
|
|
काठमाडौं, १ माघ । गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भएर सात वर्ष देशको नेतृत्व गरेका डा। रामवरण यादव अहिले आफ्नो डेराको झमेलामा छन् ।
ललितपुरको बागडोलमा सरकारले उनका लागि लिएको घरको भाडा कति हो भन्ने विवादले उनी तनावमा छन् । बागडोलमै छोरीको नाममा घर छ, तर सरकारले नजिकै अर्को घरमा एक लाख ३० हजार तिरेर उनलाई राखेको छ ।
शीतलनिवासबाट सर्ने वेलामा उनलाई सरकारले ५० हजार मासिक घरभाडा दिने तयारी गरेपछि उनले मन दुखाएका थिए । ‘पाटीमै राख्छन् भने पनि ठीक छ’ भनेर उनले दुस्खेसो गरेपछि सरकारले बागडोलमा हतारहतारमा एउटा घर व्यवस्था गरिदिएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ
त्यतिवेला एक लाख ३० हजार भाडा तय गरिएको थियो, तर अहिले घरभाडा कर कसले तिर्ने भन्नेमा सरकार र घरबेटी विवादमा छन् ।
तलनिवासबाट १४ कात्तिकमा बागडोल सरेका उनको बस्ने ठेगान अझै लागेको छैन । स्थायी बसोवासको कुनै प्रबन्ध नभएपछि तत्काल के गर्ने भन्ने अन्योलमै रहेको तत्कालीन राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहाल बताउँछन् ।
‘घरमा बस्नुहुन्छ । नेता–कार्यकर्ता आउँछन्, गफ गर्नुहुन्छ,’ दाहालले भने, ‘सेटल हुन केही समय लाग्छ । बसोवासको टुंगो लागेपछि उहाँले केमा कसरी काम गर्ने टुंगो लगाउनुहोला ।’
यादव २९ जनवरीमा ब्रह्मकुमारी (माउन्ट आबु) र महात्मा गान्धीको जन्मस्थल जाने कार्यक्रम छ । उनी एक हप्ता भारतमै रहनेछन् ।
यसबीचमा उनी जनकपुरलगायतका स्थानमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । राष्ट्रपति हुँदा र पदबाट हटेपछि पनि यादवको चासो चुरे क्षेत्रमा छ ।
चुरे क्षेत्रमा भएका ढुंगा, गिटी, बालुवा, माटोको अनियन्त्रित दोहनप्रति सधैँ चिन्तित यादवले यसलाई रोक्न आफू क्रियाशील हुने बताएका छन् ।
कोइराला प्रधानमन्त्री भएपछि राष्ट्रपतिको उपेक्षा भयो : डा. यादव
फास्ट ट्रयाकबाट संविधान बनाउने पद्धतिप्रति त्यतिवेलै असन्तुष्टि व्यक्त गरेका डा. यादवले निवृत्त भइसकेपछि यो विषयमा खुलेरै विरोध गरे ।
‘राष्ट्रिय जीवनमा विश्वेश्वरप्रसाद कोइराला’ शीर्षकको पुस्तक विमोचन गर्न १६ पुसमा आयोजित कार्यक्रममा उनका मुख्य भनाइ : खासमा कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सरकार गठन भएपछि मलाई संविधान निर्माणबाट बाहिर राख्ने काम भएको हो ।
फास्ट ट्रयाकबाट संविधान अहिलेसम्म संसारका कुनै मुलुकमा बनेको छैन । संविधान निर्माण गर्ने आफ्नै प्रक्रिया हुन्छ । सबै विषयहरूमा यथेष्ट डिस्कसन हुनुपर्छ भन्ने सुझाब मैले नेताहरूलाई दिएको थिएँ ।
फास्ट ट्रयाकबाट संविधान जारी भए दुर्घटना हुन्छ भनेर मैले राष्ट्रप्रमुखको रूपमा दिएको चेतावनी सुनिएन । त्यसले अहिले समस्या चर्किएको हो । अहिलेसम्म मधेस देशभित्रै छ । तर, मधेसको समस्या लोकतान्त्रिक विधिबाट समाधान गरिएन भने पोखिने खतरा बढेको छ ।
नेम्वाङको विवादास्पद चयन
लगातार १० वर्ष सभामुख रहेका सुवास नेम्वाङलाई अहिले एमालेले स्थायी समिति सदस्य मात्र होइन, संसदीय दलको उपनेता बनाएको छ ।
तर, उपनेतामा व्यक्ति ठीक भए पनि छनोट प्रक्रिया गलत भएको भन्दै पदाधिकारीले नै असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्र छलफल नै नगरी माधव नेपाल, झलनाथ खनाललगायतका फरक खेमाका नेताहरू उपस्थित नै नभएको संसदीय दलको बैठकबाट नेम्वाङलाई उपनेता बनाइएको थियो ।
एक दशक पार्टीको गतिविधिबाट बाहिर रहेका उनी अहिले भने सक्रिय छन् । उपत्यकास्तरीय प्रशिक्षण, गण्डकी अञ्चल भेला, बागमती अञ्चलस्तरीय भेलामा सहभागी भए पनि उनले खासै राजनीतिक प्रतिक्रिया दिएका छैनन् ।
राष्ट्रपति जनकपुर जानु गलत : रेग्मी
चुनावी सरकारका प्रमुख खिलराज रेग्मी सार्वजनिक कार्यक्रममा खासै देखिन्नन् । तर, उनका सहयोगी राजेन्द्र पाण्डे भन्छन्, ‘महिनामा कम्तीमा ६ वटा सार्वजनिक कार्यक्रम भ्याउनुहुन्छ ।’ अध्यक्षबाट हटेपछि रेग्मीले पाँचपटक विदेश भ्रमण गरिसकेका छन् ।
मध्यबानेश्वस्थित घरमा नेता–कार्यकर्ता, कानुन व्यवसायीसँग उनी नियमित भेट गर्छन् । प्रधानन्यायाधीश र सरकारप्रमुखको रूपमा प्राप्त अनुभवलाई टिपोट गरिरहेका रेग्मीले आत्मकथा लेख्ने तयारी गरेका छन् ।
रोजगार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औा वार्षिक साधारणसभामा भने उनले राष्ट्रपति विद्या भण्डारीको खुलेरै आलोचना गरे । उनको भनाइ थियो, ‘राष्ट्रको एकताको प्रतीकको रुपमा रहने राष्ट्रप्रमुखजस्तो व्यक्ति विवादित ठाउँमा नगएको भए राम्रो हुन्थ्यो ।
जानाले अनावश्यक विवाद भयो ।’ रेग्मीले भ्रष्टाचारमा शंका लागेका व्यक्तिमाथि छानबिन गर्ने अख्तियारको प्रयासलाई निरुत्साहित गर्ने गरी प्रतिक्रिया आउनु ठीक नभएको धारणा पनि राखे ।
‘आयोगले पनि निष्पक्ष र न्यायपूर्ण निर्णय गर्नुपर्दछ, त्यसका लागि सम्बन्धित पक्षहरूबाट सकारात्मक नै सहयोग हुनुपर्दछ,’ उनको भनाइ थियो ।
वामदेवको दैनिकी घरमै
तीनपटक गृहमन्त्री भएका र सधैँ चर्चामा रहेका वामदेव गौतम नयाँ सरकार गठन भएपछि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।
पछिल्लो समय चिसोको संक्रमणका कारण पाँच दिन अस्पताल बसेका गौतम घर त फर्किएका छन्, तर बाहिरका कार्यक्रममा गएका छैनन् ।
कृषि तथा सहकारी क्षेत्रका केही कार्यक्रममा सहभागी भए पनि धेरैजसो उनी घरमै बस्छन् । आगामी महाधिवेशनसम्म ७० वर्ष पुग्ने गौतम पार्टीको विधानअनुसार रिटायर्ड हुनुपर्नेछ ।

|
|
| Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal. Thank You |

