
|
|
पुस २५, २०७२- तीन दल र मधेसी मोर्चा कार्यदलबीच शनिबार हुने भनिएको बैठक स्थगित भएको छ । बैठक बस्नुअघि मोर्चाले अघि सारेका ११ बुँदे मागबारे ठूला दलबीच साझा धारणा बनाउनुपर्ने भएकाले समय नपुगेर स्थगित गरिएको कार्यदल सदस्यले बताएका छन् ।बुधबारदेखि सुरु कार्यदल बैठक बिहीबार बिहान र शुक्रबार समेत बसेको थियो । राजनीतिक संयन्त्रमार्फत् एक महिनाभित्र सीमांकन विवाद सुल्झाउनेतर्फ कार्यदल बैठक सकारात्मक भए पनि मोर्चा प्रतिनिधिले त्यस्तो संयन्त्रको संवैधानिक वैधता, क्षेत्राधिकार र कार्यविधि प्रष्ट हुनुपर्ने माग गरेका छन् । तीन ठूला दलका तर्फबाट कार्यदल सदस्यले आ–आफ्ना दलका शीर्ष नेतासँग यसबारे परामर्श गरी बैठकमा फर्कने आश्वासन दिएका छन् ।
पार्टी कामले शुक्रबार विराटनगर गएका कार्यदल सदस्य कांग्रेस नेता महेश आचार्य मौसम खराबीका कारण विमानमार्फत् काठमाडौं फर्कन नसकेर अर्को दिन बस्ने समझदारी भएको मोर्चा कार्यदल सदस्य तथा तमसपा वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।
कार्यदल बैठकमा तीन दल प्रतिनिधिले सीमांकन सुल्झाउन तीन महिना लाग्न सक्ने भएकाले मोर्चाको स्वीकृति मागेका छन् । तर मोर्चा प्रतिनिधिले आन्दोलन तुहाउने षड्यन्त्र हुन सक्ने भन्दै एक महिनामै सीमित गर्न अडान लिएपछि शीर्ष नेतासँग कुराकानीपछि फेरि बस्ने समझदारी गरिएको हो । पुस १७ गते एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मोर्चा नेताहरुलाई भेटै एक महिनाभित्र सीमांकन टुंग्याउनेगरी संयन्त्रको प्रस्ताव गर्दा मोर्चाले संवैधानिक क्षेत्राधिकार प्रष्टयाए आफूहरु सकारात्मक हुने जवाफ दिएको थियो ।
तर कांग्रेसले तीन महिना नै यथावत् राख्नुपर्ने अडान लिएको बुझिएको छ । फागुन पहिलो साता हुने कांग्रेस महाधिवेशनका लागि लक्षित गर्दै कांग्रेसले मुद्दाहरु थाती राख्न चाहेको मोर्चा नेताहरुले बताएका छन् । ‘साँच्चै भन्ने हो भने सरकार अहिले पनि सार्थक र परिणाममूखी संवादका लागि गम्भीर देखिन्न,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले कान्तिपुरसँग भने, ‘कांग्रेसका साथीहरुलाई महाधिवेशन लागिसकेको छ, त्यसैले अहिले वार्ताले सार्थक गति पाउने सम्भावना मैले कम देखिरहेको छु ।’
कार्यदल बैठक स्थगित हुँदैगर्दा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने नयाँ चरणको आन्दोलन घोषणा गरेको छ । पुस २८ देखि माघ ७ सम्म लागू हुनेगरी मोर्चाले जिल्ला सदरमुकाम केन्द्रित कार्यक्रम सार्वजनिक गरेको हो । मसाल जुलुस, प्रदर्शन, सभा, लाठी जुलुस, वृत्तचित्र प्रदर्शनीलगायत कार्यक्रम घोषणा गरेका छन् ।
आमहड्ताल र सीमा नाका धर्ना कार्यक्रम लगायत जारी सबै कार्यक्रम यथावत् रहने मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ । यद्यपि वीरगन्ज–रक्सौल नाकाबाहेक अन्य नाका भने खुला रहेको कान्तिपुरका जिल्लास्थित संवाददाताहरुले जानकारी दिएका छन् ।
मोर्चाले वार्ता र संवादबाट मधेशी, आदिवासी जनजाति, थारू, मुश्लिम, दलित लगायत सीमान्तकृत समुदायहरुका मुद्दाहरुको सम्बोधनप्रति स्पष्ट दृष्टिकोणको अभावले गर्दा नै वार्ता परिणाममुखी हुन नसकेको जिकिर गरेको छ ।
‘आन्दोलनरत पक्षको राष्ट्रिय मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सरकारद्वारा आन्दोलनकारीविरुद्ध झूठा मुद्दा लगाउने, गिरफ्तार, यातना दिने क्रम जारी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारको नेतृत्वमा रहेकाहरुबाट मधेशी, थारु, आदिवासी जनजाति, मुश्लिम, दलित लगायत सीमान्तकृत जनताप्रति अपमानजनक अभिव्यक्ति दिने क्रम अझै पनि रोकिएको छैन । अहिलेसम्म औपचारिक वा अनौपचारिक रुपमा करिब २५ भन्दा बढी पटक वार्ता गरेपनि सरकार गम्भीर देखिएन ।’
सरकार र प्रतिपक्षी कांग्रेसले संयुक्त रुपमा ल्याएको संविधान संशोधन सम्बन्धी विधेयकले विगतमा प्रयोग भइसकेको समानुपातिक समावेशीकरणको मान्यतालाई बिकृत तुल्याउदै एकात्मक राज्यको चरित्रलाई नै निरन्तरता दिएको आरोप मोर्चा नेताहरुले लगाएका छन् । विधेयकलाई आवश्यक परिमार्जन वा परिवर्तन नगरी यथावत रुपमा पारित गराइए आन्दोलनको मुद्दा सम्बोधन नहुने र मोर्चालाई मान्य नहुनेसमेत नेताहरुले दोहोर्याएका छन् । आन्दोलनलाई समर्थन गरेको बहानामा मधेशका संचारमाध्यम र सरकारी कर्मचारीहरुमाथि कारबाही प्रक्रिया अघि बढाइएको भन्दै मोर्चाले रोक्न माग गरेको छ ।
बिहीबारदेखि राजधानीमा जारी बैठकले पुस १९ सम्मको आन्दोलनको समीक्षा, तीन दलसग जारी कार्यदल बैठक प्रतिवेदनमाथि छलफल तथा पाँच महिनायता जारी आन्दोलनका घाइतेहरुको अवस्थाबारे बैठक गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष ठाकुर, तमसपा अध्यक्ष महेन्द्र राय यादव, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।
साँच्चै भन्ने हो भने सरकार अहिले पनि सार्थक र परिणाममूखी संवादका लागि गम्भीर देखिन्न, कांग्रेसका साथीहरुलाई महाधिवेशन लागिसकेको छ, त्यसैले अहिले वार्ताले सार्थक गति पाउने सम्भावना मैले कम देखिरहेको छु : महन्थ ठाकुर, अध्यक्ष, तमलोपा

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

