Home » » धौलागिरीको सडकमा चीन लगानी गर्न इच्छुक

धौलागिरीको सडकमा चीन लगानी गर्न इच्छुक

दिलीप पौडेल,
बागलुङ—
उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतसँगको कोरला नाका खोल्न सरकारको प्रयाससँगै चीनले नाकासम्म सडक पु¥याउन तत्परता देखाएको छ । चीन र नेपालका भन्सार अधिकारीबीच कोरला नाका खोल्ने सहमतिपछि व्यवस्थापिका संसद विकास समितिको टोलीले नाकाको अवलोकन गरेको थियो ।
सीमासम्मनै सडकको पहुँच पुगेको कोरला नाका संचालन गर्न उपयुक्त रहेको संसदीय समितिले सरकार समक्ष प्रतिवेदन पेश भएसँगै चीनले पनि सडक निर्माणमा सघाउन इच्छा जाहेर गरेको हो ।

पोखरा—पर्वत—बागलुङ—बेनी—मुस्ताङ जोमसोम हुँदै कोरलासम्मको सडक स्तरोन्नती र कालोपत्रे गर्न प्राविधिक अध्ययन गर्नको लागि चीनिया टोली यहाँ आएको छ । चीन सरकारले एक्जिम बैंक अफ चाइनाको प्राविधिक टोली पठाएर यो सडकको प्राविधिक अवस्थाको अवलोकन गरेको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए । ‘पोखरादेखि कोरलासम्म सडकको स्तरोन्नती गर्ने सरकारको योजना हो,’ प्रमुख पौडेलले भने, ‘सो परियोजनामा लगानी गर्न चीनले इच्छा जाहेर गरेको छ ।’
चीनिया सरकारले पठाएको एक्जिम बैंक अफ चाइनाको प्राविधिक टोली सकरात्मक रहेको पौडेलले बताए । ‘चीनिया प्राविधिकहरु सडकको स्थलगत अवलोकनपछि सरकारलाई काम गर्ने सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन्,’ पौडेलले भने, ‘दुई देशबीच एमओयुमा सम्झौता भए पछि काम अघि बढ्छ ।’
पोखरा—बागलुङ सडक यस अघि चीन सरकारलेनै निर्माण गरेकोले पनि उनीहरु सो सडकलाई दुई लेनको बनाउन इच्छा जाहेर गरेका हुन् ।
पर्वत र बागलुङको सीमादेखि बेनी—मुस्ताङ जोमसोम हुँदै कोरालासम्म सडकको स्तरोन्नती र कालोपत्रे गर्न करिब १० अर्व रुपैयाँ लाग्ने सडक डिभिजन कार्यालय, बागलुङले जनाएको छ । कोरला देखि जोमसोमसम्म करिव १ सय किमी र जोमसोम देखि म्याग्दीको बेनीसम्म ७६ किमि ट्रयाक ओपन मात्र भएको कच्ची सडक रहेको छ । बेनी देखि पोखरा सडक खण्ड ७६ किमी कालोपत्रे स्तरको रहे पनि स्तरोन्नती गर्नुपर्ने अवस्था छ ।
मालढुंगाबाट कोरलासम्म दुई सय किलोमिटरको स्तरोन्नती र कालोपत्रे गर्ने १५ अर्व रुपैयाँ लाग्ने सडक कार्यालयको अध्ययनले देखाएको छ । सरकारले कोरला नाका खोल्न पहल गरिरहेको अवस्थामा सीमा क्षेत्रसम्म पु¥याउने सो सडक महंगो परियोजना भएकोले पनि चीन सरकारको लगानी भित्राउन उपयुक्त हुने डिभिजन प्रमुख पौडेलले बताए । ‘सरकारको लगानीमा सो परियोजना पुरा गर्न बजेट अभाब हुन सक्छ,’ पौडेलले भने, ‘मित्र राष्ट्रको सहयोग भयो भने दुर्त रुपमा काम अघि बढाउन सजिलो हुन्छ ।’
जोमसोमसम्म करिव १ सय किमी र जोमसोम देखि म्याग्दीको बेनीसम्म ७६ किमि ट्रयाक ओपन मात्र भएको कच्ची सडक भएको भन्दै यसलाई तत्काल स्तरोन्नती गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । ‘कोराला नाका सञ्चालनमा ल्याउन पहिलो प्राथमिकता सडक निर्माण हो,’ विकास समितिका सभापति रविन्द्र अधिकारीले भने, ‘सो सडकको स्तरोन्नती गर्न प्रधानमन्त्री र संसदमा समेत प्रतिवेदन पेश गरेका छौँ ।’
सो सडकमा म्याग्दीको रुप्से खोलामा र मुस्ताङ्ग जिल्लाभित्र कालिगण्डकी नदी माथि जोमसोम तथा छुसाङ्गको चैलेमा तीन वटा मोटरेवल पुल निर्माणाधिन अवस्थामा रहेको सडक डिभिजन कार्यालय, बागलुङका इन्जिनियर नारायण शर्माले बताए । ‘बेनी जोमसोम सडक खण्ड बेनी तर्फबाट ५ किमी सडक कालोपत्रे गर्ने कार्यक्रम रहेको छ,’ उनले भने, ‘तर, दुर्तगतिमा काम गर्न बजेट अभाब छ ।’
बेनी—जोमसोम सडक नेपाली सेनाले करिब ५६ करोड रुपैयाँ खर्चेर ट्रयाक खोलेको थियो । सो सडक खण्डको गलेश्वर, बेगखोला, तिप्लाङ, पोखरे बगर, लेते ,बोक्से खोलामा करिव १२ करोडको लागतमा मोटर गुड्ने पुल निर्माण भएपनि ठाउँ—ठाउँमा सडक निकै साँघुरो छ । जोमसोमबाट उपल्लो मुस्ताङ हुँदै कोराला नाका पुग्न जोमसोम, छुसाङ रसमरमा तीन स्थानमा सवारी फेरेर जानुपर्ने अवस्था छ । सरकारले राष्ट्रिय गौरबको आयोजना भन्दै चीन र भारत जोड्न कोरालादेखि जोमसोम—बेनी—बागलुङ—गुल्मी— पाल्पा हुँदै भारत जोड्ने कालीगण्डकी करिडोर निर्माण अघि बढाएको भए पनि त्यसले पनि पूर्णता पाउन सकेको छैन ।
Source: Nawasandesh

Advertisement
==Ads==
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You

Powered by Blogger.
.comment-content a {display: none;}