
|
|
कम्पनीका दुई करोड कित्ता साधारण सेयर बाँडफाड
काठमाडौँ, २९ पुस । नागरिक लगानी कोषले जलविद्युत् लगानी तथा विकास कम्पनीको साधारण सेयरको आज बाँडफाँड गरेको छ ।
कोषले आज यहाँ पत्रकार सम्मेलन गरी सेयर निष्कासन तथा बिक्री बन्द भएको ६९ औँ दिनमा कम्पनीको रु १०० अङ्कित दरका दुई करोड कित्ता साधारण सेयर बाँडफाड गरेको हो ।
बाँडफाँड गरिएको सेयरमध्ये ५०० कित्तासम्म लगानी गर्ने एक लाख ९५ हजार २०३ जना साना लगानीकर्तालाई ११.४० प्रतिशतले हुने ७४ लाख ५० हजार ६०३ कित्ता सेयर वितरण गरिएको छ । त्यसैगरी, ५०० कित्ताभन्दा बढी आवेदन दिने एक लाख नौ हजार ४३१ जना र अन्य लगानीकर्तालाई २.९० दरले एक करोड ११ लाख ७५ हजार ९०५ कित्ता गरी जम्मा तीन लाख चार हजार ६५२ आवेदकलाई सेयर वितरण गरिएको हो ।
न्यूनतम ५० कित्ता सेयर आवेदन गर्नेले १० कित्ता पाएका छन् भने ५०० कित्ता आवेदन गर्नेले ५६ कित्ता सेयर पाएका छन् । त्यसैगरी, सबैभन्दा बढी ५० लाख कित्ता सेयर आवेदन दिनेले एक लाख ४४ हजार ८१८ कित्ता सेयर पाएका छन् ।
कम्पनीका अध्यक्ष ऊर्जा सचिव सुमनप्रसाद शर्माले विषम परिस्थितिमा लगानीका लागि आह्वान गर्दा पनि जनताको उत्साहपूर्वक सहभागिता भएको बताउनुभयो ।
नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले एक साताभित्र सेयरका लागि लगानी गरेको रकम फिर्ता गर्न सुरु गरिने जानकारी दिनुभयो । उहाँले केही प्राविधिक विषय टुङ्गाएर सबैको रकम फिर्ता दिने बताउनुभयो ।
कम्पनीले आफ्ना कर्मचारीका लागि दुई प्रतिशत अर्थात चार लाख कित्ता र सामूहिक लगानी कोषका लागि पाँच प्रतिशत अर्थात् १० लाख कित्ता छुट्टाएको छ । कम्पनीको कुल पूँजी रु आठ अर्ब पुगेको छ ।
कम्पनीको प्रमुख बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सहप्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड र एनएमबी क्यापिटल रहेका थिए । कम्पनीका अनुसार कुल तीन लाख चार हजार ६५२ जना आवेदकमध्ये ५३४ जनाको चार लाख ९६ हजार ३२१ आवेदन रद्द भएको जनाएको छ ।
यस्तै, कम्पनीले विप्रेषण जलविद्युत् आयोजना अगाडि बढाई वैदेशिक रोजगारीमा गएका नागरिकको आम्दानीलाई विद्युत् उत्पादनमा जोड्ने योजना अगाडि सारेको छ । घुन्सा ७२ मेगावाट र सिंबुवा ५१ मेगावाट क्षमताको आयोजनालाई विप्रेषण जलविद्युत् आयोजनाको रूपमा अगाडि बढाउन कम्पनीले आवश्यक तयारी गरिसकेको छ । रासस

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

