थिकरुपले सवल भइन्छ भन्ने पलायनवादी सोच युवाहरुमा छ । त्यहि सोचका कारण क्षमतावान, योग्यता भएका सयौँ युवाहरु विदेशिएका छन् । बाच्नको लागि आवश्यक पर्ने सामान्य आधारभूत आवश्कता पुरा गर्न पनि नेपालमा धौ धौ छ । अष्ट्रेलियाको सिड्नी निवासी श्रीराम पौडेलले प्रतिप्रश्न गरे-सामान्य काम गरे पनि यहाँ आकर्षक तलब छ। सुरक्षित भविश्य छ के का लागि नेपाल जाने? कसको लागि जाने?
मध्यम वर्ग जो पढे लेखेका छन् उनीहरुको गन्तव्य भनेको अमेरिका, युरोप, अष्ट्रेलिया ,जापान हो।उनीहरु नेपालमा अवसरको खोजीमा भौतिररहन्छ,केही उपाय नलागेपछि ऋण खोजेर विदेशिन्छन् । निम्न वर्गका प्राय खाडी मुलुक जाने गरेका छन् । प्राय दुई , तीन वर्षका लागि काम गर्न जाने उनीहरु भिषा थप्न पाएसम्म थपेर बस्ने मनस्थितिमा छन् । ज्याला मजदुरीको काम गरी मासिक १५/२० हजार कमाउनेहरु पनि नेपाल फर्की हाल्ने स्थितिमा छैनन् । स्वदेशमा सामान्य काम गरे वापत १०÷१२ हजार कमाई हुने गर्छ । परिवारसहित बस्न पाइन्छ तर बस्ने वातावरण छैन विगत तीन बर्षदेखि कतारमा काम गर्दै आएका टेक प्रसाद सापकोटाले भने-नेपालमा बस्नै मन लाग्दैन, न त भात पकाउने ग्यास छ, न त दाउरा पाइन्छ, के मा पकाएर खाने? के खाने? बजार भाउ दिन प्रतिदिन बढ्दै छ। आफन्त, परिवार छोडेर ४२ डिग्री तापक्रममा काम गर्न कसैलाई मन छ। देशमा सामान्य मजदुरी गरेर खाने वातावरण भए फर्कर्ने योजना सुनाए। तर तत्काल उनले भने जस्तो वातावरण बनेर फर्कन पाइन्छ भन्नेमा विश्वस्त हुन सकिँदैन ।
युरोपमा यस्ता युवाहरु पनि भेटिए न त प्रशस्त आम्दानी छ न त उनीहरुसँग वसोबास गर्न पाउने बैधानिक कागजपत्र नै । कामको खोजीमा भौतारिरहेका छन् । कालोमा काम पाइहाले भने पनि बस्न र खान ठिक्क छ । एक दुई बर्ष यतै भौतारिए काम र बैधानिक कागज पाइन्छ भन्ने आशामा दिन गनेर रुमल्लिरहेका छन् । नेपाल फर्कन त फर्कने तर नेपाल गएर के गर्ने ? काभ्रे घर भएका नाम बताउन नचाहने एक युवाले आफ्नो योजना सुनाए,'केही समय यतै बस्छु काम कागज भएन भने नेपाल गएर दुवईतिर हानिन् पर्ला ।’ नेपालमा दु:ख गर्छु काम गर्छु भन्दा पाइन् अनि विदेश आए अब कुन मुख लिएर नेपाल जाउ उनको चिन्ता थियो ।
देशमा शान्ति सुरक्षा छैन, दिनहुँ बन्द हड्ताल छ । नाकावन्दी छ। स्कुल कलेज छन् पढाई छैन । पढ्ने र पढाउने वातावरण छैन । पेट्रोल पप्पहरु छन् पेट्रोल छैन, महाभूकम्पका कारण लाखौँ जनताहरु प्रताडित छन् पालमा जीवन बिताएका छन् । जाडोमा आङ् छोप्ने एकसरो कपडा छैन। बिरामीहरुको अस्पतालमा भिड छ, खाने औषधि छैन । यातायातका साधन छन् चल्नको लागि पेट्रोल छैन, भएको पेट्रोलमा कालोबजारी मैलाएको छ । सर्वसाधारणको पहुँच छैन । यसको ठीक विपरित छ युरोपमा बेलायतमा उच्च शिक्षा हासिल गर्न आएका चितवनका दामोदर पौडेलले प्रतिप्रश्न गरे,‘अब तपाई नै भन्नुस् किन र के को लागि स्वदेश फर्कने हामी?’
युवा पीडिमात्र होइन सरकारी उच्च पदमा पुगेका, आर्थिक हैसियत उच्च राख्ने व्यक्तिहरु पनि पलायन हुने लाइनमा छन् । कति पलायन भइसके । सचिव , उपसचिव , कलाकार , पत्रकार उनीहरुको पलायन हुने मनस्थिति हेर्दा लाग्छ नेपालमा पैसा मात्र भएर हुँदैन । सुरक्षित भविश्य छैन । स्वदेशमा बसेर केही गर्ने सोच बनाएकाहरुलार्इ भन्नेलाई न्यूनतम मापदण्डमा सहुलियत दिएर लगानी गर्ने वातावरण तयार गर्न सरकार तत्पर छैन । नेताहरु गम्भीर छैनन् । भाषण गरेर हुने भए नेपाल उहिल्यै स्विट्जरल्याण्ड बन्ने थियो । देशको परिस्थिति, राजनीतिक अन्यौता, अभाव,असुरक्षा, भष्ट्रचार , कालोबजारी, हत्या हिंसा,बन्द हड्ताल, अराजकता ,बलात्कार आदि कारणहरुले गर्दा अधिकांश युवाहरु स्वदेश फर्कन चाहँदैनन् । एउटा प्रश्न स्वभाविक उठ्छ सिंगो एक पुस्ता पलायन हुनुमा दोषी को? हाम्रो समाज, हाम्रो सोचाई वा सरकार?

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}