
|
|
१९ पुस, हेटौँडा।
प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर गिम्दी गाविस वडा नं ९ को सोभानेबेंसीस्थित वाग्मती नदीमा निर्मित झोलुङ्गे पुलको आज उद्घाटन गरे ।
सो अवसरमा उनले दुर्गम भेगका जनताको आर्थिक समुन्नतिका लागि बाटोघाटो, पुलपुलेसा निर्माण गर्न सरकार प्रयत्नशील छ भन्दै राजनीतिक दलहरुले पनि विकास निर्माणको गतिलाई तीव्रता दिन प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
उनले मुलुकलाई विद्युत्भार कटौतीबाट देशलाई मुक्त गर्न आवश्यक एक हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्नका लागि सरकारले वैकल्पिक उपाय अपनाउन लागेको जानकारी दिए।
राजनीतिक नेतृत्व गाउँमुखी हुनुपर्ने र उपेक्षित क्षेत्रको विकासमा ध्यान दिने व्यक्ति नै राजनीतिक नेतृत्वमा आउनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री विराज विष्टले ग्रामीण क्षेत्रको पूर्वाधार विकासका लागि सरकार प्रयत्नशील रहेको बताउँदै उनले जनताप्रति उत्तरदायी नेतृत्व उत्पादन गर्न स्थानीय निकायको निर्वाचन गर्ने गृहकार्य भइरहेको जानकारी दिए ।
सो अवसरमा काँग्रेसका सांसद उदयशम्शेर जबरा र इन्द्रबहादुर बानियाँ तथा नेकपा(एमाले)का सांसद सुशीला नेपाल, इन्द्रबहादुर बानियाँ र सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका महानिर्देशक जीवनकुमार श्रेष्ठले दुर्गम क्षेत्रमा सडक, खानेपानी र बिजुलीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।
सोभानेबेंसी र मकवानपुर मन्थली गाविस–२ को मन्थली जोड्ने सो पुल करिब रु ८२ लाखमा लागतमा निर्माण गरिएको हो । लम्बाइ १३९ मि र चौडाइ डेढ मि रहेको सो पुल निर्माणमा स्थानीय विकास मन्त्रालय, सस्पेन्सन ब्रिज डिभिजनको सहयोग रहेको छ ।
सो पुलबाट मकवानपुर जिल्लाका शिखरपुर, ठिंगन र मन्थली गाविसका साथै ललितपुर जिल्लाका मानिसहरु लाभान्वित हुने छन् । प्रधानमन्त्री ओलीले आफ्नो कार्यभार सम्हाल्ने दिन नेपालका तुइनहरुलाई विस्थापन गर्ने भनी निर्णय गरेका थिए । आजदेखि करिब एक दशकअघि त्यहाँ राखिएको तुइन आज विस्थापन भएको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

